+
+

छाडा चौपायाले नेपालगञ्जमा दुर्घटनाको जोखिम बढायो

रासस रासस
२०८१ भदौ १२ गते १८:१५

१२ भदौ, बाँके । नेपालगञ्जमा मुख्य सडकै छेकेर बस्ने छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, गाई गोरुलगायतका चौपायाले कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमनमा समस्या भइरहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

उपमहानगरपालिकाले छाडा चौपाया छोड्नेलाई जरिवाना तिराउने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन नहुँदा समस्या भएको उनको गुनासो छ । नेपालगञ्जको त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोक, सदरलाइन क्षेत्रमा सबैभन्दा बढी छाडा गाईगोरु भेटिने गरेका छन् । ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक–पटक अवरोधसमेत हुने गरेको सदरलाइनका व्यापारी दिपानन्द गुप्ताले बताए ।

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी १२ पशुचौपायाको मृत्यु भएको थियो । तीन पशुचौपाया घाइते भएका थिए । यी दुर्घटनामा परी केही व्यक्ति घाइते भएका थिए । छाडा चौपायाका कारण नेपालगञ्जको ट्राफिक व्यवस्थापनमासमेत समस्या हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर नेपालगञ्जको छाडा चौपाया समस्या न्यूनीकरणको लागि योजनावद्ध तरिकाले काम भइरहेको उनले बताए । छाडा चौपायाको समस्या देखिएपछि अहिले सहरबाट धपाएर काञ्जीहाउसमा लैजाने गरेको उनको भनाइ छ ।

जथाभावीरुपमा पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज उपहानगरले नगरमा छाडा छाडिएका पशुचौपाया व्यवस्थापन गर्न थालेको नगरप्रमुख प्रशान्त विष्टले बताए ।

‘छाडापशु चौपायाले सडक कुरुप बनेको छ, दुर्घटनाको जोखिम बढेको छ’, उनले भने, ‘सम्बन्धित पशुधनीले आफैँ सडकमा पशु छाड्ने गरेका छन्, पशुचौपाया घरमै बाँधौँ, अन्यथा कारबाही गर्न बाध्य हुनेछौँ ।’ नेपालगञ्जमा खुला सिमानाका कारण पनि छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ ।

नगरका चोकमा रहेका छाडा पशुचौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ । यो हप्तामात्रै एक सयभन्दा बढी छाडा पशु चौपायालाई पुरैनाको विर्तास्थित काञ्जीहाउसमा राखिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?