+
+

किन घट्यो बजारमा कारोबार रकम ? हाइड्रोपावरको मात्रै ३० प्रतिशत हिस्सा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १८:३६

१२ भदौ, काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि हुँदा पनि कारोबार रकम भने संकुचन भएको छ ।

एकैदिन ३० अर्बसम्म पुगेको कारोबार रकम अहिले आधाभन्दा तल खुम्चिन थालेको छ । साउन ३१ गते २९ अर्ब ९५ करोडको कारोबार भएको थियो । जुन कारोबार रकम अहिलेसम्मकै उच्च हो । बुधबार जम्मा १३ अर्ब ७२ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै ५ अर्ब कम हो ।

कारोबार रकम घटे पनि नेप्से परिसूचक भने बुधबार ३ अंक बढ्यो । अघिल्लो दिन नेप्से १११ अंक घट्दा १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बजार ठूलो अंकमा बढ्दा कारोबार रकम पनि उच्च हुने र लगानीकर्तामा किनबेचका लागि केही अन्योल बढेमा कारोबार रकम घट्ने गरेको देखिन्छ ।

‘यतिबेला खरिद गर्ने पक्ष बजार अझै केही करेक्सन हुन सक्ने र थप घटेका बेला किनौंला भन्ने मनसायले पर्खिएको देखिन्छ, अर्को बिक्री गर्ने पक्षमा करेक्सन आइसक्यो अब बढ्छ र थप नाफा लिएर बेचाैंला भनी पर्खिएको देखिन्छ’ सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले भने ।

अघिल्ला दिन बजारमा केही करेक्सन देखिएकाले खरिद गर्नेहरू पर्खिएको र बेच्न खोज्नेहरुमा पनि अब करेक्सन ठूलो नहुने बरु बढ्दा नै थप नाफा लिएर बेच्नेगरी पर्खिएको सम्बद्ध जानकार बताउँछन् ।

यसले गर्दा कारोबार रकममा हाल कमी आएको हो । बजारले ३ हजार अंकको उचाइ लिएकै बेला कारोबार रकम हालसम्मकै उच्च भएको थियो । त्यतिबेला नाफा भएकाहरुले पनि बेच्ने र किन्ने पक्षलाई पनि बजार अझै बढ्ने विश्वास हुँदा कारोबार रकम उच्च दरले बढेको गिरीले बताए ।

बजारमा जहिले पनि खरिद गर्ने पक्षले न्यून मूल्य  र बिक्री गर्ने पक्षले उच्च मूल्य खोज्छन् । यहीं मूल्य म्याच भइसकेपछि मात्रै कारोबार सम्पन्न हुने हो । हाल बजारमा प्रोफिट बुक पनि करिब सकिएको र स्टप लस पनि गर्ने अवस्था छैन । जसले कारोबार रकममा सिधा असर पारिरहेको छ । ‘अहिले लगानीकर्ताले बजार माथि जाने हो कि साइडवेजमा रहने हो भनेर पर्खिरहेको अवस्था छ’ गिरिले भने ‘यदि बजार माथि जाने संकेत लगानीकर्ताले पाए भने फेरि भोल्युम बढ्ने नै छ ।’

बजारमा यसअघि २८ सय अंकलाई कारोबारीले प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए । ‘२८ सय अंक नाघिसकेपछि धेरैले लगानी गरे भने धेरैले प्रोफिट बुक पनि गरे’ नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले भने ‘त्यतिबेला कारोबार रकम पनि धेरै भयो, तर यतिबेला लगानी गर्नेहरू पनि बजार केही घट्ने अपेक्षामा हुन सक्छन् भने प्रोफिट बुक पनि करिब सकिएको अवस्था हो ।’

अघिल्लो दिन भने केही प्यानिक सेल आउँदा बजार पनि उच्च दरले घटेको र कारोबार पनि बढेको लगानीकर्ताको बुझाइ छ । तर अब भने बजारले क्रमिक रुपमा बढ्दो लय नै समाउने उनीहरु बताउँछन् ।
‘सर्ट टम अवधिमा पसेर बाहिरिएकाहरु फेरि बजारमा आउँछन्, उनीहरुको कारोबार हुँदा रकम बढ्न जान्छ’ उनले भने ।

हाइड्रोपावरको कारोबार उच्च

क्षेत्रगत रुपमा हेर्दा हाइड्रोपावर समूहको कारोबार उच्च हुने गरेको छ । यो समूहको मात्रै कुल कारोबारमा बुधबार करिब ३० प्रतिशत हिस्सा देखिन्छ । हाइड्रोपावर समूहको ४ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार हँदा वाणिज्य बैंक समूहको १ अर्ब ७८ करोड, फाइनान्सको १ अर्ब ४५ करोड तथा लगानी समूहको १ अर्ब ५ करोड बराबरको कारोबार भयो ।

विकास बैंक क्षेत्रको ९६ करोड ५८ लाख, होटल तथा पर्यटन क्षेत्रको ६९ करोड ६३ लाख तथा जीवन बीमा समूहको ९५ करोड २ लाखको कारोबर भयो । उत्पादन समूहमा ५१ करोड ४४ लाख, माइक्रोफाइनान्स सेक्टरको ७५ करोड ३९ लाख, निर्जीवन बीमा समूहको ४४ करोड ८८ लाख, अन्य समूहको ६२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?