+
+
स्नुकर हाउस सञ्चालक हत्या प्रकरण :

पक्राउ परेका युवक रुपकका छिमेकी, रिसइबी हुन सक्ने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १९:१५

१२ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलका स्नुकर हाउस सञ्चालक रुपक वान्तवाको हत्या आरोपमा पक्राउ परेका एमके कुमारको कोठाबाट प्रहरीले केही महत्वपूर्ण प्रमाण फेला पारेको दाबी गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका–७ घर भई शंखमुलकै साइबाबा पार्क नजिक बस्ने २२ वर्षका एमकेको कोठाबाट रुपकको पर्सलगायत सामान बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

‘मृतकको चेक, चश्मा, ब्याग, लुगाहरु एमकेको कोठाबाट बरामद भएको छ । हत्यामा प्रयोग भएको रड पनि उनकै कोठाबाट बरामद गरेका छौं । अन्य सबुद प्रमाणले पनि हत्यामा एमके कै संलग्नता देखिन्छ’, एसपी अधिकारीले भने ।

एमकेले व्यक्तिगत रिसइबीमा हत्या गरेको अनुमान गरे पनि प्रहरीले यकिन कारण खुलाउन सकेको छैन । यद्यपि प्रहरीले एमकेसँगको बयानका आधारमा केही संकेतहरु भने फेला पारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार केही समय पहिले एमकेका बुवा बैंकिङ कसुरको मुद्दामा पक्राउ परेर कारागार चलान भएका थिए । उनी जेल पर्नुमा रुपकको भूमिका देखिएकाले एमकेले हत्या गरेको हुन सक्ने ती अधिकारीको भनाइ छ ।

उनले हत्याबारे फरक फरक कारणहरु बताउँदै प्रहरीलाई बयान दिएका छन् । रुपक र एमके दुबै बाराको सिमौनगढका हुन् । काठमाडौंमा बसाई पनि नजिक–नजिक नै रहेकाले उनीहरुबीच केही रिसइबी हुनसक्ने प्रहरीले बताएको छ । रुपकले आफूलाई हेप्ने गरेको एमकेले बयान दिएको ती अधिकृतले सुनाए ।

‘ठ्याक्कै यही कारण हत्या भयो भनेर अहिले नै किटान गर्नसक्ने अवस्था छैन । उनले फरक फरक कारणहरु बताउने गरेकाले हामी पनि अन्योलमा छौं’ ती अनुसन्धान अधिकृतले भने ।

सोमबार राति पौने २ बजेतिर रुपकमाथि आफ्नै स्नुकर हाउसमा आक्रमण भएको थियो । स्नुकर हाउसमै काम गर्ने एक महिलाले घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरमा फोनमार्फत जानकारी गराएकी थिइन् ।

राति १ः५० मा प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थलमा पुगेको थियो । त्यति बेला रुपक सोफामा अचेत भेटिएका थिए ।

‘जस्तापाताको टहरामा बान्तवाले खाजाघर र स्नुकर हाउस सञ्चालन गरेका रहेछन् । उनी खाजाघरको सोफामा गम्भीर अवस्थामा अचेत फेला परेका थिए’, घटनास्थल पुगेका एक अधिकृतले भने ।

टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा पठाइएकामा डाक्टरले साढे २ बजे मृत घोषणा गरेका थिए ।

ती महिलाले दिएको हुलियाका आधारमा प्रहरीले एमके कुमारलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?