+
+

पूर्ववर्तीको निर्णय उल्ट्याएर गए शर्मा, सिग्देललाई चुनौती

प्रधानसेनापति प्रभुराम शर्मा आफ्नो कार्यकालभरि गुमनाम झैं रहे । नयाँ काम अघि सारेनन्, बरु पुराना निर्णय उल्ट्याउने र कतिपय अधिकृतमाथि प्रतिशोध साध्न अग्रसर देखिए । त्यसैले सेनालाई पद्धतिमा चलाउने चुनौती सिग्देलमाथि छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ भदौ १२ गते १९:३३

१२ भदौ, काठमाडौं । नेपाली सेनाको ४५ औं प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन् ।

भारतीय सेनाका अधिकारीसँगको विवादित घटना, फरकफरक जन्ममिति लगायतका प्रकरणमा मुछिँदा उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सिग्देल प्रधानसेनापति हुने बाटो खुलेको थियो ।

उनको जन्ममितिबारे समेत विवाद सतहमा आएपनि अदालतले सिग्देलविरुद्ध परेको रिट खारेज गरिदियो, जंगी अड्डाको छानबिनबाट पनि उनले ‘क्लीन चिट’ पाए । अब प्रधान सेनापति बन्न लागेका सिग्देल ३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका थिए ।

स्थायी घर भैरहवा भएका उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन् । आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका समेत विद्यार्थी उनले जंगी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसकेका छन् ।

प्रधानसेनापतिको सैनिक सचिवसमेत रहिसकेका सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको नेतृत्व तहमा बसेर समेत काम गरेका थिए । संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका छन् ।

प्रभुराम शर्मा : पुरानो निर्णय उल्ट्याए, अधिकृतसँग प्रतिशोध लिए

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनालाई समय सापेक्ष पुनर्संरचना गर्ने भन्दै पृतनाहरु खारेज गरेर ३ जोड १ कमाण्ड संरचना लागू गराउने गृहकार्य गर्दा प्रभुराम शर्मा जंगीअड्डामा बलाधिकृत रथी थिए ।

अघिल्ला प्रधानसेनापति थापाले सुरु गरेको उच्च सैनिक अधिकृतहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन पनि शर्माले हटाए ।

आफ्नो महत्वकांक्षी योजनाको दीर्घकालीन कार्यान्वयन आफ्ना उत्तराधिकारीहरुको साथ विना सम्भव नहुने ठानेका थापाले संरचना बदल्ने योजनाको खाका तयार गर्ने क्रममा पनि शर्मालाई साथमै राखेका थिए ।

रथी बन्नुअघि युद्धकार्य महानिर्देशनालयको जिम्मेवारी उनलाई दिइएको थियो । र, त्यही बेला युद्धकार्य महानिर्देशनालयलाई तत्कालीन सेना प्रमुख थापाले संरचना परिवर्तन गर्ने खाका बनाउने जिम्मा दिएका थिए ।

त्यसबेला महानिर्देशनालयको खाका अनुरुप थापाले सेनालाई नदी तटीय क्षेत्रको आधारमा पूर्वी, मध्य, पश्चिम र उपत्यका गरेर चार संरचनामा लगेका थिए ।

तर, यिनै प्रभुराम शर्माले सैनिक नेतृत्व सम्हालेको ठ्याक्कै एक वर्षमा सेनालाई फेरि पुरानै संरचनामा फर्काए । नयाँ संरचनामा जाँदा कतिपय व्यवहारिक विषयहरु नमिलेको भन्दै उनले कार्यकाल सम्हालेको पहिलो वर्षमै कमाण्ड संरचनालाई हटाएर ८ पृतनाको पुरानै संरचनामा लैजाने निर्णय गरेका थिए ।

आफू नेतृत्व तहमै भएका बेला गरिएको निर्णयप्रति शर्माले अपनत्व लिन नसकेको भन्दै कतिपय सैनिक अधिकारीहरुले उनको आलोचना समेत गरे । ‘नयाँ संरचना ठीक थिएन भने त्यो निर्णय कार्यान्वयन हुन लागेकै बेला किन भन्नुभएन ?’, एक पूर्वउपरथी प्रश्न गर्छन्, ‘कार्यान्वयनमा गइसकेपछि कतिपय अमिल्दा विषय मिलाउनुपर्ने थियो होला, तर उहाँले नेतृत्व सम्हाल्ने वित्तिकै सुरुमै त्यही चलाइदिनुभयो ।’

प्रभुराम शर्माले औंल्याएका आफ्ना उपलब्धी

  • राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा तीब्रता
  • द्रुतमार्गका ९ मध्ये ४ सुरुङको ब्रेक थ्रु
  • हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो
  • जितपुरगढीको पुनर्निर्माण गरी हस्तान्तरण
  • स्टाफ कलेजमा कोटा वृद्धि
  • चिफ कन्क्लेभ आयोजना
  • अधिकृत क्याडेटको तलबमान वृद्धि
  • आन्तरिक बढुवामार्फत पदिकबाट अधिकृत
  • अभ्यास शान्ति प्रयास–४ सञ्चालन, १८ राष्ट्र सहभागी
  • यूएन शान्ति सैनिक दिवस मनाउन सुरु

शर्माले सैनिक नेतृत्व सम्हाल्दा एउटा क्रमभंगता भएको थियो, उनी ब्राह्मण समुदायबाट प्रधान सेनापति नियुक्त हुने पहिलो अधिकारी बनेका थिए । पुरानो गोरखा पल्टनका शर्मा सेना प्रमुख बन्नुअघि ‘सिपाही’को चरित्र भएको अधिकृतका रुपमा चिनिन्थे । त्यसैले सेनामा सिपाहीका पक्षमा नयाँ योजनाहरु अघि ल्याउने अपेक्षा गरिएको थियो ।

तर, सैनिक अधिकृतहरुका अनुसार, ४४औं प्रधानसेनापति शर्मा आफ्नो कार्यकालभरि गुमनामझैं रहे । उनले न कुनै नयाँ काम अघि सारे, बरु पुराना निर्णय उल्ट्याउने र विगतका सेना प्रमुखसँग निकट मानिएकाहरु माथि प्रतिशोध साध्न अग्रसर देखिए ।

जंगीअड्डा स्रोतका अनुसार, प्रधानसेनापतिको अन्तिम समयतिर पूर्णचन्द्र थापा र प्रभुराम शर्माको सम्बन्ध सुमधुर भएन । त्यसबेला थापाले निकट अधिकृतहरु प्रयोग गरेर आफूविरुद्ध जासुसी गरेको शर्माले निकटस्थहरुलाई बताउने गरेका थिए ।

जानकारहरुका अनुसार, तत्कालीन सेना प्रमुख पूर्णचन्द्र थापाले त्यसबेला सरकारसँग नजिक भएर आफू राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) बन्न खोजेका थिए । उनले सबै सुरक्षा निकायबीच ‘इन्ट्रिग्रिटेड कमाण्ड’ हुनुपर्ने लबिइङ गर्दै प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागसँग पनि सुमधुर सम्बन्ध बनाएका थिए ।

त्यसको बलमा थापाले एनएसए बन्न खोजेको सैनिक उच्च अधिकृतहरु नै बताउँछन् । शर्मानिकट कतिपय अधिकृतहरु थापाले अवकाश पाउने अन्तिम समयसम्म त्यसका लागि चलखेल गरेको दाबी गर्छन् ।

जानकारहरुका अनुसार, पहिल्यै व्यापार–व्यवसायमा जमिरहेको सेनालाई थप स्पेश दिनु नहुने निष्कर्षमा राजनीतिक नेतृत्व पुग्यो र त्यो निर्णय हुन पाएन । यद्यपि, पूर्वघोषणा गरेपनि अन्तिम समयसम्म थापाले आफूविरुद्ध चलखेल गरिरहेको शर्मालाई पर्न गएको एक सैन्य अधिकारी बताउँछन् ।

परिणाम, थापानिकट उपरथी प्रेम शाहीले जंगीअड्डाभित्रै दुई महिना थुनिनु पर्‍यो । थापा सेना प्रमुख हुँदा जंगीअड्डाभित्र एउटा शक्ति केन्द्र मानिएका शाहीलाई थुन्न शर्माले अदालतको आदेश समेत अवज्ञा गरेका थिए ।

सेनाले शाहीलाई ४ पुस २०७९ मा ५८ वर्षे उमेर हदका कारण २० पुस २०७९ देखि अवकाश हुने भन्दै पत्र थमाएको थियो । तर, उनले आफ्नो जन्ममिति गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

उनले सेनामा प्रवेश गर्नुअघि जारी भएको प्रमाण पत्रमा आफ्नो जन्ममिति २०२३ रहेको उल्लेख गर्दै अदालतमा निवेदन दिएका थिए । सेनाले शैक्षिक प्रमाण पत्रमा भएको मिति अनुसार अवकाश पत्र थमाएको थियो ।

आफूले एसएलसी परीक्षा दिएको बूढानीलकण्ठ स्कुलले समेत उमेर सच्चाउँदै पत्र पठाइसकेको भन्दै अदालतमा निवेदन दिएका थिए ।

सेनाको आन्तरिक समितिले पनि उनको जन्ममितिमा त्रुटि भएको भन्दै नागरिकता अनुसारको जन्ममिति कायम गर्न सिफारिस गरेको थियो ।

१३ पुस २०७९ मा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उनलाई अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो । आदेशपछि हाजिर हुन जाने क्रममा प्रधान सेनापतिको निर्देशन बमोजिम सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएको थियो । आर्थिक अनुशासन उल्लंघनको आरोप लगाउँदै शाहीको घरमासमेत छापा हानिएको थियो ।

‘पहिले अरु केही समस्या छैन भनेर अवकाश दिने, अदालतले रोक लगाएपछि भ्रष्टचार गरिस् भन्दै थुन्नुले त्यो प्रतिशोधबाहेक केही थिएन भन्ने स्पष्ट हुन्छ’, एक उपरथी भन्छन्, ‘अनौपचारिक कुराकानीमा चिफ सा’बले सेना भएर अदालतको आदेश भन्दै आउने भनेर गाली गरेको समेत सुनेका थियौं ।’

अवकाश पाउनुअघि जंगीअड्डामा सम्बोधन गर्दै शर्मा स्वयंले ती उपरथीको भनाइलाई बल पुग्ने अभिव्यक्ति दिए ।

‘व्यक्तिगत रुपमा म कोही पनि व्यक्तिलाई खोजी, खोजी हानी हुने कार्य गर्ने स्वभाव भएको व्यक्ति होइन’, उनले भनेका छन्, ‘तर, कहिलेकाहीँ परिवेश यसरी विकसित हुँदो रहेछ कि तपाईं केही कठोर नबनिरहन नमिल्दो रहेछ, त्यो मेरो हकमा पनि उत्तिकै लागू भयो होला ।’

सेना प्रमुख भइसकेपछि उनले कसरी पुराना निर्णयहरु उल्ट्याउन थाले भन्ने अर्को उदाहरण अनन्त कार्कीको पदावधि थपबारे दुईथरि निर्णय पनि हो । थापा प्रधानसेनापति हुँदा शर्माकै अध्यक्षतामा रहेको समितिले उनको पदावधि थप्न सिफारिस गरेको थियो ।

तर, शर्माले प्रधानसेनापति भएलगत्तै सिफारिस उल्ट्याए र कार्कीलाई अवकाश पत्र थमाए । ‘कार्कीसहित सीताराम खड्का र ताराध्वज पाण्डेको पदावधि थप गर्न सिफारिस गर्ने निर्णय जंगीअड्डाले गरेपनि रक्षा मन्त्रालयमा पुगिसकेको थिएन’, यसबारे जानकार एक सैन्य अधिकारी भन्छन्, ‘सेना प्रमुख बन्ने वित्तिकै उनले खड्का र पाण्डेको प्रस्ताव मात्रै अघि बढाए ।’

अघिल्ला प्रधानसेनापति थापाले सुरु गरेको उच्च सैनिक अधिकृतहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन पनि शर्माले हटाए ।

ती प्रभुराम, यी अशोकराज

जसरी प्रभुराम शर्मा प्रधानसेनापति बन्ने अन्तिम समयसम्म त्रासमा थिए, त्यो वातावरण उनका उत्तराधिकारीले पनि भोग्नुपर्‍यो । भलै शर्माको पालामा उनलाई पूर्णचन्द्र थापाले सार्वजनिक रुपमै आफ्नो उत्तराधिकारी घोषणा गरिसकेका थिए ।

शर्माले भने लामो समयसम्म मुख खोलेनन् । ताराध्वज पाण्डे र अशोकराज सिग्देल दुवैलाई आश्वासन देखाइरहे । अन्तिममा शर्माले भारतीय सैन्य अधिकृतसँग सार्वजनिक स्थानमा गरिएको व्यवहार, जन्ममिति विवाद लगायतका विषयमा ‘कोर्ट मार्सल’ हुनुपर्ने आवाज उठिरहेका ताराध्वज पाण्डेलाई भावी प्रधान सेनापतिका रुपमा अघि सारे ।

तर, पाण्डेको जन्ममितिका विवरण र उनको विवादित पृष्ठभूमि सार्वजनिक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी पर्‍यो । त्यसबेलासम्म पनि जंगीअड्डाले पाण्डेको बचाउमा विज्ञप्ति जारी गर्दै कुनै विवाद नरहेको जिकिर गर्‍यो । रक्षा मन्त्रालयले भने छानबिन अघि बढाउन जंगीअड्डालाई निर्देशन दियो ।

प्रधानसेनापति प्रभुराम शर्मा र तत्कालिन उपरथी ताराध्वज पाण्डे ।

जंगीअड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्‍यो, कैफियत देखिएपछि शर्माले पाण्डेलाई राजीनामा दिन संकेत गरे । ‘नदिए कीर्तेसहितका कसुरमा कारबाही हुने भनेपछि उनले राजीनामा दिएका थिए’, रक्षा मन्त्रालय स्रोत भन्छ ।

उपरथी अशोकराज सिग्देलको बाटो खुल्यो । रथी बढुवामा सिफारिस भएपछि उनी प्रधानसेनापतिको रोलक्रममा उक्लिए । यद्यपि, उनका सन्दर्भमा पनि केही विवादहरु सतहमा आए । पछि अदालतमा परेको रिट दरपीठ भयो, आन्तरिक छानबिनबाट पनि कैफियत नदेखिएपछि सिग्देल कायममुकायम प्रधानसेनापति नियुक्त भए ।

बुधबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै २४ भदौदेखि लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरिएको जानकारी दिएको छ ।

‘४५औं सेना प्रमुख नियुक्तिमा जुन किसिमको अस्वभाविक विवाद र चलखेल भयो, त्यसको जड खासमा प्रधानसेनापति शर्मा नै थिए’, एक उच्च सैनिक अधिकृत भन्छन्, ‘उनले अन्तिमसम्म आफ्नो उत्तराधिकारी स्पष्ट गरेनन्, दुवैलाई आश देखाइरहे, पहिल्यै छानबिन हुनुपर्ने कतिपय विषयमा पनि क्लीन चिट दिए ।’

जानकारहरुका अनुसार, सिग्देललाई अघि बढाइसकेपछि शर्मा उनलाई प्रधान सेनापति बनाउने पक्षमा थिएनन् । विवादहरु आइरहेकाले उनले अन्य अधिकृतहरुतिर पनि नजर लगाएका थिए ।

राजनीतिक र व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरुले पनि चलखेल गरेको जंगीअड्डा स्रोतको दाबी छ । जंगीअड्डाका एक उच्च अधिकृत भन्छन्, ‘यसपटक सेनामा झण्डै–झण्डै अन्य सुरक्षा निकायमा झैं नेतृत्व चयनमा हस्तक्षेपको सुरुवात हुन लागेको थियो, तर अन्तिममा जोगियो ।’

सेनालाई पद्धतिमा चलाउने चुनौती

सैनिक उच्च अधिकृतहरुका अनुसार, नेपाली सेनालाई पछिल्ला प्रधासेनापतिहरुले पद्धतिमा चल्न दिएनन् । एक अधिकृतका अनुसार, कोहीले संगठनभन्दा व्यक्ति राम्रो देखिने गरी सेना चलाए, कोहीले प्रतिशोधमै कार्यकाल विताए ।

यस्तोमा नवनियुक्त प्रधानसेनापति सिग्देलको मुख्य चुनौती सेनाको गैरराजनीतिक चरित्रलाई कायम राख्दै फौजलाई पद्धतिमा चल्न दिनु हुने ती अधिकृत बताउँछन् ।

काठमाडौं तराई–मधेश द्रुतमार्ग निर्माण सेनाले लिएको महत्वकांक्षी परियोजना हो । प्रभुराम शर्माले एकपटक संसदीय समितिमा पुगेर पूर्ण निर्माण सम्पन्न नभएपनि गाडी निजगढदेखि काठमाडौंसम्म ल्याउन पाए सफल भएको ठान्थें भनेका थिए ।

तर, कार्यकाल सकिनु एक महिनाअघि जंगीअड्डामा गरेको सम्बोधनमा उनले द्रुतमार्गका ९ मध्ये ४ सुरुङको ब्रेक थ्रु हुनुलाई नै आफ्नो कार्यकालको मुख्य उपलब्धि ठाने । त्यसैले तोकिएको अवधिमा राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माण सम्पन्न गर्नुपर्ने चुनौती सिग्देलसामू हुनेछ ।

सेनाभित्र वृत्ति विकासको पक्षलाई पनि उनले ध्यान दिनुपर्नेछ भने त्यसबाहेक राष्ट्रिय चुनौतीलाई सामना गर्दै प्रतिरक्षा गर्ने नियमित चुनौती त सिग्देलसँग छँदैछ । प्रभुराम शर्माले जंगीअड्डामा गरेको अन्तिम सम्बोधनमा बंगलादेशको विद्यार्थी आन्दोलनलाई उल्लेख गर्दै फरक किसिमका सुरक्षा चुनौतीहरु देखा परेको बताएका थिए ।

यस्तोमा आन्तरिक अवस्थाको मूल्यांकन गर्दै छिमेकमा ठूला छिमेकी मुलुकहरुबीच प्रतिष्पर्धा भइरहँदा क्षेत्रीय परिवेशमा पनि नेपाली सेनालाई सन्तुलित रुपमा अघि बढाउनुपर्ने चुनौती सिग्देलसँग हुनेछ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?