+
+

‘गरिबीको रोग’बारे संसदमा बहस : सरकारले हैजालाई गम्भीर रुपमा लेओस्

आगामी ६ वर्षभित्र निर्मुल पार्ने स्वास्थ्यमन्त्रीका प्रतिवद्धता

विश्व स्वास्थ्य संगठनले हैजालाई असुरक्षित पानी र आधारभूत सरसफाइको पहुँचको अभावमा रहेका मानिसहरुलाई असर गर्ने गरिबीको रोग भनेको छ

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ भदौ १२ गते २०:००

११ भदौ, काठमाडौं । नेपालमा बर्षेनी वर्षायाममा बाढी र पहिरो मात्र होइन, हैजाको डर समेत बढ्ने गर्छ । यसवर्ष पनि बुधबारसम्म ललितपुर, काठमाडौं, कैलाली, प्युठान, मकवानपुर लगायतका जिल्लामा ६८ जना भन्दा बढीमा हैजा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा मात्रै ४८ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष पहिलो पटक ७ साउनमा ललितपुरको एक रिह्याव सेन्टरका रहेका एक व्यक्तिमा हैजा संक्रमण देखिएको थियो ।

चिकित्सकहरूका अनुसार हैजा कडा खालको झाडापखाला हो । गर्मी मौसममा हैजा फैलिने सम्भावना ज्यादा हुन्छ ।

वर्षायाममा दूषित पानी सेवन गर्नुपर्ने वाध्यता आदि कारणले हैजालाई फैलाउन मद्दत गर्दछ ।

सरसफाइको कमी र दूषित पानीका कारणले फैलिने हैजा सहरी क्षेत्रमै देखा पर्नु गम्भीर विषय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्की बताउँछिन् ।

चिकित्सक समेत रहेका कार्कीका अनुसार वर्षाको समयमा देखिने हैजा रोगका कारण मानिसमा अतिशीघ्र कडा जलवियोजन भई मृत्यु समेत हुनसक्ने जोखिम हुन्छ । ‘संक्रमणलाई यथाशीघ्र नियन्त्रण नगरिएमा यसले विकराल महामारीको रूप लिनसक्छ । स्वास्थ्य संकट सिर्जना गर्न सक्छ । यो आकस्मिकतालाई अवमूल्यन गर्न सकिँदैन’ सांसद कार्कीले बुधबार प्रतिनिधि सभाको बैठकमा भनिन् ।

डा. कार्कीले दर्ता गराएको ध्यानाकर्षण प्रस्तावमाथि बुधबार संसदमा भएको छलफलमा सांसदहरुले झाडापखाला लगायतका छिटो फैलिने संक्रमण रोक्न पूर्वतयारीका लागि सरकारले उचित नीति लिनुपर्नेमा जोड दिएका छन् ।

‘हैजाको विषयलाई गम्भीर रुपमा लिनुपर्छ । नेपालबाट हैजाको संक्रमण निर्मुल नै पार्नुपर्छ’ सांसद कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराइन् । हैजा निर्मुल पार्नका निम्ति पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न जनचेतना फैलाउनुपर्ने उनको जोड छ । पानी वितरण गर्ने निजी तथा सरकारी संस्थाहरुलाई पानी अनिवार्य क्लोरिनेसन गर्न लगाउने र त्यसबारे समयसमयमा निरीक्षण पनि गरिनुपर्ने सरकारलाई उनको आग्रह छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हैजालाई असुरक्षित पानी र आधारभूत सरसफाईको पहुँचको अभावमा रहेका मासिनहरुलाई असर गर्ने गरिबको रोग भनेर परिभाषित गरेको छ । डब्लूएचओका अनुसार हाल विश्वका २७ वटा देशमा यो संक्रमण देखिने गरेको छ । जसमा नेपाल पनि पर्छ ।

यसले नेपाल गरिबीको कुन तहमा रहेको छ भन्ने देखाउने बताउँछिन् सांसद डा. चन्दा कार्की । मेडिकल साइन्समा जिन रिप्लेस गर्ने पद्धति विकास भइरहेको भन्दै उनले भनिन्, ‘हामी भने स्वच्छ खानेपानी नपाएर, सफा खाना खान नपाएर लाग्ने हैजाको कुरा गर्दैछौं । योभन्दा दुःखद अरु केही छ जस्तो लाग्दैन ।’

व्यक्तिगत सरसफाइ, सफा चर्पीको प्रयोग, नियमित हात धुने बानी, स्वच्छ खानेकुरा र सफा तथा स्वच्छ पिउने पानी हैजा रोकथाम तथा नियन्त्रणका प्रमुख आधार भएको बताइन् ।

प्रभावकारी निगरानी प्रणालीको विकास र प्रयोग, स्वास्थ्य शिक्षा, सरसफाइका व्यवहारिक ज्ञान र बानीमा परिवर्तन, स्वच्छ र सफा पानीको व्यवस्थापन जस्ता बहुआयामिक माध्यमबाट हैजाको प्रकोप र यसबाट हुने मृत्युलाई घटाउन सकिने उनको राय छ ।

अर्की सांसद सोबिता गौतमले विगतमा पनि नेपालमै हैजाले महामारीको रुपमा लिएको स्मरण गरिन् ।

सन् २००९ मा मध्य पश्चिम क्षेत्रको जाजरकोटबाट सबैभन्दा ठूलो हैजा फैलिएको थियो । त्यसबेला जाजरकोटमा मात्रै हैजाबाट ३० हजारभन्दा बढी मानिस संक्रमित भएका थिए । एक सय भन्दा बढीले ज्यान गुमाएका थिए ।

सन् २०१२ मा डोटी र दैलेखमा हैजाले महामारीको रुप लएको थियो । सन् २०१३ मा काठमाडौं उपत्यकामा, सन् २०१४ मा रौतहटमा हैजाको प्रकोप देखिएको थियो । सन् २०१५ मा पुनः काठमाडौंमा हैजाको प्रकोप फैलिएको थियो । विनाशकारी भूकम्पबाट अति प्रभावित १२ ओटा जिल्लामा हैजा फैलिएको थियो । २०२१ मा कपिलवस्तुमा हैजाको संक्रमण फैलिएको थियो ।

प्रत्येक वर्षजसो कुनै न कुनै क्षेत्रमा हैजा फैलिने गरेकाले राज्यले यसका सम्बन्धमा पूर्वतयारीलाई चुस्त बनाउने नीति लिनुपर्नेमा सांसद गौतमको जोड छ ।

६ वर्षे योजना बनाएर काम गर्दै सरकार

स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेल हैजा नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताउँछन् । तदारुकताका साथ काम गरिहेको उल्लेख गर्दै उनले सन् २०३० सम्म हैजा निर्मुल पार्ने गरी सरकारले काम गरिरहेको बताए ।

‘हैजा नियन्त्रण गर्ने सम्बन्धमा हाम्रो २०२४–२०३० योजना छ’ मन्त्री पौडेलले भने । यो योजना अनुसार खानेपानीको शुद्धीकरणका लागि तीन वटै तहसँग समन्वय गरेर काम गर्ने कार्य अगाडि बढाइएको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकाको हकमा स्थानीय सरकारसँग सहकार्य गरेर हैजा, डेंगी लगायतका महामारीजन्य अवस्थाको व्यवस्थापन प्रभावकारी बनाउन लागेको बताए । मन्त्री पौडेलका अनुसार हैजा नियन्त्रण रोकथाम योजना अनुसार हैजा तथा डेंगु नियन्त्रणका लागि सचेतना फैलाउन स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत जानकारीमूलक सामग्रीसमेत प्रचार भैरहेको छ ।

प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरूमा लक्षणको निगरानी गर्ने गराउने भइरहेको पनि सदनलाई जानकारी गराए । ‘झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रुपमा निगरानी भइरहेको छ’, मन्त्री पौडेलले भने ।

तथापि अझै काम गर्नुपर्नेमा सरकार प्रष्ट रहेको उनले बताए । ‘बिरामी नियन्त्रण दर बढेको छ’, मन्त्री पौडेलले भने । तीनै तहसँग मिलेर नियन्त्रण तथा द्रुत कार्य पनि भइरहेकाले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको बताए ।

मन्त्री पौडेलका अनुसार डेंगु तथा हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात छ । कतै महामारी फैलिएमा आवश्यक कार्यका लागि हटलाइन नम्बर १११५ को व्यवस्थासहित सूचना प्रणालीसमेत प्रभावकारी बनाइएको छ ।

अन्य मन्त्रालयसँग समन्वय गरिरहेको भक्न्दै उनले भने, ‘खानेपानी मन्त्रालयसँग समन्वय गर्नुपर्ने हुन्छ । अव्यवस्थित सहरीकरण र अव्यवस्थित बसोबासको जुन स्थिति छ । यसका कारणले उत्पन्न भएका कतिपय विषयहरुलाई हामीले त्यही ढंगबाट सम्बोधन गर्न सक्नुपदर्छ ।’

सन् २०३० सम्ममा हैजा निर्मुला पार्ने सरकारको प्रतिवद्धता रहेको उनले स्मरण गरे । यस्तो लक्ष्यमा नेपाल सरकारले सन् २०१७ मै प्रतिवद्धता जनाएको थियो ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?