+
+

कोशीमा तत्काल मन्त्रालय नबढाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते २०:०२

१२ भदौ, विराटनगर । कोशी प्रदेशमा मन्त्रालय बढाउने प्रयास तत्कालका लागि टरेको छ । शीर्ष नेतृत्वले हतार नगर्न भनेपछि प्रदेशमा मन्त्रालय बढाउने प्रयास रोकिएको हो ।

१२ साउनमा कांग्रेस एमालेबीच कोशी ४–४ मन्त्रालय भागबण्डा गर्ने सहमति थियो । तर कांग्रेसभित्र आन्तरिक भागबण्डा नमिलेका कारण अहिलेसम्म मन्त्रीको नाम दिएको छैन । स्रोतका अनुसार संस्थापन पक्षले डा. शेखर कोइराला समूहलाई एउटा मात्र मन्त्रालय दिने बताएको छ । तर शेखर समूहले दुई वटा मन्त्रालय दाबी गरेपछि कांग्रेसले मन्त्रालय संख्या बढाउन जोड दिएको थियो ।

तर मन्त्रालय विभाजन गर्दा आलोचना बढ्ने भन्दै शीर्ष नेतृत्वले सहमति दिएन । ‘तत्काल मन्त्रालय बढाउने सम्भावना छैन, आवश्यकता अनुसार पछिहुनसक्छ’, कांग्रेस सांसद भीम पराजुली भन्छन्,‘ पहिलो सहमति अनुसार सरकारमा कांग्रेस जान्छ ।’

कहिले जान्छ भन्ने टुङ्गो नभएको उननले बताए । १४ भदौमा कोशीको प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले त्यसअघि नै कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहेका थिए । तर कांग्रेसमा आन्तरिक सहमति नभएका कारण त्यो सम्भावना कमजोर बनेको नेताहरु बताउँछन् ।

१४ भदौको बैठक कांग्रेस सत्तापक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने टुङ्गो नरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ बताउँछन् । ‘हामी सत्तापक्षमा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने भोलिको संसदीय दलको बैठकपछि टुङ्गो लाग्छ’, तामाङ भन्छन्, ‘सरकारमा सहभागी हुने टुङ्गो छैन ।’

प्रदेशमा हाल ९ वटा मन्त्रालय छन् । यसमध्ये कांग्रेसले भौतिक पूर्वाधार, पर्यटन वन तथा वातावरण, कृषि तथा सहकारी र स्वास्थ्य मन्त्रालय लिने सहमति छ ।

केन्द्रीय समिति बैठकपछि मात्रै सरकार विस्तारका विषयमा छलफल हुने कांग्रेस सांसद पराजुलीले बताए । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक १६ भदौमा बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?