+
+

बिरामी छोरी बचाउन मिर्गौला बेच्ने युवकको कहालीलाग्दो कथा

आफन्तको साथ मात्रै छुटेको छैन, आफ्नै शरीरको अंगले समेत उनलाई छाडिसकेको छ । पेटको बायाँतर्फ काटिएको घाउ त सन्चो भइसक्यो, खत भने उस्तै छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ १२ गते २०:१२

१२ भदौ, काठमाडौं । देश छाड्नुअघिसम्म काठमाडौंमै ओत लाग्ने उनको घर थियो । लाखौं मान्छे भाडा तिरेर बस्ने राजधानी शहरमा उनी कम्तीमा घरको तनावबाट मुक्त थिए ।

एकसरो लवाइखवाइ गरेर जसोतसो परिवार चल्दो थियो । बुवा थिए । श्रीमती थिइन् । छोरी थिइन् । गर्जो चलेकै थियो ।

परिवारलाई अझ समृद्ध बनाउने सपना बोकेर ती युवक खाडी छिरे । जब उनी वैदेशिक रोजगारीबाट घर फर्के – त्यसपछि परिवार मात्रै भताभुंग भएको थिएन, छोरी समेत गुमाउनुपर्‍यो ।

पटक पटक उधारो मागेर मदिरा पिउन थालेपछि होटल सञ्चालकले मनिषलाई मिर्गौला बेच्न सुझाएको खुलेको मानव बेचबिखन ब्यूरोका एसपी प्रवक्ता गौतम मिश्रले बताए ।

यी सबै दुःखद घटनाहरु उनको जीवनमा कसरी घट्न पुगे भन्ने प्रसंगमा जानुअघि उनको अवस्थाबारे कुरा गरौं । युवक हुन् काठमाडौंका मनिष (नाम परिवर्तन) । उमेरले भर्खर २८ टेकेका उनको शरीरमा अहिले एउटा मिर्गौला छैन ।

वरपर आफन्तको साथ मात्रै छुटेको छैन, आफ्नै शरीरको अंगले समेत उनलाई छाडिसकेको छ । पेटको बायाँतर्फ काटिएको घाउ त सन्चो भइसक्यो तर त्यसको खत भने उस्तै छ । त्यो खतले उनको स्मृतिमा सम्झाइरहन्छ– विगतका कहालीलाग्दा दिनहरु ।

काठमाडौंका मनिष वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्कंदा उनको घर बिक्री भइसकेको थियो । मदिराको लतमा रहेका बाबुले ऋण लगाएका थिए । घर समेत बेचिसकेका थिए । अर्की श्रीमती ल्याएर उनी झापामा बस्न थालेका थिए ।

मनिषकै श्रीमती पनि उनलाई छाडेर हिंडिसकेकी थिइन् । अब उनको साथमा थिइन्, ४ वर्षीया छोरी । केही नभए पनि बाँच्नका लागि उनको हातमा सीप थियो । केही समय गाडी चलाउन थाले । मदिराको लतमा परेपछि मनिषको चालक पेशा पनि नियमित बन्न सकेन ।

पैसा नसकिन्जेल काममै नजाने, जब हात रित्तो हुन्छ अनि मात्रै काम खोज्ने बानी परिसकेको थियो मनिषलाई । मनिषको मदिरा पिउने ठाउँ थियो गोंगबुको एउटा सामान्य खाजा घर । नाम विनाको उक्त खाजाकी सञ्चालिका हुन्, मकवानपुरको भीमफेदी गाउँपालिका–२ की ४२ वर्षीय शान्तिमाया घलान । घलान अहिले मानव बेचबिखन अनुसन्धान ब्यूरोको हिरासतमा छिन् ।

पटक पटक उधारो मागेर मदिरा पिउन थालेपछि उनै घलानले नै मनिषलाई मिर्गौला बेच्न सुझाएको खुलेको ब्यूरोका एसपी प्रवक्ता गौतम मिश्रले बताए । ‘मिर्गौला दुई वटा हुन्छ । एउटा बेच्दा केही फरक पर्दैन । म मान्छे खोजिदिउँला’ भन्दै घलानले सुझाएको मिश्रले बताए ।

४ वर्षीया छोरी समेत बिरामी भएपछि र दैनिक खर्चको हर्जा भएपछि मनिष मिर्गौला बेच्न तयार भएको देखिएको प्रहरी स्रोत बताउँछ । प्रहरीका अनुसार मनिषकी छोरी निमोनियाको बिरामी रहेको र उनको छोरीको उपचारका लागि मिर्गौला बेचेको उनको बयान छ ।

होटल साहुनीले बोलाइन् २ एजेन्ट : मनिष मिर्गौला बेच्न तयार भएपछि होटल सञ्चालिका घलानले दुई एजेन्टलाई बोलाएकी थिइन् । उनीहरुले नै मनिषलाई थप कन्भिन्स गर्ने काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मनिषलाई कन्भिन्स गर्न आएकामध्ये एकजनाले आफ्नै मिर्गौला समेत बेचिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मिर्गौला दिंदा केही नहुने भनी विश्वास दिलाउने ती व्यक्तिले आफूले समेत मृगौला बेचेको भनेर पेटको खत समेत मनिषलाई देखाएर विश्वासमा पारेका थिए ।

उनीहरुले मनिषलाई कन्भिन्स गरिसकेपछि बालाजु क्षेत्रकै एक अस्पतालमा रगतको जाँच गराएका थिए । त्यसपछि ललितपुरको मनिषको होलबडी नै जाँच गराइएको थियो ।

त्यसपछि मनिषको रिपोर्ट भारत पठाइएको थियो । मिर्गौला दिन मिल्ने भन्ने खबर आएपछि भारतको कोलकाता पुर्‍याएर मिर्गौला ट्रान्सप्लान्ट गरिएको पाइएको छ ।

मनिषको मिर्गौला झिकेको घाउ ।

दुई एजेन्टले मनिषलाई बल्खुमा लगेर अर्का एक व्यक्तिको जिम्मा लगाएका थिए । ती व्यक्तिले सुमो मार्फत वीरगञ्ज पुर्‍याएर त्यहाँबाट रक्सौल हुँदै कोलकाता पुर्‍याएको अनुसन्धानबाट खुलेको छ ।

मनिषलाई मिर्गौला दिन उक्साउने होटल सञ्चालिका घलान पक्राउ परे पनि मेडिकल जाँचसम्म गराउने दुई एजेन्ट र बल्खुबाट कोलकातासम्म पुर्‍याउने अर्का व्यक्ति पक्राउ परेका छैनन् । उनीहरु पक्राउ परेपछि यसको थप विवरण खुल्ने प्रहरीले बताएको छ ।

भागेर आइपुगे काठमाडौं : मिर्गौला पीडित व्यक्ति तराईवासी महिला हुन् । उनलाई २०८० को दशैंताका भारत लगेर उपचार गराइएको थियो । असोज २०८० देखि कोलकातामा फ्ल्याट लिएर उनलाई राखिएको थियो ।

मिर्गौला प्रत्यारोपण (नियमित तथा निषेध नियमावली)ले तोकेका नातेदार बाहेक अन्य व्यक्तिले मिर्गौला दान दिन वा प्रत्यारोपण गर्न पाउँदैनन् । त्यसमा पनि मिर्गौला दिने व्यक्तिको मन्जुरी आवश्यक हुन्छ । जसकारण त्यसका लागि चाहिने सम्पूर्ण कागजपत्र उनीहरुले नक्कली बनाएको पाइएको ब्यूरोका एसपी मिश्रले बताए । त्यसका लागि नक्कली नागरिकतादेखि नाता प्रमाणपत्र समेत नक्कली बनाइएको थियो ।

यी सम्पूर्ण कागजात नक्कली बनाएर मिर्गौला तस्करको समूहले मनिषलाई कोलकाता पुर्‍याएको थियो । तर त्यहाँ पुगेपछि डर लागेर भागेर आएको उनले प्रहरीसमक्ष बताएका छन् । यो गत माघको घटना हो ।

उनी भागेर काठमाडौं आएपछि मिर्गौला तस्करका एक एजेन्ट काठमाडौं नै आएर उनलाई फकाएर पुनः कोलकाता पुर्‍याएको खुलेको छ । ती व्यक्ति पनि अहिलेसम्म फरार छन् । दोस्रो पटक कोलकाता पुर्‍याएपछि गत माघको अन्तिममा मनिषको मिर्गौला झिकिएको ब्यूरोका एसपी मिश्रले बताए । मनिषलाई नक्कली देवर बनाएर भाउजुलाई मिर्गौला प्रत्यारोपण गरेको देखाइएको थियो ।

कोलकाताको मुकुन्दरस्थित अम्री अस्पतालमा लगेर मिर्गौला प्रत्यारोपण गरेको प्रहरीले पत्ता लगाएको छ । मिर्गौला प्रत्यारोपण पछि १ वैशाख २०८१ मा ती महिला नेपाल फर्केकी थिइन् ।

तर बाँचिनन् छोरी : १० लाख रुपैयाँमा मिर्गौलाको किनबेच गर्ने डिल भए पनि मनिषले भने ४ लाख ७० हजार रुपैयाँ मात्रै पाएको खुलेको छ । त्यो पनि पटक–पटक गरेर उनले बुझेको खुलेको छ ।

मिर्गौला दिए बापत मनिषलाई पैसा दिने काम भने ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्रीले गरेका थिए । उनलाई ब्यूरोको टोलीले ९ भदौमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मिर्गौला दिएपछि उनी काठमाडौं फर्केका थिए । त्यसपछि छोरीको उपचारका लागि केही रकम खर्च भएको तर छोरीलाई बचाउन नसकिएको उनले प्रहरी समक्ष बताएका छन् । ‘मिर्गौला बेचेवापत भएको करिब ५ लाख मध्ये केही रकम छोरीको उपचारमा खर्च गरेको देखिन्छ । बाँकी रकम भने मदिरालगायत अन्यमा खर्च गरेको देखिन्छ’, ब्यूरोका एक अनुसन्धान अधिकृतले भने ।

छोरीको उपचारका लागि मिर्गौला बेचेको बयान दिए पनि मनिषले छोरीलाई भने बचाउन सकेनन् ।

अहिलेसम्म यो प्रकरणमा प्रहरीले मिर्गौला दिन उक्साउने होटल सञ्चालिका घलान, पैसा दिने खत्रीलाई मात्रै पक्राउ गरेको छ । मिर्गौला दिन कन्भिन्स गराउने दुई एजेन्ट, बल्खुबाट कोलकातासम्म पुर्‍याउने व्यक्ति, नक्कली कागजात बनाउने गिरोहदेखि मिर्गौला लिनेसम्मका व्यक्ति लगायत ६ जना पक्राउ पर्न बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

उनीहरुको पक्राउ परेपछि यसको थप गुत्थी खुल्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो समूहले मनिष जस्तै अन्य व्यक्तिको पनि मिर्गौला तस्करी गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?