+

साफ यु-२० च्याम्पियनसिप : कहाँ चुक्यो नेपाल?

२०८१ भदौ  १३ गते ७:२६ २०८१ भदौ १३ गते ७:२६
साफ यु-२० च्याम्पियनसिप : कहाँ चुक्यो नेपाल?

१३ भदौ, काठमाडौं । ‘हामीले आफ्नो घरेलु मैदानमा अवसर पाउँदा पनि जित्न सकेनौं । सरी भन्न चाहन्छु । यस्तो मौका आउँदैन ।’

साफ यु-२० च्याम्पियनसिपको फाइनलमा बुधबार बंगलादेशसँग ४-१ ले पराजित हुँदै उपाधि जित्न असफल भएपछि नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सुरुमा दिएको प्रतिक्रिया हो यो ।

९ वर्षपछि फाइनल पुगेको नेपाल यू२० टिमसामु यसपटक घरेलु मैदानमा उपाधि जित्ने सुनौलो अवसर गुमायो । नेपालले सन् २०१५ मा नेपालबाटै सुरु भएको पहिलो संस्करण र २०१७ मा दोस्रो संस्करणको उपाधि जितेको थियो । त्यसयता नेपाल फाइनल सम्म पनि पुग्न सकेको थियो ।

२०१५ पछि पहिलो पटक फाइनल पुगेको नेपाल यस पटक भने घरेलु मैदानमै बंगलादेशसँग स्तब्ध नै भयो ।

समूह चरणमा नेपाल र बंगलादेश एकै समूहमा थिए । जहाँ नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको थियो ।

फाइनलमा नेपालले त्यो प्रदर्शन दोहोर्‍याउन सकेन भने बंगलादेशले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध मिठो बदला लियो ।

समूह चरणमा नेपालका लागि समिर तामाङ र निराजन धामीले पहिलो हाफमा दुई मिनेटमा दुई गोल गरेपछि नेपालले बंगलादेशमाथि दबाब बनाउँद जित निकालेको थियो ।

फाइनलमा घरेलु नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको साथमा उपाधि जित्नुपर्ने एक किसिमको दबाब पनि थियो । त्यो दबाबका कारण पनि फाइनलमा नेपालले सोचे अनुसारको प्रदर्शन गर्न सकेन । ‘नतिजाबाट निराश छौँ । हामीले आफ्नो खेल खेल्न सकेनौँ । सबैलाई सरी भन्न चाहन्छौं।’ खेलपछि नेपालका कप्तान कुशल देउबाको प्रतिक्रिया थियो ।

खेलको सुरुमा नेपालले दबाब बनाए पनि अघिल्लो खेलमा जस्तो गोल गर्न सकेन । पहिलो हाफको इन्जुरी टाइममा बंगालदेशले अग्रता लियो । मिराजुल इस्लामले फ्रिकिकमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । दोस्रो हाफमा मिराजुलले अर्को गोल गरे । यस्तै रबी होसेन राहुल र पिएस नोभाले दोस्रो हाफमा गोल गरे । नेपालका लागि समिर तामाङले मात्र एक गोल फर्काए ।

फाइनल खेलमा पाँच गोल हुँदा नेपालले जम्मा १ गोल मात्र गर्न सक्यो । फाइनलसम्म पुग्दा अपराजित रहेको नेपालले एक खेल मात्र हार्‍यो र त्यही हारले नेपाललाई उपाधि जित्नबाट बन्चित गरायो ।

घरेलु मैदानको फाइदा हुँदा पनि नेपालमा फाइनलमा कहाँ चुक्यो ?

फ्रिकिक गोल टर्निङ प्वाइन्ट

पहिलो हाफ बराबरीतर्फ अग्रसर भइरहेको थियो । तर अन्तिममा बंगलादेशले फ्रिकिक पायो र त्यसमा मिराजुल इस्लामले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम समयमा गोल गर्दा नेपाललाई मनोवैज्ञानिक दबाब पर्‍यो ।

पहिलो हाफको अन्तिममा फ्रिकिकमा गोल हुनु नै गेम चेन्जिङ मोमेन्ट बन्यो । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले भने । त्यो बेला फल गर्नुपर्ने जरुरी नै थिएन । त्यो गोल नभएको भए खेलको नतिजा अर्कै आउन सक्थयो ।

बंगलादेशमा प्रशिक्षक मरिमुल हकले पनि पहिलो हाफको गोलले खेलमा प्रभाव पारेको बताए । ‘त्यो गोल नै टर्निङ प्वाईन्ट भयो । गोल भएपछि खेलभरी नै त्यसले हामीलाई कन्फिडेन्स दियो ।’ फ्रिकिक गोलबारे सोध्दा हकले पोष्ट म्यच कन्फ्रेन्समा भने ।

नेपालका निरज कार्कीले बंगलादेशका मिराजुल ईस्लामलाई पेनाल्टी बक्स भन्दा थोरै बाहिर फल गरेपछि बंगलादेशले फ्रिकिक पाएको थियो । त्यसमा मिराजुलले हानेको प्रहार पोष्टमा लागेर गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा गोल गर्न नसक्नु

समूह चरणको खेलमा जस्तै नेपालले पहिलो हाफमै गोल गरेर खेलमा पकड बनाउने योजना बनाएको थियो । त्यही अनुसार खेलमा सुरुवात पनि राम्रो गरेको थियो । तर नेपालले पहिलो हाफमा गोल गर्न सकेन ।

नेपालको मुख्य हतियराको रुपमा रहेका फरवार्डद्वय निराजन धामी र समिर तामाङले पहिलो हाफमा सोचे अनुसारको खेल देखाउन सकेनन् ।

निराजनले पहिलो हाफमा गोलका लागि केही प्रयास गरेका थिए तर सफल हुन सकेनन् । पहिलो हाफमा समिर तामाङ फिक्का जस्तै देखिए ।

खेलको नवौँ मिनेटमा नेपालले राम्रो अवसर गुमाएको थियो । निराजन धामीको लामो प्रहार बंगलादेशका गोलकिपर मोहम्मद आसिफले पन्च गर्दै बचाएका थिए ।

१३औं मिनेटमा निराजनको अर्को लामो सट बंगाली किपरलाई लाग्दै बाहिर गयो । २१औं मिनेटमा नेपालले अर्को राम्रो अवसर गुमाएको थियो । निराजनले नै बक्समा उपलब्ध गराएको पासमा अनमार्क रहेका अविनास स्याङ्गतानले सदुपयोग गर्न सकेनन् । उनको प्रहार फितलो रह्यो ।

३० मिनेट सिमान्त थापा फ्रिकिक बारमाथिबाट बाहिर गयो । यस्तै ३१ मिनेटमा निराजनले बक्स बाहिरबाट हानेको अर्को प्रहार पोष्ट नजिकबाट बाहिर गयो ।

प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो हाफमा गोल गर्न नसक्दा गाह्रो भएको बताए ।

‘पहिलो हाफमा एक गोल मात्र गर्न सकेको भए नतिजा चेन्ज हुन सक्थ्यो,’ श्रेष्ठले भने, ‘निराजनले प्रयास गरेको भएन । अविनाशले पनि चान्स पाएको थियो । समिरले राम्रो गर्न सकेन । पहिलो गोल खाएपछि दबाब भयो ।’

योजना अनुसार खेल्न नसक्नु

नेपालले सुरुकै गोल गरेर त्यही अनुसार विपक्षीलाई दबाबमा राखेर खेल्ने योजना बनाएपनि सफल हुन सकेन । पहिलो हाफमा गोल खाएपछि उल्दै घरेलु मैदानमा नेपाल दबाबमा आयो । जसले गर्दा खेलाडीहरु आत्तिएको देखियो र दोस्रो हाफमा थप तीन गोल व्यहोर्‍यो ।

नेपालले तीन गोलले पछि परेको अवसथ्मा समिर तामाङले गोल गर्दै खेलमा गोल अन्तर कम पारेका थिए । तर त्यो धेरै ढिला भइसकेको थियो ।

‘पहिलो हाफमा गोल खाएपछि हामीलाई दोस्रो हाफमा दबाब भयो । जसले गर्दा हामीले योजना अनुसार खेल्न सकेनौँ ।’ नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले भने ।

घरेलु मैदानमा चुकेको नेपाल

सन् २०१५ मा पहिलो संस्करणको साफ यू१९ च्याम्पियन हुँदा नेपाल च्याम्पियन बनेको थियो । एन्फा कम्प्लेक्समै भएको पहिलो संस्करणको फाइनलमा नेपालले भारतलाई पेनाल्टीसुटबउटमा हराएर च्याम्पियन बनेको थियो । त्यसपछि सन् २०१७ मा भुटानमा राउण्ड रोविनका आधारमा भएको दोस्रो संस्करणमा नेपाल शीर्ष स्थानमा रहँदै उपाधि रक्षा गर्न सफल भएको थियो ।

तर त्यसपछिका तीन संस्करणमा भने नेपाल फाइनल समेत पुग्न सकेन । ९ वर्षपछि फाइनल पुगेको नेपालसामु घरेलु मैदानमा च्याम्पियन बनेर ट्रफी उचाल्ने अवसर थियो ।

प्रतियोगिता सुरु हुनुअघि र फाइनल खेलअघि पनि नेपालका कप्तान र प्रशिक्षकले ट्रफी घरमै राख्ने लक्ष्य रहेको बताएका थिए । तर नेपाल त्यो लक्ष्यमा सफल हुन सकेन ।

नेपालले तेस्रो पटक उपाधि जित्दै भारतसँग सर्वाधिक उपाधि जित्ने कीर्तिमान बराबरी गर्ने लक्ष्य थियो । त्यो पनि पूरा भएन । बरु साफ यू२० च्याम्पियनसिपमा बंगलादेशले पहिलो पटक उपाधि जितेर इतिहास रच्दा नेपालले भने यो प्रतियोगितामा पहिलो पटक बंगलादेशसँग पराजित भएर खराब कीर्तिमान बनायो ।

नेपालले सन् २०१५ र २०१७ मा च्याम्पियन बन्नुअघि बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । यस संस्करणमा पनि समूह चरणमा नेपालले बंगलादेशलाई सोही नतिजामै पराजित गरेको थियो । तर फाइनलमा भने नेपालको त्यो प्रदर्शन कायम रहन सकेन ।

फाइनलमा बंगलादेशले नेपालमाथि दबाब राख्दै राम्रो खेलेर नै जित निकाल्यो । वास्तवमा बंगलादेश फाइनलमा जितको हकदार नै देखियो ।

फाइनलअघिको प्रि म्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक श्रेष्ठले जसले राम्रो खेल्छ फाइनल उसैले जित्छ भनेर प्रतिक्रिया दिएका थिए । र फाइनलमा भयो पनि उस्तै ।

त्यही भएर उर्जन श्रेष्ठले पोष्ट म्याच कन्फ्रेन्सको अन्तिमम फेरि भने, ‘जित दिलाउने रहर थियो, सकेनौँ । सरी भन्न चाहन्छु ।’

साफ यू२० च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय