+
+

बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित, दोष भारतलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १०:०९

१३ भदौ, काठमाडौं । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् ।

बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका छन् । ती क्षेत्रका फेनी, कोमिला, मौलवीबजार, हबीगञ्ज र चटगाउँ सबैभन्दा बढी प्रभावित छन् ।

बंगलादेशको विपत व्यवस्थापन एवम् राहत मन्त्रालयका अनुसार बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भइसकेको छ । केही व्यक्तिहरु बेपत्ता छन् । लाखौं विस्थापित भएका छन् ।

रेलवे लाइन र राजमार्ग जलमग्न भएका छन् । राजधानी ढाका र चटगाउँबीचको सडक सम्पर्क टुटेको छ । फेनी, कमिला, र सिलहट जिल्लामा पनि यस्तै अवस्था छ ।

पहिरोका कारण चटगाउँ र कोक्स बजारमा रेलवे लाइनमा क्षति पुगेको छ । यस्तै अवस्था दोहाजरी र नजिरहाट रेलमार्गमा पनि छ ।

बंगलादेश बाढीको चपेटामा पर्दा स्थानीयको आक्रोश भने भारततिर छ । केही दिनयता बंगलादेशका संगठनहरुले आफ्नो देश बाढी, पहिरो र डुबानको चपेटामा पर्नुमा भारत जिम्मेवार रहेको आरोप लगाइरहेका छन् ।

बंगलादेश सरकारको पर्यावरण र जलवायु परिवर्तन तथा जल संशाधन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले भारतले नै दोषी देखाएका थिए । उनले भारतले त्रिपुराको डम्बुर जलविद्युत् परियोजनाको बाँध खोल्नुअघि बंगलादेशलाई सूचना नदिएका कारण समस्या भएको बताएका थिए ।

बंगलादेशका सञ्चार माध्यमले पनि यही विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन प्रसारण गरे । स्थिति यति गम्भीर भयो कि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति नै निकालेर खण्डन गर्नुपर्‍यो ।

१९ अगष्टदेखि त्रिपुरामा भारी वर्षापछि गोमती हाइड्रो–इलेक्ट्रिक प्रोजेक्टको बाँधका ढोका खोलिएका विषयमा सामाजिक सन्जालमार्फत् पनि भारतविरुद्ध टिकाटिप्पणी भएका थिए ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी बंगलादेशमा बाढी आउनुमा आफू जिम्मेवार नभएको भन्दै आरोप निराधार भएको जिकिर गरेको छ ।

भारतको विदेश मन्त्रालयले भारत र बंगलादेश हुँदै बग्ने गोमती नदीको तटीय क्षेत्रमा भएको भारी वर्षा नै बाढी र डुबानको मुख्य कारण भनेको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार त्रिपुरा डम्बुर बाँध बंगलादेशको सीमा क्षेत्रबाट १२० किलोमिटर टाढा छ । यसबाट बंगलादेशमा पनि ४० मेगावाट बिजुली आपूर्ति हुन्छ । हाल त्रिपुरा पनि बाढीको प्रकोपमा परेको छ ।

बाढीले बढी क्षति पुर्याएको जिल्लाको सूचीमा गोमती पनि छ । गोमती जलविद्युत आयोजनाको डम्बुर बाँधका गेट खोलिदिएका कारण बंगलादेशका जिल्लाहरु डुबान भएको बंगलादेशका मिडियाहरुले लेखेका छन् ।

बंगलादेशका मिडियाहरुका अनुसार भारतले परक्का बाँधका ढोका खोलिदिएका कारण पनि बंगलादेश बाढीको चपेटामा परेको हो । यो भनाइको पनि भारतले खण्डन गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘फरक्का ब्यारेजबाट नदीको तल्लो क्षेत्रमा ११ लाख क्युसेकभन्दा बढी पानी प्रवाह भइ आफ्नो प्राकृतिक मार्ग हुँदै गंगा/पद्मा नदीमा मिसिन्छ । यो एक सामान्य मौसमी घटनाक्रम हो ।’ तर गलत भिडियो र अफवाह फैलाइएको भन्दै उनले तथ्यसहित स्थितिको सामना गर्नुपर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?