+

महिनावारीबारे भ्रम कतिपय

२०८१ भदौ  १३ गते १२:१४ २०८१ भदौ १३ गते १२:१४
महिनावारीबारे भ्रम कतिपय

‘तरकारीको बोट नछोऊ, कुहिन्छ’,  ‘मन्दिरमा जान हुँदैन, पाप लाग्छ’, ‘महिनावारीमा बग्ने रगत अशुद्ध  हुन्छ’, यस्ता महिनावारी हुँदा फैलाइएका कतिपय मनगढन्ते भ्रम समाजमा व्याप्त छन् ।

यस्तो भ्रम फैलिनुको पछाडि महिनावारी सम्बन्धी नबुझ्नु र नबुझाउनु हो । यसबारे सही सन्देश स्कुलको पाठ्यक्रममा नहुँदा र परिवारमा खुलेर नगर्दा भ्रमले जरा गढेको देखिन्छ ।

केही भ्रम र सत्यता

भ्रम : महिनावारीमा अमिलो खानेकुरा खान हुँदैन

– महिनावारी भएका बेला अमिलो खान हुँदैन भन्ने कुरामा कुनै सत्यता छैन । अमिलो खानेकुरा जस्तै, कागती र लप्सी जस्ता खानेकुरामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । तर यसो भन्दैमा अमिलो धेरै खानुपर्छ. भनिएको होइन । सीमित मात्रामा खाएको राम्रो हुन्छ ।

भ्रम : यो समयमा दौडिनु तथा धेरै व्यायाम गर्नु हुँदैन

– महिनावारीको समयमा दौडिन, खेल्न, नाच्न र व्यायाम गर्न नहुने बताइन्छ । किनकि ज्यादा भागदौडले रगत बढी जान्छ । यो सोच बिल्कुल गलत हो ।

यस्तोमा कहिलेकाहीं अत्यधिक आरामका कारण शरीरमा रक्तसञ्चार राम्ररी हुन सक्दैन र दुखाइ पनि बढी हुन्छ ।

खेल्दा र व्यायाम गर्दा रगत र अक्सिजनको प्रवाह सुचारु रूपमा जारी रहन्छ, जसले पेट दुख्ने वा पेट दुख्ने जस्ता समस्याबाट जोगाउँछ ।

भ्रम : महिनावारीको समयमा निस्कने रगत अशुद्ध हुन्छ

– आज पनि बुढापाकाले महिनावारीको समयमा निस्कने अशुद्ध हुन्छ । जसकारण भान्छा वा मन्दिरमा र बोटबिरुवामा छुनु पाप हो भन्नेमा दृढ विश्वास गर्छन् । तर पटक्कै त्यस्तो होइन । यो भ्रम तोड्न जरुरी छ महिनावारी रगत न त अशुद्ध हो न त यसले शरीरबाट कुनै किसिमको विषाक्त पदार्थ निकाल्छ ।

यो हरेक महिनामा महिनावारी हुँदा सन्तान उत्पादनका लागि सक्षम छ भन्ने प्रमाण र जरुरी प्रक्रिया हो । यतिखेर पाठेघरले गर्भवतीको लागि तयार हुने तह बनाउँछ । गर्भवती नभएको खण्डमा हर्मोनले बनाएको पाठेघरको तह भत्किएर योनीमार्ग हुँदै रगतको रुपमा बाहिर निस्किन्छ ।

भ्रम : महिनावारी हुँदा यौनसम्पर्क गर्नुहुँदैन ।

– यो पनि भ्रम हो । महिनावारी हु्ँदा यौनसम्बन्ध कायम राख्दा रगत बढी श्राव हुन्छ भन्ने कुरामा पनि कुनै सत्यता छैन । यो अवस्थामा महिलालाई कुनै दुखाइ वा समस्या छैन भने यौनसम्पर्क गर्न मिल्छ । तर सुरक्षित साधनको भने प्रयोग गर्नुपर्छ ।

भ्रम : महिनावारीमा प्रयोग हुने ‘महिनावारी कप’ को प्रयोगले कुमारीत्व भंग हुन्छ ।

– महिनावारी कपको प्रगोग गर्नेमा कुमारीत्व (भर्जिनिटी) तोडिन्छ भन्ने कुरामा दोमन हुनै पर्दैन । यसको प्रयोग हरेक उमेर समूहका लागि सुरक्षित छ । यो साधन अत्यन्त मुलायम हुने भएकाले छालमा कुनै किसिमको हानि नगर्नुका साथै प्रयोग गर्न सहज पनि छ । महिनावारी कप र कुमारीत्व (भर्जिनिटी) बीच कुनै सम्बन्ध छैन ।

भ्रम : महिनावारीमा प्रयोग हुने प्याड वा पेन्टी अरुले देखे बिगार पार्न सक्छन् ।

– ग्रामीण भेगमा अझै पनि किशोरीलाई महिनावारीमा प्रयोग हुने प्याड वा पेन्टीमा नराम्रो नजर परे बिगार लगाउने हुँदा लुकाएर गाड्न वा फाल्न पर्ने बताइन्छ । बिगार अर्थात् त्यसमा हुने रगतको दागको गलत प्रयोग गरी पाठेघरको अवस्था खराब पार्ने अन्धविश्वास हो ।

तर प्याडलाई सुरक्षित तरिकाले भने व्यवस्थापन गर्नुपर्छ । जथाभावी फाल्दा वातावरण भने पक्कै प्रदूषित हुनसक्छ ।

भ्रम : महिनावारीको दुखासामान्य हो ।

– महिनावारीमा पेट, कम्मर दुख्नु सामान्य हो । तर त्यो दुखाइको अनुभव अत्यधिक हुन्छ र लगातार रहन्छ भने असामान्य अवस्थाको कारणले पनि हुनसक्छ । इन्डोमेट्रियोसिस र फाइब्रोइडको समस्या हुँदा गम्भीर दुखाइ हुनसक्छ । त्यसैले असामान्य लक्षण देखिए चिकित्सकलाई तुरुन्त देखाई उपचार प्रक्रिया अघि बढाइहाल्नुपर्छ ।

भ्रम : महिनावारी भएको समयमा  गर्भवती हुनु असम्भव हो ।

– यो पनि अर्को भ्रम हो । यो समयमा गर्भवती हुने सम्भावना न्यून हुन्छ । तर असम्भव भन्न सकिंदैन । किनकि पुरुषको वीर्य केही दिनसम्म महिलाको प्रजनन् अंगमा जीवित नै बस्न सक्छ ।

यदि महिनावारीको चक्र छोटो छ वा अनियमित महिनावारी भएमा महिनावारी सकिएपछि छिट्टै डिम्ब उत्पादन हुन्छ । जसकारण गर्भ रहने सम्भावना हुनसक्छ ।

डा. कीर्तिपाल सुवेदी महिनावारी स्त्रीरोग
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय