+
+

‘वर एण्ड वधु’को काठमाडौं प्रिमियर : फिल्म हेर्न नेतादेखि कलाकारको घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १३:०९

काठमाडौं । शुक्रबारदेखि हलमा रिलिज हुन लागेको फिल्म ‘वर एण्ड वधु’ले पोखरापछि काठमाडौंमा प्रिमियर समारोह सम्पन्न गरेको छ । बुधबार बेलुका ललितपुरस्थित क्यूएफएक्सको लबिम हलमा उपत्यका प्रिमियर गरियो ।

निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउन कुनै कसर बाँकी राखेनन् । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा फिल्म क्षेत्रका फिल्मकर्मी, पत्रकार र राजनीतिज्ञको उपस्थिति थियो ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म हेर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मिरुना मगर, पशुपति राई, ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, केदार घिमिरे, जितु नेपाल, सरोज न्यौपाने, उषा रजक लगायत हल पुगेका थिए ।

फिल्मका मुख्य कलाकार आँचल शर्मा, किरण केसी, विवेक कर्माचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि हल पुगेका थिए । फिल्म हेरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट फिल्म उत्कृष्ट बनेकोमा सबैलाई हेर्न आग्रह गरे । कलाकारद्वय हरिवंश र मदनकृष्णले पनि फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पाटोको तारिफ गरे ।

फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौलाले समग्रमा फिल्म उत्कृष्ट बनेको बताइन् । उनले आँखा शीतल हुने फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । अभिनेता केदार घिमिरेले पनि फिल्म नै राम्रो बनेको प्रतिक्रिया दिए ।

अभिनेत्री मगरले आँचललाई फिल्ममा निर्वाह गरेको भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् । फिल्म हेरेका अधिकांशले डेब्यु एक्टर कर्माचार्यको कामको पनि प्रशंसा गरे । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्मले मल्टिप्लेक्समा सुखद् शो पाएको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?