+

दाँतको ग्यापलाई कसरी मिलाउने ?

२०८१ भदौ  १३ गते १३:५२ २०८१ भदौ १३ गते १३:५२
दाँतको ग्यापलाई कसरी मिलाउने ?

टम्म मिलेको दाँत सुन्दरता र स्वास्थ्य दुवैका लागि राम्रो मानिन्छ । तर कतिपय अवस्थामा दुई दाँतबीचको भाग खुला हुँदा त्यसले धेरै असहज बनाउँछ । चाहे खानेकुरा खाँदा होस् वा खुलेर हाँस्दा नै !

दुई दाँत माथि रहने मासुको झिल्ली असामान्य रूपमा रहँदा, वंशाणुगत रुपमा र बालबालिकाको बढ्ने उमेरमा पनि यो समस्या देखा पर्छ । तर सम्पूर्ण दूधे दाँत सकिएपछि यो समस्या आफैं समाधान हुनसक्छ ।

यस्तै, बालबालिकामा औंला चुस्ने बानी, ओठ टोक्ने, गाला र जिब्रोको मासुबीचको असन्तुलनले पनि दाँत फाटिएको हुनसक्छ ।

हड्डीमा रहेको सिस्ट (फोका), अतिरिक्त दाँत वा दाँत झरेको अवस्थामा पनि दाँत फाटिएको हुनसक्छ । साथै गिजा सम्बन्धी समस्याका कारण धेरै पटक दाँत भाँचिन्छ, जसकारण दुई दाँतको बीचमा ग्याप हुन्छ ।

दाँतको बीचमा ग्याप हुनुका बेफाइदा

दाँत सर्न थाल्छ

जब दाँतको बीचमा खाली ठाउँ हुन्छ, बिस्तारै वरपरका दाँतहरू पनि सर्न थाल्छन् । यसले दाँतको आकार बिग्रिन्छ । जब दाँत एक ठाउँबाट अर्को ठाउँमा सर्छ, दाँतसँग सम्बन्धित अन्य समस्या पनि सुरु हुनसक्छ । यदि यस्तो अवस्था छ भने भविष्यमा दाँतसम्बन्धी समस्या कम गर्नका लागि खाली ठाउँमा नयाँ दाँत प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

दाँत सफा गर्न कठिनाइ

धेरै पटक दाँत बीचमा भएको ग्यापको कारणले गर्दा दाँत सफा गर्न पनि समस्या हुनसक्छ । जब दाँतमा ग्याप हुन्छ, यस्तो अवस्थामा ब्रस बारम्बार गिजामा ठोकिन्छ र  गिजाबाट रगत आउन सक्छ । यति मात्र होइन, गिजालाई नियमित ब्रस गर्दा पनि कमजोर हुनसक्छ । यसबाहेक दाँत राम्ररी सफा नगर्दा मुखमा प्लाक जम्मा भएर दाँत कीराले खान थाल्छ ।

दाँतको समस्या बढ्न सक्छ

यदि दुई दाँतको बीचमा ठूलो ग्याप छ भने दाँतसँग सम्बन्धित धेरै प्रकारका समस्या देखा पर्न सक्छन् । ग्यापले गर्दा दाँतलाई राम्ररी सफा गर्न कठिनाइ हुन्छ र दाँत सफा नहुँदा दाँतमा फोहोर जम्मा हुनसक्छ । जसकारण दाँतको इनामेल बिग्रन सक्छ । इनामेल दाँतको बाहिरी कडा सतह हो, जसले दाँतलाई जोगाउँछ । त्यो इनामेल बिग्रन थालेपछि दाँतको समस्या बढ्न थाल्छ ।

खाना अड्किने समस्या

दाँतको बीचमा ग्याप भयो भने खाना खाँदा दाँतको बीचमा अड्किन्छ । जब दाँतको बीचमा लामो समयसम्म  खाना अड्कियो भने यसले दाँत र गिजालाई पनि हानि पुर्‍याउँछ । कहिलेकाहीं दाँतको खाली ठाउँमा फसेको खाना हटाउन नै गाह्रो हुनसक्छ । लामो समयसम्म दाँतको बीचमा अड्किएर बसेको कुराले दाँतलाई संवेदनशील बनाउनुका साथै दुखाइ पनि निम्त्याउन सक्छ ।

दाँतको ग्यापलाई कसरी मिलाउने ?

बालबालिकामा औंला चुस्ने, ओठ टोक्ने आदि समस्या छ भने त्यसलाई समयमै पहिचान गरेर यस्ता बानीको उपचार समयमै गरियो भने दाँतको बीचमा हुने ग्यापको समस्याबाट नै बच्न सकिन्छ ।

यस्तै, दाँतमाथि रहेको मासुको झिल्लीको समयमै शल्यक्रिया गरेर, अतिरिक्त दाँत आदिको पहिचान गरी उपचार गरेमा यस्तो समस्याबाट बच्न सकिन्छ ।

यी सावधानी अपनाउँदा पनि दाँत फाटिएको छ भने दन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । यो समस्याको प्रमुख उपचार भनेको तार बाँधेर दाँत मिलाउने हो । जुन उपचारपछि दाँतलाई तारले सारेर जोडिदिने गर्छ । यो उपचार अवधि साढे एक वर्षदेखि तीन वर्षसम्म लाग्छ ।

ग्यापको अर्को उपचार कस्मेटिक हो । जसमा दुई दाँतबीचको ग्याप खाली ठाउँलाई कस्मेटिक सिमेन्टले भर्ने गरिन्छ । दाँतको माथिबाट कभर गर्ने दाँतको बाहिरी भागमा मात्र कभर गर्ने आदि उपचार विधि हुन्छ ।

गिजाको समस्याका कारण दाँतको बीचमा ग्याप भएको हो भने गिजाको समस्याको उपचार गरेर दाँतको ग्याप कम गर्न सकिन्छ । साथै डेन्टल क्याप किटको सहायताले दाँतबीचको अन्तरलाई सुधार गर्न सकिन्छ ।

डा. विदिज्ञा थापा दन्तरोग दाँत उपचार
डा. विदिज्ञा थापा 
लेखक
डा. विदिज्ञा थापा 
डेन्टल सर्जन

डा. थापा हाल काठमाडौंको नयाँ बानेश्वरस्थित चिरायु डेन्टल केयरमा कार्यरत छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २३४४४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय