+
+

‘हाइ प्रोफाइल’ व्यक्तिहरूको साझेदारीमा ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १४:२१

१३ भदौ, काठमाडौं । कृषि क्षेत्रमा काम गर्ने गरी ‘हाइ प्रोफाइल’ व्यक्तिहरूको साझेदारीमा ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना हुन लागेको छ ।

चाँडै स्थापना हुन लागेको एग्रो भेन्चर क्यापिटलमा पूर्वगभर्नर, बैंकर, कृषि क्षेत्र विज्ञ, अर्थविद्‍देखि कृषि क्षेत्रका उद्यमीको साझेदारी हुनेछ ।

एग्रो भेन्चर क्यापिटलमा पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की, पूर्वबैंकर तथा बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, पूर्वबैंकर रमेशकुमार भट्टराई, पूर्वबैंकर जनक शर्मा पौडेल लगायतको लगानी हुन लागेको हो ।

नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना हुन लागेको हो ।

आ–आफ्ना क्षेत्रमा लामो अनुभव हासिल गरेका साथीहरू मिलेर एग्रो भेन्चर क्यापिटल स्थापना गर्न लागिएको पूर्वबैंकर रमेशकुमार भट्टराइले बताए ।

अमेरिका र युरोपमा सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्ष अघिबाट सुरु भइसकेको छ । विदेशी लगानीका र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भेन्चर क्यापिटल नेपालमा काम गरिरहेका छन् ।

राम्रो सम्भावना भए पनि पूूँजी अभावमा धेरै उद्योग–व्यवसाय चल्न नसकेको र जोखिम बढी हुने भएकाले बैंकहरूले सहज लगानी गर्ने अवस्था हुँदैन । यस्ता उद्योग–व्यवसायमा ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल’ (पीईभीसी) ले लगानी गर्छन् ।

यस्ता समस्या सम्बोधन गर्न कृषि क्षेत्रका उद्योग–व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको भट्टराईले बताए ।

विभिन्न चरणको छलफलपछि प्रस्तावित कम्पनीको नाम नेपाल एग्रो भेन्चर क्यापिटल राख्ने निर्णय भएको उनले बताए । कम्पनीको तत्कालको चुक्ता पूँजी ५० करोड र सञ्चालनको एक वर्षभित्र १ अर्ब बनाउने प्रस्ताव गरिएको उनले बताए ।

भट्टराईका अनुसार प्रस्तावित कम्पनीमा संस्थापकका लागि ८५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्याउने तयारी छ ।

संस्थापक सेयरमध्ये ४५ प्रतिशत बैंक, बिमा र सूचीकृत संस्थाका लागि हुनेछ भने ४० प्रतिशत व्यक्ति र प्राइभेट कम्पनीका लागि छुट्याइने छ ।

नेपालमा विदेशी र स्वदेशी लगानीका भेन्चर क्यापिटल सञ्चालन भए पनि कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसाय स्थापना, सञ्चालन र प्रवर्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नरहेको उनले बताए । सोही कारण कृषि क्षेत्रमा काम गर्ने गरी भेन्चर क्यापिटल स्थापना गर्न लागिएको भट्टराईले बताए ।

प्रस्तावित नेपाल एग्रो क्यापिटल लिमिटेडको सम्भाव्यता अध्ययन र आवश्यक तयारी भइसकेको उनले बताए । आगामी साता बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, व्यक्तिगत लगानीकर्ता र निजी कम्पनीसाग छलफल गरी अगाडि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?