+
+

घरमा झगडा भएकै दिन हत्या, श्रीमान् फरार

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ भदौ १३ गते २०:०२

१३ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्या भयो । हेटौंडा–११ थानाभर्‍याङकी न्यौपानेको शव भदौ १० गते मात्रै होटलको कोठा नम्बर २०५ मा फेला पर्‍यो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार न्यौपानेको हत्या होटलमै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘अनुसन्धानमै रहेकाले आरोपितको परिचय खुलाउन मिल्दैन, तर घटनामा संलग्नको पहिचान भएर उनको खोजी भइरहेको छ’, डीएसपी भण्डारीले भने ।

प्रहरी ती युवकको परिचय नखुलाए पनि एलिसाका परिवारले भने हेटौंडा–४, कमलडाँडाका समीर खानले हत्या गरेको आरोप लगाएको छ । हाल समीर फरार छन् । परिवारका अनुसार एलिसा र समीर ७/८ वर्षदेखि श्रीमान् श्रीमतीका रूपमा बस्दै आएका थिए ।

एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको छ ।

जसमा समीरले आफूले अञ्जानमै हत्या हुन पुगेको स्वीकारेको एलिसाको परिवारले जनाएको छ । ‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं’ उनले एलिसाका भाइसँग ह्वाट्सएपमा लेखेका छन् ।

आरोपित खानले होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको भनेका छन् । ‘दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो । मैले कति उठाउन खोजें तर ज्यान गइसकेको रहेछ’, खान र एलिसाको भाइबीच भएको कुराकानीबारे परिवारले भनेको छ ।

परिवारका सदस्यका अनुसार एलिसा ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् । त्यही दिन उनको हत्या भएको थियो ।

अनलाइनखबरलाई प्राप्त भिडियो फुटेजमा समीरले एलिसालाई घरमा लगेपछि झगडा परेको देखिन्छ । घर झगडाको दृश्य एलिसाको मोबाइलबाट खिचिएको थियो । एलिसाले भाइसँगको फोन सम्पर्कलाई पनि रेकर्डमा राखेकाले घर झगडामा भएका कुराकानी सुनिन्छ ।

घर झगडाको क्रममा समीरकी आमाले ‘यसलाई जहाँबाट ल्याएको त्यहीं लगेर मार्नु’ भन्ने शब्द प्रयोग गरेकी छन् । भिडियोबाट समीर, उनको परिवार र एलिसाबीच विवाद भएको बुझिन्छ । त्यसै दिन हेटौंडाको होटलमा एलिसाको हत्या भएको थियो ।

अडियो र भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरेर समिरकी आमा र श्रीमतीसँग सोधपुछ गरिसकेको डीएसपी भण्डारीले जानकारी दिए । ‘त्यो भिडियोका विषयमा पनि आरोपितको आमा र श्रीमतीलाई ल्याएर सोधपुछ भइसकेको छ’, उनले भने, ‘त्यो झगडाको क्रममा निस्किएको आवेगको बोली हो वा योजनाबद्ध घटना थियो भन्ने विषयमा अनुसन्धान गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

समीर–एलिसा सम्बन्ध ?

एलिसा र उनका भाइ सानै हुँदा आमा दोस्रो विवाह गरेर गइन् भने बाबुको मृत्यु भएको थियो । एलिसाका भिनाजु गणेशबहादुर खत्रीले उनीहरुलाई लालनपालन र शिक्षादीक्षाको व्यवस्था गरेका थिए ।

१५ वर्षको उमेरमै एलिसाले समिरसँग भागेर विवाह गरेको खत्रीले बताए । ‘१५ वर्ष जतिको थिइन् समीरसँग भागेर पोखरातिर गएर होटल चलाएको भन्थिन मलाई । बिहे गरेपछि मेरो घर २–३ पटक आए । पछिल्ला वर्षमा भने कुनै सम्पर्क थिएन’, खत्रीले भने ।

समीरको पहिल्यै श्रीमती र बालबच्चा रहेको कुरा एलिसालाई जानकारीमा नभएको खत्रीको दाबी छ ।

समीरले विगतमा एलिसालाई घरमै लगेर राखेको र सुरुआती दिनमा दुवै श्रीमती मिलेर बसेको पनि खत्रीले बताए । तर पछि सम्बन्ध बिग्रिएपछि एलिसा र समीर काठमाडौं गएर बसेका थिए । समीर काठमाडौंमा वैदेशिक रोजगारीको एजेन्ट काम गर्थे भने एलिसा दुबई गएकी थिइन् ।

एलिसाले आफ्ना भाइसँग मात्रै नियमित कुरा गर्ने गरेकी थिइन् । ‘मेरो परिवार भन्नु दिदी मात्रै हुनुहुन्थ्यो । अब मेरो भन्नु कोही छैन । दोषीलाई कडा कारबाही हुनुपर्छ’, उनका भाइ भन्छन् । उनी हेटौंडामै एक सामाजिक संस्थामा आश्रय लिएर अध्ययन गरिरहेका छन् ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?