+
+
मुना पाण्डे हत्या प्रकरण :

‘पढाइ सकेर एक वर्षपछि आउँछु भन्थी, अब कहिल्यै नआउने भई’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते २०:३०

१३ भदौ, काठमाडौं । मंगलबार बिहानै अनिता पाण्डेलाई अमेरिकाबाट एउटा फोन आउँछ । फोन गर्नेले आफू मुना पाण्डेकी साथी रहेको बताउँदै भक्कानिदै खबर सुनाउँछिन् । आफ्नी छोरी जीवित नरहेको खबर सुनेपछि अनिता छाँगाबाट खसेजस्तै हुन्छिन् ।

‘छोरीसँग अन्तिम कुराकानी बिहीबार भएको थियो । त्यो बीचमा फोन भएन । एक्कासी मंगलबार उनकी साथीले फोन गर्दै घटना सुनाएपछि के–के भयो मैले केही चाल पाइनँ,’ अनलाइनखबरको सम्पर्कमा आएकी अनिताले सुनाइन् ।

अनिता पछिल्लो समय काठमाडौं काँडाघारीमा बस्दै आएकी छिन् । घटनाबारे जानकारी पाएपछि धनकुटामा बस्दै आएका आफ्ना दाजु हरि अधिकारीलाई खबर गरिन् । त्यसपछि बिस्तारै अन्य आफन्तमाझ खबर फैलियो ।

अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा अध्ययनरत अनिताकी २१ वर्षीया छोरी मुनाको गोली हानी हत्या भएको थियो। उनको ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली प्रहार गरी हत्या गरिएको थियो । उनको छातीमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

मुना सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको प्रहरीले मृत अवस्थामा भेट्टाएको थियो । हत्याको दुई दिन अघिदेखि उनको फोन अफ रहेको बताइएको छ ।

मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत थिइन् । पढाइ सकेर एक वर्षमात्रै घर आउने उनले बताएकी थिइन् । ‘पढाइ सकेर एक वर्षपछि मात्रै नेपाल आउँछु भन्थी । अब कहिले नआउने भएर गई । अब के गर्ने केही सोच्न सकेको छैन । मेरो बाँच्ने आधार मुना मात्रै थिइ । अब ऊ पनि छैन’ अनिताले आफ्नो वेदना अनलाइनखबरसँग साटिन् ।

अनिता आफ्ना श्रीमानसँग छुट्एिर एक्लै बस्न थालेकी थिइन् । मुना आमासँगै बस्थिन् । अनिता भोजपुरबाट इटहरी हुँदै पछिल्लो समय काठमाडौं काँडाघारीमा बस्दै आएकी छिन् ।

नेपाली विद्यार्थी पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा अमेरिकी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

अमेरिकाको ह्युस्टन प्रहरी विभागले २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेको हत्या आरोपमा सिसिटीभी फुटेजमा देखिएका एक पुरुषलाई पक्राउ गरेको बताइएको छ । अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेपयोर्कले पाण्डेको हत्यामा आरोपमा संदिग्धलाई पक्राउ गरेको उल्लेख गरेको छ ।

तर पक्राउ परेका व्यक्तिको विवरण भने प्रहरीले गोप्य रोखेको बताइएको छ । यता मुनाकी आमा अनिताले पनि अमेरिकामा रहेका नेपालीहरुले हत्यामा संलग्न व्यक्ति पक्राउ परेको भन्ने जानकारी गराएको बताइन् । ‘मुनाका साथीहरुले मलाई हत्या आरोपित पक्राउ परेको भनेर जानकारी गराउनु भएको छ । थोरै भए पनि मन शान्त बनेको छ’ अनिताले अनलाइनखबरसँग कुरा गर्दै भनिन् ।

नेपयोर्कका अनुसार संदिग्धलाई बुधबार बेलुका ८ बजे ट्राफिक स्टपमा पक्राउ गरिएको उल्लेख गरेको छ । पक्राउ परेका व्यक्तिलाई अहिलेसम्म कुनै अभियोग लगाइएको छैन ।

यसअघि प्रहरीले सिसिटिभी फुटेजमा कैद भएको संदग्ध व्यक्तिको फोटो समेत सार्वजनिक गरेको थियो । जहाँ अगस्ट २४ राति ९ बजेर ४८ मिनेटमा ती व्यक्ति मुना बसेका अपार्टमेन्टमा पुगेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?