+
+

शान्तिपूर्ण विरोधमा सरकारी लगाम

सरोकारवाला नागरिक अगुवाहरु भन्छन् : राज्यले प्रतिशोध साँधेको देखियो

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ १३ गते १९:०१

१३ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा बुधबार ‘गौरादेवीको समापन कार्यक्रम’ मा धनगढी पुग्ने कार्यक्रम थियो । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी मन्त्री तथा कांग्रेस नेतृ राणालाई जोडेर कैलालीका रचित शाहले फेसबुकमा कडा स्टाटस लेखे । राणाको तस्वीर पनि राखे ।

उनले विभिन्न काण्डहरुको नाम जोड्दै आक्रोश पोखे । शाहकै शैलीमा अर्का युवा प्रतीक जोशीले पनि फेसबुकमा लेखे, ‘मुलुक संकटै संकटमा छ । आम जनता संकटकै अवस्थामा छन् । संस्कार नभएका भनेर बोलेको कुरा लोकलाजको विषय बनेको छ । तपाईहरुको प्रजातन्त्रमा यस्तै हुन्छ ?’

यी दुवै युवाले सामाजिक सञ्जालमार्फत राणा र कांग्रेस सभापति देउवालाई तेर्स्याउँदै लेखे । उनीहरुले उठाएका प्रश्नको साइनो टुँडीखेलसम्म जोडिएको थियो । गत सोमबार काठमाडौंको टुडिखेलमा भएको गौरा पर्वको कार्यक्रममा अतिथि बनेर गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली र देउवाविरुद्ध केही युवाहरुले नारा लगाएका थिए ।

नारा लगाउने युवाहरुविरुद्ध देउवा निकै आक्रामक देखिएका थिए । विरोध गर्नेहरुलाई उनले ‘लाज लाग्दैन ?’ ‘संस्कार नभएका बद्मासहरु’ भन्दै गाली गरेका थिए ।

देउवाको यही वाक्यांश उद्धृत गर्दै शाह र जोशीले सञ्जालमा प्रतिक्रिया दिएको देखिन्छ । शाहले देउवाले भनेको ‘लाज’को विषय जोडेका थिए भने जोशीले ‘संस्कार’को विषय जोडेर सञ्जालमा प्रतिप्रश्न गरेको देखिन्छ । यति लेखेकै भरमा प्रहरीले यी दुई युवालाई नियन्त्रणमा लियो । उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रण लिएर राति काज गराएर छाड्यो ।

‘उहाँहरुको बारेमा हामीलाई माथिबाट मौखिक उजुरी आएको थियो। त्यसपछि बुझेर शान्ति सुरक्षामा खलल नपुर्‍याउने भन्ने सर्तमा छाडिएको हो’ जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता तथा डीएसपी कविन्द्रसिंह बोहराले अनलाइनखबरसँग भने।

माथिबाट मौखिक उजुरी आएको बताए पनि को बाट के सम्बन्धमा उजुरी आएको भन्नेबारे उनले खुलाउन चाहेनन् ।

यी दुई युवालाई सोधपुछ गर्नुछ भन्दै गाडीमा हालेर जिप्रका लगिएको थियो । त्यहाँ लगेर फेसबुक हिस्ट्री चेक गर्नेदेखि राजनीतिक आस्थासम्मको विषयहरु प्रहरीले केरकार गरेको जोशीले बताए ।

‘धनगढीको बोराडाँडीबाट दिउँसो साढे ४ बजेतिर हामीलाई लगिएको थियो । केही समय थुनुवा कक्ष (हिरासत)मा पनि राखियो । त्यसको केही समयपछि स्वास्थ्य परीक्षण भनेर हत्कडी लगाएर सेती प्रादेशिक अस्पताल पुर्‍याइयो । अनि राति सवा ९ बजेतिर कागज गराएर आफन्तको जिम्मा लगाइएर छाडियो’ जोशीले अनलाइनखबरसँग भने ।

हिरासतबाट रिहा भएपछि शाह भन्छन्, ‘देशको डाडुपन्युँ समात्ने र चलाउने इच्छा भएकाले भद्र शैलीमा गरेका आलोचना सहन सक्नु पर्छ । पहिला–पहिला आलोचना गर्नेलाई ठूला नेताले पुरस्कृत गर्थे । तर अहिले त्यस्तो हुँदैन । नेताहरुलाई आलोचना भन्दा चाकडी मन पर्छ । खासमा हामी पुरस्कृत हुनुपर्ने हो । हामीले उहाँहरुलाई व्यक्तिगत होइन राजनीतिक चुनौती दिएका हौं । हाम्रो बोल्ने अधिकार कति सुरक्षित रहेछ त ?’

आफूहरु कुनै राजनीतिक दलमा आबद्ध नभएको तर विभिन्न विषयहरुमा आफ्नो धारणा राख्दै आएको, समाजसेवाका कामहरु गर्दै आएको र एउटा युवाको समूह बनाएर गलत प्रवृतिमाथि बोल्ने गरेको उनीहरुले बताएका छन् । हाम्रो लोकप्रियता बढ्दै गएपछि आफ्नो राजनीतिक धरातल कमजोर हुने देखेर अहिले नै दबाउने प्रयास भएको उनीहरुको आरोप छ ।

स्वतन्त्र नागरिकले शान्तिपूर्ण तरिकाले विरोध गर्दा समेत कुनै पार्टीगत रुपमा जोडेर दमन गर्ने चलन पनि हाबी हुन थालेको राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीको बुझाई छ । ‘छिटो छिटो सत्ता परिवर्तन भइरहेका छन् । सत्ताको पार्टी सडकमा पुगेपछि उसको विरोध सुरु हुन्छ ।

अनि सडकको पार्टी सत्ताको हिस्सेदार बनेपछि कारबाहीको डण्डा पनि चल्ने गरेको छ । तर जसले गरे पनि शान्तिपूर्ण विरोध गर्नु अपराध होइन । संवैधानिक हकको विषय हो । यसमा राज्य प्रतिशोधपूर्ण तरिकाले चल्ने गरेको देखिन्छ’ अन्सारीले अनलाइनखबरसँग भनिन् ।

नेताको आलोचना गर्दा कैलालीमा मात्रै होइन यतिखेर काठमाडौंमै तीन युवा हिरासतमा छन् । गत सोमबार टुडिखेलमा भएको गौरा पर्वको कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति देउवाविरुद्ध केही युवाहरुले नाराबाजी गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओली बोलिरहेकै बेला पर्वमा काठमाडौं महानगर प्रमुख बालेन शाह, एमाले नेता भीम रावलको पक्षमा हुटिङ भएको थियो भने ओलीका कारण देशले दुःख पाएको भन्दै नाराबाजी भएको थियो । उच्च स्रोतका अनुसार प्रतिपक्षी माओवादी केन्द्रका कार्यकर्ता समेत यसमा संलग्न देखिएका छन् ।

नाराबाजी गरे पनि त्यतिबेला प्रहरीले कसैलाई पक्राउ गरेन । घटनाको भोलिपल्ट ‘माथिबाट आदेश आएको’ भन्दै प्रहरी धमाधम धरपकडमा उत्रिएको थियो । बुधबार मात्रै कन्चनपुरका दीपक सिंह ठगुन्ना पक्राउ परेका थिए । यसअघि मंगलबार साँझ प्रहरीले सुर्खेतका बुद्धराम भनिने गोपिकृष्ण जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका एसपी नवराज अधिकारीले बताए । पक्राउ परेका मध्ये जैसी र बुढाविरुद्ध ९ दिन र ठगुन्ना विरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

जुन दिन प्रधानमन्त्री ओलीविरुद्ध टुँडिखेलमा नाराबाजी भयो, त्यही दिनको बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको भवन उद्घाटन कार्यक्रममा उनले नाराबाजी गर्नेविरुद्ध गम्भीर आरोप लगाउँदै टिप्पणी गरेका थिए ।

‘नेपाली समाजमा कारण चाहिँदैन विरोध गर्न, कारण चाहिँदै अपमानजनक अपशब्दहरु बोल्न, अशिष्ट शब्दहरुको प्रयोग गर्न । ती युवाहरु, ती व्यक्तित्वहरु यत्तिकै त्यसो गरिराखेका छैनन् । तिनीहरु पारिश्रमिक पचाइरहेका छन् । भत्ता पचाइरहेका छन्’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

अहिले शान्तिपूर्ण विरोध गर्नेहरुविरुद्ध सरकार निर्मम भएर उत्रन थालेको यी घटनाहरुले देखाएका छन् । वाक स्वतन्त्रता तथा शान्तिपूर्ण तवरले गर्न पाउने विरोध प्रदर्शन विरुद्ध सरकारको धरपकड सरासर गलत भएको संविधानविद् भीमार्जुन आचार्य बताउँछन् ।

‘यो सरासर शक्तिको दुरुपयोग हो । शान्तिपूवर्क भेला हुन पाउने र आफ्ना असहमति लेखेर बोलेर, नारा लगाएर प्रकट गर्न पाउने सबै भन्दा ठूलो संवैधानिक स्वतन्त्रता हो । सरकारले यसको सम्मान गर्नुपर्छ’ आचार्यले भने ।

अधिवक्ता ओमप्रकाश अर्याल अहिले भएको धरपकडलाई राज्यशक्तिको दुरुपयोग ठान्छन् । ‘अहिले राज्यको असहिष्णुता र प्रतिशोध देखिन्छ । यस्ता सामान्य अभिव्यक्तिलाई क्रिमिनलाइज गर्ने हो भने लाखौं व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ । यसमा राज्यले प्रतिशोध साँधेको देखिन्छ । यही कुरा आफ्ना पार्टीका मान्छेले बोल्दा जाहेज हुने तर सर्वसाधारणले बोल्दा आपराधिकरण हुने भन्ने हुँदैनमा यसमा प्रतिशोध देखिन्छ’ अर्यालले अनलाइनखबरसँग भने ।

सामान्य विषयहरु सञ्जालमा लेख्दा वा शान्तिपूर्ण विरोध गर्दा कारबाही गर्नुले मौलिक हक, संवैधानिक हक र नागरिक स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रता कुन्ठित पार्ने प्रयास सुरु भएको उनको बुझाइ छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?