+
+

वीर अस्पतालको आकस्मिक कक्ष पुनर्निर्माण गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते १९:१३

१३ भदौं, काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्ष पुनर्निर्माण (रेनोभेट) गरिने भएको छ ।

यसअघिका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्नका लागि सम्भावता अध्ययन गर्ने निर्देशन दिएका थिए । तर शहरी विकास भवनका इन्जिनियरले गरेको अध्ययनमा अहिले भइरहेको बेडसंख्या भन्दा बढाउन नसकिने र भुइँतल्लामा भएका उपकरण सार्न सम्भव नहुने राय दिइएको थियो ।

भुइँतल्लाको सिटी स्क्यान, एक्सरे, एमआरई रहेको स्थानमा सार्ने नमिल्ने भएकाले अब पुरानै भवनको आकस्मिक कक्षलाई पुनर्निर्माण गरी ठूलो ठाउँ बनाउन लागिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

‘सर्जिकल भवनमा ५० बेडभन्दा बढी सञ्चालन गर्न नसकिने भइयो । तर अहिलेको पुरानै ठाउँमा पुनर्निर्माण गर्दा ७५ बेडभन्दा राख्न सकिन्न’, डा. पौडेलले भने, ‘यस वर्षको बजेटको योजनामा छ । अब अगाडिदेखि पछाडिसम्मको भागलाई आकस्मिक कक्षमा विस्तार गरिनेछ ।’

शहरी विकास मन्त्रालयले भवनको नक्सा बनाइसकेको छ । मन्त्रालयले आउँदो हप्ता आकस्मिक कक्षलाई विस्तार गर्दा पर्ने लागतबारे जानकारी दिनेछ । त्यसपछि टेन्डर प्रक्रियामा जाने डा. पौडेलले बताए ।

पुनर्निर्माण भइरहँदा अस्पतालको सेवा प्रभावित हुन नदिन तीन खण्डमा बाँडेर काम हुनेछ ।

गम्भीर अवस्थामा पुगेका बिरामीका लागि छिटो र गुणस्तरीय सेवा दिन अस्पतालका आकस्मिक कक्षको आफ्नै मापदण्ड हुन्छ । तर गुणस्तरीय सेवा दिन बनेका वीरको आकस्मिक कक्ष भने अस्तव्यस्त अवस्था छ ।

आकस्मिक कक्षमा बिरामी आइपुगेको ६ घण्टाभित्र भर्ना गरिसक्नुपर्ने र भर्ना गर्न नसकेकालाई अन्य अस्पतालमा उचित सूचना दिएर रेफर गर्नुपर्ने नियम छ । तर यस्तो प्रक्रिया भने अपनाउन नसकिएको चिकित्सक बताउँछन् ।

पहेँलो र ग्रीन क्षेत्रमा भएका ८० प्रतिशत बिरामीलाई वार्डमा भर्ना गर्न २४ घण्टाभन्दा बढी कुर्नुपर्ने अवस्था छ । तर बाँकीले तीन–चार दिनसम्म पनि भर्नाका लागि आकस्मिक कक्षमै कुर्नुपर्छ । आकस्मिक कक्षमा एउटा बेडमा तीन जनासम्म बस्नुपर्ने अवस्था छ ।

वीरको आकस्मिक कक्षमा ४५ बेड छन् । तर दैनिक १५० जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन् । पुनर्निर्माण भइसकेपछि आकस्मिक कक्षमा बिरामीले अहिले भोग्नुपरेको सास्ती अन्त्य हुने डा. पौडेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?