+
+

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन सांसदहरू सहमत

पर्यटन मन्त्रालयका अनुसार नागरिक उड्डयन प्राधिकरण छुट्याउने प्रयास सन् २०१० देखि नै हुँदै आएको छ । प्राधिकरणलाई दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने गरी त्यही बेला विधेयकको मस्यौदा तयार भएको थियो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ भदौ १३ गते २०:२३

१३ भदौ, काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याएर सेवा प्रदायक र नियामक छुट्याउन सांसदहरू सहमत भएका छन् । यसका लागि सरकारले विधेयक ल्याउनुपर्ने उनीहरूको माग छ ।

प्रतिनिधिसभामा बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई सुरक्षाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिन्् ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरूले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याएपछि युरोपेली युनियन (ईयू) ले नेपालका वायुसेवा कम्पनीहरूलाई कालोसूचीबाट हटाउने आधार बन्ने विश्वास व्यक्त गरे ।

हाल नेपालको नियामकीय जिम्मेवारी पाएको संस्था नागरिक उड्ययन प्राधिकरणले नियामकीय जिम्मेवारीसँगै सेवा प्रदायकका काम पनि आफैं गरिरहेको छ ।

यहीँनेर सांसद गौतमको प्रश्न छ, ‘नियमन गर्ने संस्थाले सेवा प्रदायकको काम गर्दा स्वार्थको द्वन्द्व हुँदैन ? नियमन गर्ने संस्थाले विमानस्थल सञ्चालन गर्न मिल्छ ? एयर नेभिगेसन सेवा प्रदान गर्न मिल्छ, उड्डयन तालिम दिन मिल्छ ?’

उनका अनुसार नियमनकारी संस्थाले आफ्नो क्षेत्राधिकार भित्रको नियमन मात्र गर्ने हो, अरू काम गर्ने होइन । ‘अरू काम हुन्छ, अरू बिजनेस हुन्छ भने त्यहाँ स्वार्थ हुने भएकाले सेवा सही भएका छन् कि छैनन् हेर्नुपर्ने हो, उसैले सेवा दिने विषय स्वीकार गर्न सकिँदैन,’ उनले भनिन् ।

नेपाली वायुसेवा कम्पनीहरू सन् २०१३ देखि नै ईयूको कालोसूचीमा छन् । कालोसूचीमा परेका वायुसेवाले ईयुभित्रका देशका आकाशमा उडान अनुमति पाउँदैनन् ।

२०१३ मा नेपाल ईयूको कालोसूचीमा पर्नुको मुख्य कारण अन्तर्राष्ट्रिय नियमनकारी निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीमा नेपाल पर्नु थियो । यो विषय सम्बोधन नभएकाले हालसम्म पनि नेपाली वायुसेवा कम्पनी ईयूको कालोसूचीबाट हट्न सकेका छैनन् ।

आइकाओ अडिटले औंल्याएका उडान सुरक्षाका कमी कमजोरी, नेपालमा निरन्तर भएका हवाई दुर्घटना, आइकाओका मापदण्ड परिपालनाको प्रभावकारिताका सम्बन्धमा उठाएका प्रश्नहरूमा केही सुधार आएको छ ।

तथापि, अन्तर्राष्ट्रिय हवाई मापदण्ड पूर्णरूपमा पालना नभएका कारण नेपाल ईयूको कालोसूचीमा छ भने आईकाओको मूल्यांकनमा पनि खरो उत्रिन नसकेको बताउँछन् नेपाली कांग्रेसका सांसद उदयशमशेर जबरा ।

‘जबसम्म रेगुलेटर र सर्भिस प्रोभाइडर हामीले छुट्याउन सक्दैनौं । तबसम्म ईयूको कालोसूचीमा रहिरहने खतरा छ,’ उनले थपे, ‘जबसम्म स्वार्थको द्वन्द्व प्राधिकरणमा हुन्छ, जबसम्म सर्भिस प्रोभाइडरलाई ९३ प्रतिशत र रेगुलेटरलाई ७ प्रतिशत बजेट छुट्याइन्छ तबसम्म हाम्रो एयर सेफ्टी हुँदैन ।’

एकातिर ईयूको कालोसूचीमा निरन्तर समावेश भइरहनु, अर्कातिर निरन्तर हवाई दुर्घटना हुनु कुनै संयोग नभएर नेपालको हवाई क्षेत्रको ठूलो असफलता र जिम्मेवार निकायको अकर्मण्यता भएको सांसद जबराको भनाइ छ ।

२०१३ देखि नै नेपालको हवाई क्षेत्र असुरक्षित छ भनेर हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरूले भनिरहँदा २०२४ सम्म आइपुग्दा पनि नेपालको हवाई क्षेत्र सुरक्षित बनाउने प्रयत्न पर्याप्त हुन नसक्दा समस्या भइराखेको उनको बुझाइ छ ।

यसका लागि विधेयक तयार भएको र स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेर कानुनी रायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेको आफ्नो जानकारीमा रहेको उनले बताए । प्रक्रिया पुर्‍याएर चाँडोभन्दा चाँडो विधेयक संसदमा पेस गर्न उनको आग्रह छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र सांसद हितबहादुर तामाङले विश्वभरि नै हवाई यातायात अन्य यातायातको तुलनामा सुरक्षित मानिने बताए ।

तर, नेपालका सन्दर्भमा तुलनात्मक रूपमा सुरक्षित भनिएको हवाई क्षेत्रमा हरेक वर्ष एउटा न एउटा जहाज दुर्घटना भइरहनुले अन्तर्राष्ट्रिय समुदायको विश्वास दिलाउन नसकिएको बताए ।

‘हवाई दुर्घटना हुनुका थुप्रै कारण छन्, ती कारण सरकारलाई थाहा छ तर थाहा भए पनि समस्या समाधान गर्न सरकार गम्भीर भएको देखिँदैन,’ उनले भने ।

सेवा प्रदायक र नियामक एउटै भएको कारण समेत समस्या भएको भन्ने शंका भएकाले यसलाई सम्बोधन गर्ने गरी जति सक्दो छिटो सरकारले कानुन बनाउनुपर्नेमा उनको जोड थियो । सरकारको यस्तो पहललाई प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्णतः सहयोग हुने उनले बताए ।

सांसद् सञ्जयकुमार गौतमले प्राधिकरण टुक्र्याएर सेवा प्रदायक र नियामक छुट्याउने प्रयास यस अगाडि समेत भएको स्मरण गरे । तर, निर्णय हुन नसक्दा समस्या रहेको बताए ।

‘राष्ट्रिय सभाबाट नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक र नियामक छुट्याउने गरी आएको विधेयक पास पनि भयो, तर त्यो अलमलियो । प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय भएर अलग–अलग बनाउन नसक्दा सारा समस्या भएको हो,’ उनले भने ।

सरकारले १ असोज २०७६ मा नेपाल हवाईसेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो । दुवै विधेयक १८ साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएका थिए ।

तर, प्रतिनिधिसभामा अगाडि बढ्न नसक्दा प्रतिनिधिसभाको अघिल्लो कार्यकाल असोज २०७९ मा सकिएसँगै दुवै विधेयक निष्क्रिय हुन पुगेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले फेरि विधेयक ल्याउने तयारी गरेको छ । मन्त्रालयबाट तयार भएको विधेयक अर्थ मन्त्रालयबाट स्वीकृति लिएर कानुनी रायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेको छ ।

तर, फेरि पनि विधेयक छिटो अगाडि बढ्नेमा संशय रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । यही बेला प्रतिनिधिसभामा भएको छलफलमा सांसदहरूले छिटो विधेयक ल्याउन आग्रह गरेका हुन् ।

मन्त्रालयका अनुसार नागरिक उड्डयन प्राधिकरण छुट्याउने प्रयास सन् २०१० देखि नै हुँदै आएको छ । प्राधिकरणलाई दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने गरी २०१० मा विधेयकको मस्यौदा तयार भएको थियो । त्यसबेलादेखि यसमाथि छलफल र बहस हुँदै आए पनि अहिलेसम्म विधेयकले कानुनको रूप लिन सकेको छैन ।

अब चाहिँ विधेयकले कानुनका रूपमा लिने विश्वासमा रहेको बताउँछन् पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे ।

बिहीबारको प्रतिनिधिसभा छलफलले विधेयक अगाडि बढाउन मन्त्रालयलाई धेरै सहयोग गर्ने बताए । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै यो विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

पछिल्लो समय भएका हवाई दुर्घटनाले समेत हवाई सुरक्षा समाधानका लागि सरकारमाथि दबाब बढाएको र सरकार गम्भीर भएर समाधानको खोजीमा केन्द्रित रहेको सुनाए ।

नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको र यसको आवश्यक प्रचार÷प्रसार गर्दै पर्यटन विकास गर्न समेत नेपालको हवाई क्षेत्र सुरक्षित हुन आवश्यक रहेको बताए ।

उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा अलग गराउनुपर्छ भनेर एकमत देखिँदा आफू उत्साहित भएको पनि मन्त्री पाण्डेले बताए ।

‘प्राधिकरणका दुइटा निकाय अलग–अलग हुनुपर्छ भन्नेमा सबैको एकमत हिजो पनि थियो र आज अझ ऐक्यबद्धता प्रकट भएको छ । सेवा प्रदायक र नियामक निकाय एउटै हुने कुराले जटिलता छ भन्ने देखियो,’ मन्त्री पाण्डेले भने ।

यससँग सम्बन्धित दुई विधेयक (उडान ऐन र हवाई यातायात सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयक) ल्याउने तयारीमा रहेको मन्त्री पाण्डेले जानकारी दिए । उनका अनुसार हवाई उडान जाँच ऐन ल्याएर स्थायी प्रकृतिको संस्था स्थापना गर्ने तयारीमा सरकार छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?