+

महिला फुटबल लिगअघि सुदूरपश्चिममा खेलाडीसँग झमेला

२०८१ भदौ  १३ गते २०:०४ २०८१ भदौ १३ गते २०:०४
महिला फुटबल लिगअघि सुदूरपश्चिममा खेलाडीसँग झमेला

१३ भदौ, काठमाडौं । १६ भदौमा काठमाडौंमा सुरु हुने महिला फुटबल लिगको संघारमा सुदूरपश्चिम टिममा चरम विवाद देखिएको छ ।

काठमाडौं आउनुपर्ने अघिल्लो दिन खेलाडीहरुले प्रशिक्षक परिवर्तन गर्न नहुने र सबै खेलाडी काठमाडौं जान पाउनुपर्ने माग गरेपछि विवाद बढेको हो ।

सुदूरपश्चिमको महिला फुटबल टिमका २६ खेलाडीलाई धनगढीको अल स्टार फुटबल एकेडेमीमा ९ साउनदेखि सुरज तामाङले प्रशिक्षण दिइरहेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँग बी लाइसेन्स हुनुपर्ने नियम बनाएपछि सुदूरपश्चिम फुटबल संघले काठमाडौंबाट ९ भदौमा दिनेश लामा योञ्जनलाई प्रशिक्षक लगेको छ ।

प्रशिक्षक परिवर्तन र सुदूरपश्चिम फुटबल संघले पहिलो चरणमा १८ जनालाई मात्र काठमाडौं लैजाने भनेपछि खेलाडीहरु रिसाएका हुन् ।

‘एन्फाले कम्तीमा बी लाइसेन्स कोच चाहियो भनेको छ । हाम्रो खेलाडीलाई सिकाइरहेका सुरज तामाङसँग बी लाइसेन्स छैन । खेलाडीहरुले व्यवस्थापकीय कुरा निकालेर झमेला गरिरहेका छन्’, संघका अध्यक्ष दिनेश श्रेष्ठले भने ।

खेलाडीहरु भने अन्तिम समयम आएर प्रशिक्षक परिवर्तन गरिएको, सबैजनालाई काठमाडौं लैजानुपर्नेमा फेरि छनोट गर्न खोजेको र खेलाडीलाई चाहिने सामग्री पनि नदिएको बताउँछन् ।

कप्तान अञ्जली चन्दले भनिन्, ‘हामीलाई किट, बुट र किपरलाई चाहिने किट दिनुपर्‍यो, भनेको हो । भोलि (शुक्रबार) काठमाडौं जाने भन्ने छ । आज आएर हाम्रो फेरि सेलेक्सन भनेर बोलाउनुभएको छ । अन्तिम समयमा प्रशिक्षक परिवर्तन भएको छ ।’

नयाँ प्रशिक्षकले आफूहरुलाई नचिन्ने हुनाले उनीसँग प्रशिक्षण गर्न गाह्रो हुने कप्तान अञ्जलीले बताइन् । ‘काठमाडौं हिँड्ने केही दिनअघि मात्रै नयाँ प्रशिक्षक ल्याएर हामीलाई उहाँले कसरी चिन्नु हुन्छ ?’ उनले प्रश्न गरिन् ।

खेलाडीले पुरानै प्रशिक्षक र सबै २६ जना खेलाडी नै काठमाडौं जान पाउनुपर्ने माग गरेका छन् ।

सुदूरपश्चिम फुटबल संघका अध्यक्ष श्रेष्ठ एन्फा कार्यसमिति बैठकका लागि काठमाडौंमा रहेका बेला विवाद भएपछि उनी बिहीबार बैठक छाडेर काठमाडौं फर्किएका छन् ।

उपाध्यक्ष खेमबहादुर रावतले खेलाडीहरुमा अनुशासन नदेखिएको बताए । ‘अहिले हाम्रा महिला खेलाडी पूरै बहकिएका छन् । उनीहरु खेल्नमा भन्दा पनि हामीलाई व्यवस्थाकीय प्रश्न गर्नमा व्यस्त छन्’, उपाध्यक्ष रावतले भने ।

उनका अनुसार संयोजक राघवेन्द्र कार्कीको एकेडेमीमा खेलाडीले एक महिनादेखि प्रशिक्षण गरिरहेका छन् । कार्की र महिला फुटबलको संयोजकसमेत रहेका उपाध्यक्ष रावतले व्यवस्थापकीय पक्ष सम्हालिरहेका छन् ।

उनी भन्छन्, ‘खेलाडीले प्रश्न अध्यक्षलाई उठाउनुहुन्छ । उहाँहरुको गुनासो सुन्न भनेर नै महिला संयोजक राखेको हो । उहाँहरु हामीलाई अहिलेसम्म कहाँ थियौ भन्ने प्रश्न गर्नुहुन्छ ।’

कप्तान अञ्जलीले भने खेलाडीका लागि पूरा गर्नुपर्ने सामान्य कुरा पनि पूरा नगरेको उल्टै अध्यक्षले धम्क्याउन खोजेको बताइन् ।

‘हामीलाई अध्यक्षले धम्काउने लवज प्रयोग गर्नुभयो । हामी छनोट खेलिसकेको खेलाडीमध्ये किन छनोट गराउन लागेको अन्य प्रदेशको त हामीले पुनः छनोट गर्न लागेको थाहा पाएका छैनौं’, उनले भनिन् ।

फुटबल महिला फुटबल लिग सुदूरपश्चिम
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय