+
+

प्रहरी प्रमुखले फस्दैछन् भनेर को डीआईजीलाई संकेत गरेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १३ गते २०:१६

१३ भदौ, काठमाडौं। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा ‘एक जना डीआईजी सा’ब फस्न लागेको’ सुनाए ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कठोर बन्नुपर्ने परिस्थिति आएको जिकिर गर्दै डीआईजी कारबाही गर्न लागेको संकेत गरेका थिए ।

‘तपाईंहरुले तपाईंहरुले बुझ्नुपर्छ, तपाईंहरुको कागज चेक गर्दैछौं’, उनले भनेका छन्, ‘म म मात्र भन्नुस्, तपाईंको परिवार, तपाईंहरुको खाता, तपाईंहरुको साथी समेतको खाता चेक गर्दैछौं ।’

अनियमितताविरुद्ध आफू निर्मम रुपमा प्रस्तुत हुने जिकर गर्दै उनले यस्तो बताएका थिए । महानिरीक्षकको यो अभिव्यक्तिप्रति प्रहरी संगठनभित्र बहस भइरहेको छ । कतिपयले महानिरीक्षक कुँवरले अनियमितता नहोस् भन्ने हिसाबले अभिव्यक्ति दिएको तर्क गरेका छन् भने कतिपयले मुद्दा दर्ता नभई कसैको बैंक खाता जाँच गर्नै नमिल्ने तर्क गरेका छन् ।

तर, प्रहरी प्रधान कार्यालय, स्रोतका अनुसार, आईजीपी कुँवरले मधेश प्रदेश प्रहरीका प्रमुख डीआईजी यज्ञविनोद पोखरेलमाथि छानबिन भइरहेको सन्दर्भ कार्यक्रममा जोडेका हुन् ।

‘प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको एक उजुरीमाथि जाँच गर्ने क्रममा उहाँबारे पनि अनुसन्धान भएको थियो’, प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसक्रममा केही विषयमा डीआईजी सा’बको कैफियत देखिएको छ ।’ त्यही विषयलाई आईजीपी कुँवरले रुपन्देहीमा कारबाही हुन लागेको संकेत गरेको प्रहरी स्रोतको भनाइ छ ।

तर, प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने डीआईजी कारबाहीमा पर्न लागेको विषयमा आफूलाई जानकारी नभएको अनलाइनखबरसँग बताए । ‘प्रहरीको अनुशासनको विषयमा आन्तरिक छानबिन भइरहेकै हुन्छ, त्यसका लागि सुरपरीवेक्षण तथा अनुगमन शाखा नै छ’, उनले भने, ‘त्यहाँ भइरहेको कुरा म कहाँ आउँदैन ।’

कार्यक्रममा बोल्दै आईजीपी कुँवरले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुले पनि अनुचित लाभ लिन विभिन्न पोस्टिङ खोज्ने गरेको समेत बताएका थिए ।

‘धेरै ठाउँबाट तानेका पनि छौं, अहिले पनि फेरि भन्छु ११०० इन्स्पेक्टर छन्, सबै इन्स्पेक्टरहरु तराईको ट्राफिकमा जान खोज्छन्’, उनले प्रश्न गरेका छन्, ‘अझ लुम्बिनी र मधेशको सीमा चौकी जान खोज्छन् किन ?’

त्यस्तो गलत गतिविधिमा संलग्न पाइए प्रहरी प्रधान कार्यालय निर्मम बन्ने भएकाले सचेत रहन उनले सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?