+
+

युएईमा बिते कृष्ण, शव ल्याउन आफन्तले मागे सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते ७:१३

१४ भदौ, काठमाडौं । युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको शव ल्याउन आर्थिक अभावका कारण समस्या भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ घर भएका पाण्डे दुई वर्षअघि भिजिट भिसामा युएई गएका थिए । उनी गत भदौ ९ गते आबुधाबी शहरमा मृत फेला परेका थिए ।

युएईको प्रहरीले सडक छेउँ फेला परेको उनको शव आबुधाबीको अस्पतालमा बुझाएको थियो । उनको मृत्युको कारण भने खुलेको छैन ।

अहिले विदेशबाट शव फिर्ता ल्याउन एक लाख रुपैयाँ आवश्यक परेको मृतकका दाइ नाता पर्ने शशिधर पाण्डे बताए । तर परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकाले पैसा जुटाउन समस्या भएको उनको भनाइ छ । ‘परिवारको अवस्था नाजुक छ’, शशिधर भन्छन्, ‘०७२ सालको भूकम्पमा घर भत्किएपछि परिवार भारतमा मजदुरी गरेर बसिरहेको छ ।’ उनका अनुसार मृतक पाण्डेका बुबा–आमा र श्रीमती भारतमा छन् ।

मृतकका दाइ शशिधरका अनुसार शुरुमा शव फिर्ता ल्याउन दुई लाख हाराहारी लाग्ने भनिएको थियो । तर कृष्ण कार्यरत रेष्टुरेष्टले एक लाख रुपैयाँ सहयोग गरिदिने भएपछि बाँकी पैसा परिवारले व्यहोर्नुपर्ने भएको उनले बताए । ‘परिवारको अवस्था यति नाजुक छ कि, उहाँहरु नेपाल समेत आउन सक्ने अवस्था छैन’, उनले भने, ‘यस्तोमा एक लाख बुझाएर शव झिकाउनुपर्ने छ ।’

अहिले आफूहरु शव ल्याउन आर्थिक संकलन गर्न लागेको उनले बताए । यसका लागि उनले आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

शव झिकाउन भनेर युएईस्थित नेपाली दूतावासलाई निवेदन दिइएको छ । शव झिकाउन आवश्यक पैसा जुटेमा आउने हप्ताभित्र शव नेपाल ल्याउने तयारी छ ।

श्रम स्वीकृति लिएर विदेश पुगेर मृत्यु भएका श्रमिकको हकमा सरकारले शव झिकाउनेदेखि मृतक परिवारलाई क्षतिपूर्ति समेत दिने गरेको छ । तर श्रम स्वीकृति विना भिजिट भिसामा विदेश गएर मृत्यु भएकाले कृष्णप्रसादको शव झिकाउन लाग्ने खर्च उनकै परिवारले ब्यहोर्नुपर्ने भएको छ । यस्तै मृतकको परिवारले सरकारबाट पाउने क्षतिपूर्ति समेत नपाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?