+
+

६ उम्मेदवार अन्तर्वार्ताबाट वञ्चित भएपछि मधेश लोक सेवा आयोगविरुद्ध रिट

आयोगको लापरवाहीका कारण आफूहरु अन्तर्वार्ताबाट बन्चित भएको भन्दै पुनः अन्तर्वार्ता दिन पाउनुपर्ने माग परीक्षार्थीको छ । तर आयोगले उनीहरुको माग अस्वीकार गरेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ भदौ १४ गते १३:३४

१४ भदौ, जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगमाथि लिखित परीक्षामा पास भएका ६ जना उम्मेदवारलाई अन्तर्वार्ता परीक्षाबाट वञ्चित गराएको आरोप लागेको छ । निर्धारित समयमा उपस्थित नभएको भन्दै ६ जना उम्मेदवारको अन्तर्वार्ता नलिएपछि आयोगविरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।

आयोगको विज्ञापन नं. १२७/२०७९–०८० कृषि सेवा, मत्स्य समूह, सहायक पाँचौ तह तथा विज्ञापन नं. ११६– १२०/२०७९–०८० इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी/इरिगेसन/बी एण्ड आर उपसमूह सहायक पाँचौ तहको लिखित परीक्षा पास भएका निरजकुमार मण्डल, सुदिपकुमार यादव, उमेशकुमार साह, वसन्तकुमार यादव, मुकेशकुमार दास र रोशनकुमार दास अन्तर्वार्ताबाट वञ्चित भएका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका ९ लोचनाका उम्मेदवार उमेश कुमार साहले आयोगको वेबसाइट डाउन भएकाले त्यहाँ राखिएको सूचना पढ्न नपाएको र अन्तर्वार्ताको केही घण्टाअघि मात्र आयोगले फोन गरेर जानकारी गराएका कारण समयमा उपस्थित हुन नसकेको जिकिर गरेका छन् ।

लिखित परीक्षामा पास भएका उम्मेदवारहरुको अन्तर्वार्ता २०८० साल फागुन २० गते बिहान ८ बजे तोकिएको थियो । उम्मेदवार साह भने बिरामीको कारण देखाउँदै १० बजेमात्र आयोगको कार्यालय पुगेका थिए ।

आयोगका एक कर्मचारीहरुले उनलाई समय सकिएको जानकारी गराए । साहका अनुसार ती कर्मचारीले एक सातापछि फेरि अन्तवार्ता हुने भन्दै एक हजार रुपैयाँको भौचरसहित छुट अन्तर्वार्ताका लागि निवेदन दिन भने । त्यसपछि आफूसहित ६ जनाले छुट अन्तर्वार्ताका लागि निवेदन दिएको साहको भनाइ छ ।

उनीहरुको अन्तर्वार्ता हुने भनिएकै दिन आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव उमेर हदका कारण पदमुक्त भए । मधेश सरकारले समयमा आयोगका अध्यक्ष नियुक्त नगर्दा आयोगका परीक्षा लगायतका कार्यक्रम ५ महिनासम्म अन्योल रह्यो । ११ साउनमा मुख्यमन्त्री सतिशकुमार सिंहले आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गरेपछि कामकारबाही अघि बढ्यो ।

अब अन्तर्वार्ताका लागि बोलाइन्छ भन्ने आशमा रहेका परीक्षार्थीलाई आयोगको भदौ ९ गते जारी गरेको सूचनाले निराश बनायो । त्यो सूचनामा लेखिएको छ, ‘…प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४३ को उपदफा २ तथा प्रदेश लोक सेवा आयोग नियमावलिको नियम २८ को उपनियम २ ले उक्त सम्बन्धमा गरेको व्यवस्था अनुरुप रितपूर्वक प्राप्त भएका नदेखिएकाले निजहरुको माग बमोजिम छुट अन्तर्वार्ता लिन नसकिने व्यहोरा सूचित गरिन्छ ।’

आयोगको यो सूचनापछि महोत्तरीको जलेश्वर नगरपालिका ९ लोचनाका उम्मेदवार उमेश कुमार साहले उच्च अदालतमा रिट दायर गरेका छन् ।

आयोगको लापरवाहीका कारण आफूहरु अन्तर्वार्ताबाट बन्चित भएको भन्दै पुनः अन्तर्वार्ता दिन पाउनुपर्ने माग परीक्षार्थीको छ । तर आयोगले उनीहरुको माग अस्वीकार गरेको छ ।

आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले अन्तर्वार्ताबाट वञ्चित हुने कारण  निवेदनमा रितपूर्वक नदेखिँदा ती उम्मेदवारको अब अन्तर्वार्ता आयोगले नलिने बताए । ‘निवेदनमा समयमा उपस्थित हुन नसकेको उचित कारण उल्लेख छैन । त्यसकारण आयोगले ती ६ छुट उम्मेदवारको परीक्षा नलिने निर्णय गरेको हो,’ प्रवक्ता झाले भने, ‘उचित कारणविना निवेदनकै आधारमा जहिले पनि छुट उम्मेदवारको अन्तवार्ता लिँदा गलत नजिर बस्न सक्छ ।’

उनले परीक्षार्थीहरुले भनेको जस्तो आयोगको वेबसाइट कहिल्यै पनि डाउन नभएको दावीसमेत गरे ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?