+
+

पोखरा पर्यटन परिषदको अध्यक्षमा पहारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते ११:०७

१४ भदौ, पोखरा । पोखरेली पर्यटन व्यवसायी संस्थाहरुको छाता संगठन संस्था पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी निर्वाचित भएका छन् ।

परिषदको २४ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट पहारीको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।

परिषदमा पहारी गाउँ पर्यटन प्रवद्र्धन (भिटोफ) बाट प्रतिनिधित्व गर्छन् । महासचिवमा नेपाल पर्वतारोहण संघ गण्डकीका पूर्वअध्यक्ष जीवन सापकोटा निर्वाचित भए ।

परिषदको प्रथम उपाध्यक्षमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका पूर्वअध्यक्ष हरि भुजेल, द्वितीय उपाध्यक्षमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङ छन् ।

सचिवमा ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराका पूर्वअध्यक्ष नारायण सुवेदी, कोषाध्यक्षमा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का पूर्वअध्यक्ष निमबहादुर मगर र सहकोषाध्यक्षमा नेपाल टुरिजम पर्यटक भेहिकल एसोसिएसन (एनटीभीए) गण्डकीका पूर्वअध्यक्ष बाबुराम पाण्डे निर्वाचित भएका छन् ।

सदस्यहरुमा गण्डकीलाई कार्यक्षेत्र बनाएर पोखरामा रहेका १४ वटा संस्थाका प्रतिनिधिहरु रहने छन् । परिषदले पोखरामा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरुको नेतृत्व गर्दै समन्वय, पर्यटन नीति निर्माणमा दबाबमूलक काम गर्दै आएको छ ।

परिषदमा निर्वाचित अध्यक्ष पहारीले समग्र पर्यटन क्षेत्रलाई अझै व्यवस्थित गराउनेदेखि विभिन्न प्रवद्र्धनका कार्यक्रममा जोड दिने बताए ।

‘परिषदमा आवद्ध संस्थाहरुको समन्वय गर्नेदेखि पर्यटन क्षेत्रलाई अझै व्यवस्थित बनाउँदै व्यवसायी र राज्यको पुल बनेर काम गर्ने छौं’, अध्यक्ष पहारीले भने, ‘नाकाबन्दी, कोरोना कहर र देशको आर्थिक मन्दीपछि विस्तारै लय समातिरहेको पर्यटन क्षेत्रलाई उकास्न र पर्यटनमैत्री नीति निर्माण गर्न हामीले भूमिका निर्वाह गर्ने छौं ।’

निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले परिषदले समग्र पर्यटन क्षेत्रकै नेतृत्व गर्दै समस्यामा परेका व्यवसायीका पक्षमा उभिने, राज्य र व्यवसायीका बीच समन्वय गर्ने र आवद्ध विभिन्न संस्थाहरुको समन्वयमा पर्यटन प्रवद्र्धनका काम गर्दै आइरहेको बताए ।

पोखरा देशकै पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा अब यो क्षेत्रलाई अझै व्यवस्थित बनाउने, व्यवसायीका लगानी सुरक्षित गर्दै अझै लगानीका लागि आकर्षित गर्न परिषदले भूमिका खेल्ने उनको भनाइ छ ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रक्रिया अगाडि बढेकाले व्यवसायीलाई अझै उत्साहित बनाएको बताउँदै श्रेष्ठले पोखरा जोड्ने मुख्य राजमार्गहरु निर्माण सकिएसँगै अझै गतिविधि बढ्ने श्रेष्ठको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?