+

फ्रोजन सोल्डर कस्तो समस्या हो ?

२०८१ भदौ  १४ गते १३:३५ २०८१ भदौ १४ गते १३:३५
फ्रोजन सोल्डर कस्तो समस्या हो ?

काँधमा कडा दुखाइ र कडापनको समस्यालाई फ्रोजन सोल्डर भनिन्छ । छोटकरीमा काँधको जोर्नी जाम भएर यताउति चलाउन नसकिने अवस्था हो । यो समस्यामा काँधको जोर्नीमा दुखाइ हुनाले हात हल्लाउन तथा हातले आफ्नो दैनिक कामकाज गर्न धेरै अप्ठ्यारो हुन्छ ।

पहिले–पहिले यो समस्या खेलाडीलाई या कुनै कारण चोटपटक लाग्नाले हुन्थ्यो । तर अचेल यो आम समस्या भएको छ । हेर्दा अत्यन्तै सामान्य लाग्ने यो समस्या अति नै पीडादायी हुन्छ ।

जसलाई फ्रोजन सोल्डरको समस्या हुन्छ, उनीहरूलाई काँधसँग सम्बन्धित सबै गाह्रो हुन्छ । यस्तो समस्या भएका व्यक्तिलाई कपाल कोर्ने, दाँत माझ्ने, गाडी चलाउने र नुहाउने जस्ता दैनिक काम गर्न पनि गाह्रो हुन्छ ।

फ्रोजन सोल्डरको कारण

फ्रोजन सोल्डरको कारण यही नै हो भन्ने हुँदैन । तर काँधमा कुनै चोटपटक लाग्नु, कुनै कारणवश काँधको नसा च्यापिनु, मोटोपन, गलत ढङ्गले सुत्नु, लामो समयसम्म एउटै आसनमा बस्नु, कुनै व्यायाम वा शारीरिक गतिविधि नगर्नु, अनियन्त्रित थाइराइड र मधुमेह लगायत कारणले यो समस्या देखा पर्छ । कम्प्युटरमा लेखन जस्ता लामो समयसम्म निहुरेर गरिने कामका कारण कुममा असर पर्छ । यो असर हातसम्म पुग्ने गरेको पाइएको छ ।

फ्रोजन सोल्डरको लक्षण र स्टेज

फ्रोजन सोल्डर हुँदा काँधको हड्डीको जोर्नी केही कारणवश सुन्निन्छ । काँधको जोर्नीमा अररोपन आउनाले उसको लचकता कम हुन जान्छ । जसले गर्दा हात हल्लाउँदा दुख्छ ।

काँधको दायाँ-बायाँ जतापट्टि सुन्निएको हुन्छ त्यसतर्फ दुखाइ बढी हुन्छ । काँधबाट सुरु भएको दुखाइ हातको औंलासम्म पुग्छ । जसले गर्दा काँध तथा हात अत्यधिक दुख्नु, काँध, कुइनो तथा हात सुन्निनु, हातमा करेन्ट लागेको जस्तो झट्का लाग्नु तथा हातमा कम्पन हुनु जस्तो समस्या देखिन्छ । जब दुखाइ गर्धनतिर हुन्छ, तब गर्धन र टाउको हल्लाउन असुविधा र पीडायुक्त हुन्छ । यही समस्याले टाउको भारी समेत हुन्छ ।

फ्रिजिङ स्टेज : यस स्टेजमा बिरामीलाई कुनै पनि किसिमको हलचलले काँधमा दुखाइ हुन थाल्छ । काँध, पिठ्यूँ र हातको काम गर्दा दुखाइ बढ्न सक्छ । यदि यो अवस्था दुईदेखि नौ महिनासम्म जारी रह्यो भने यसलाई फ्रिजिङ अवस्था भनिन्छ ।

फ्रोजन स्टेज : फ्रिजिङ स्टेजको अर्को चरणलाई फ्रोजन स्टेज भनिन्छ । यो अवस्थामा दुखाइ बढ्नुका साथै तर काँध जाम हुन्छन् र तिनीहरूलाई सार्न र चलाउन गाह्रो हुन्छ । यस प्रकारको अवस्था ४ देखि ६ महिना सम्म रहन सक्छ ।

थविङ स्टेज : तेस्रो स्टेजमा फ्रोजन सोल्डरको निको हुने चरण सुरु हुन्छ । यसको मतलब यो अवधिमा काँधमा क्रमिक सुधार देखिन्छ । हातको चालढाल पनि सुरु हुन्छ । कुम चलाउन पुनः सजिलो हुने, दुखाइ पनि कम हुँदै जाने तर बेलाबेलामा दुखिरहने हुन्छ । जुन ५ देखि २४ महिनासम्म रहन सक्छ ।

उपचार

सबैभन्दा पहिले, काँधमा कठोरता छ भने यसलाई बेवास्ता गर्नु हुँदैन । फिजियोथेरापिस्ट वा अर्थोपेडिक चिकित्सकलाई भेट्नुपर्छ । चिकित्सकले समस्याको प्रारम्भिक परीक्षण गर्छन् । फ्रोजन सोल्डर भएको ठाउँमा थिचेर दुखाइको बिन्दुहरू फेला पार्छन् । त्यसपछि आवश्यकता अनुसार रगत परीक्षण, एक्स-रे, एमआरआई आदि परीक्षण पनि गर्न सक्छन् ।

यदि दुखाइ प्रारम्भिक चरणमा छ भने डाक्टरले दुखाइको औषधिको प्रयोग गरेर दुखाइ व्यवस्थापन गर्ने प्रयास गर्छन् ।

हल्का दुखाइको अवस्थामा, फिजियोथेरापिस्ट र चिकित्सकले केही विशेष प्रकारका स्ट्रेचिङ र व्यायाम गर्न सल्लाह दिन्छन् । यस्तो व्यायामले यो समस्यालाई कम गर्छ र यो व्यायाम घरमै बसेर गर्न सकिन्छ ।

यदि दुखाइ धेरै छ र हात चलाउन समस्या भइरहेको छ भने चिकित्सकले राम्रो फिजियोथेरापिस्टसँग परामर्श लिन सल्लाह दिन्छन् । फिजियोथेरापीको मदतले दुखाइ निको हुनसक्छ । तर केही समय भने लाग्न सक्छ ।

तातो र चिसो थेरापी गरेर पनि यो समस्याको उपचार गरिन्छ । चोटको कारण यो दुखाइ अनुभव भएको हो भने चिसो थेरापीको सल्लाह दिइन्छ । यदि यो दुखाइ लामो समयसम्म रह्यो भने, तातो थेरापी गर्ने सल्लाह दिइन्छ । जाँच गरेपछि मात्र कस्तो प्रकारको थेरापी लिने भन्ने कुरा तय गर्न सकिन्छ ।

गम्भीर दुखाइको अवस्थामा, चिकित्सकले लोकल एनेस्थेसिया दिन्छन् र कोर्टिकोस्टेरोइड इन्जेक्सन सिधै काँधमा दिइन्छ, जसले दुखाइबाट राहत दिन्छ । समस्या एकदमै गम्भीर छ शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्छ ।

ध्यान दिनुपर्ने कुरा

दुखाइलाई बेवास्ता गर्नु हुँदैन । दुखाइ बढ्दै गयो भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ । यदि दुखाइ गम्भीर छ भने आफ्नो टाउको जस्तै उचाइमा आफ्नो हात राखेर सुत्नुपर्छ । एक वा दुईवटा कुसन पाखुरामुनि राखेर सुत्दा आराम मिल्छ ।

दुखाइ कम गर्न योग अभ्यास र स्ट्रेचिङ एक्सरसाइज गर्नुपर्छ । तर भारी काम गर्नु हुँदैन । फ्रोजन सोल्डरको समस्या भएमा अत्यधिक शारीरिक गतिविधि गर्नु हुँदैन । हल्का गतिविधिहरू मात्र गर्नुपर्छ र शरीरलाई आराम दिनुपर्छ ।

काँध दुख्ने समस्या फ्रोजन सोल्डर
लेखक
सपना कोजु, फिजियोथेरापिस्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय