+

महिनावारीको बेला स्तन दुख्नु सामान्य हो ?

२०८१ भदौ  १४ गते १४:१३ २०८१ भदौ १४ गते १४:१३
महिनावारीको बेला स्तन दुख्नु सामान्य हो ?

महिनावारीको समयमा शरीरमा धेरै परिवर्तन आउन थाल्छ । कसैलाई पेट दुख्ने, कसैलाई शरीर दुख्ने, कसैलाई खान गाह्रो हुने भने कसैलाई स्तन दुख्ने हुन्छ । एक अनुसन्धान अनुसार करिब ७० प्रतिशत महिलाले महिनावारीको समयमा स्तन दुख्ने गुनासो गर्छन् ।

महिनावारीपूर्व स्तन सुन्निने र दुखाइ हुने समस्यालाई मेडिकल भाषामा साइक्लिकल मास्टाल्जिया भनिन्छ । यसमा महिनावारीपूर्व स्तनमा पीडा र गाँठो जस्तो महसुस हुन्छ र रक्तस्राव सुरु हुन थालेपछि यो समस्या आफैं समाधान पनि हुन्छ ।

महिनावारीको समयमा स्तनमा हुने दुखाइ बुझ्न त्यसमा हुने शारीरिक प्रक्रियाहरू बुझ्न आवश्यक हुन्छ । महिनावारीको बेला हर्मोनल उतारचढाव हुन्छ । विशेषगरी ईस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनले महिनावारीको समयमा शरीरमा विभिन्न परिवर्तन ल्याउँछ । यी हर्मोनहरूले स्तनको तन्तुलाई पनि असर गर्छ, जसले गर्दा महिनावारी हुनुभन्दा केही दिनअघि स्तनहरू सुन्निन्छ र बढी संवेदनशील हुन्छन् । महिनावारी हुनुभन्दा एक साताअघि स्तन दुख्ने समस्या महसुस हुन थाल्छ ।

महिनावारीपछि स्तन दुख्नु पनि सामान्य हो ?

कतिपय अवस्थामा, महिनावारी सकिएपछि पनि स्तन दुखाइ रहन सक्छ । तर यदि कुनै महिला महिनावारीको वरिपरि लामो समयसम्म स्तन दुखेको महसुस गर्छिन् वा दुखाइ कडा छ र दैनिक काम गर्न पनि गाह्रो हुन्छ भने यस्तो अवस्थामा महिलाले डाक्टरसँग सम्पर्क गरेर स्तन दुख्नुको अन्य कारण छ कि भनेर पत्ता लगाउनुपर्छ ।

महिनावारीको बेला हुने स्तन दुखाइलाई कम गर्ने उपाय

तनावमुक्त रहने

तनावको कारणले पनि महिनावारीको समयमा स्तन दुख्न सक्छ । यस्तोमा तनाव कम गर्न व्यायाम, योग, ध्यान गर्नुपर्छ । यसो गर्दा तनाव कम हुन्छ र स्तनको दुखाइ पनि कम हुँदै जान्छ ।

जीवनशैली परिवर्तन

महिनावारीको बेला पर्याप्त आराम पनि जरुरी हुन्छ । पर्याप्त आरामका लागि समयमै सुत्नु र समयमै उठ्नु जरुरी छ । साथै महिनावारीको बेला खाना छोड्नबाट जोगिनुपर्छ । समयमा खाना खाइएन र पर्याप्त आराम गरिएन भने यसले महिनावारीको चक्रलाई पनि कुनै न कुनै रूपमा असर गर्छ । खानामा मौसमी फलफूल र तरकारी लगायत स्वस्थ र पोषणयुक्त खानालाई आफ्नो आहारमा समावेश गर्नुपर्छ ।

तौल नियन्त्रण गर्ने

मोटोपन पनि स्तन दुखाइको कारक साबित हुनसक्छ । त्यसैले महिनावारीको हुने स्तन दुखाइलाई कम गर्न र सम्पूर्ण रुपमा स्वस्थ रहन तौल नियन्त्रण गर्नुपर्छ ।

क्याफिनयुक्त पेय पदार्थको सेवन कम गर्ने

क्याफिनको अत्यधिक सेवनले स्तन दुखाइ बढाउन सक्छ । त्यसैले दुखाइलाई कम गर्न कफी, चिया, सफ्ट ड्रिंक्स जस्ता क्याफिनको मात्रा सीमित गर्नु जरुरी गर्नुपर्छ ।

स्तन दुख्ने अन्य कारण

रजोनीवृत्तिको बेला हर्मोन रिप्लेसमेन्ट थेरापी लिइरहेको छैन भने त्यो बेला स्तन दुख्ने समस्या हुनसक्छ । स्तनमा कुनै प्रकारको चोट वा दुर्घटनाका कारण पनि स्तनमा दुखाइ हुनसक्छ । चोट लागेको केही हप्तासम्म पनि दुखाइ रहिरह्यो, सुधार भएन भने चिकित्सकको परामर्श लिनुपर्छ ।

गर्भावस्थाको पहिलो त्रैमासिकमा स्तन संवेदनशील हुन्छ । त्यसैले यो बेला पनि स्तनमा पीडा हुनसक्छ । बच्चा जन्माएपछि महिलाको स्तन दूधले गानिने समस्या हुनसक्छ यसले पनि स्तन दुख्ने हुन्छ ।

स्तनपान गराउने महिलालाई स्तन संक्रमण हुने सम्भावना बढी हुन्छ । यदि स्तन संक्रमण छ भने स्तन रातो हुने, दुख्ने, सुन्निने आदि देख्न समस्या देखिन्छ ।

स्तनमा फाइब्रोसिस्टिक नामक परिवर्तन आउँदा पनि स्तनको दुखाइ हुनसक्छ । फाइब्रोसिस्टिक स्तनको तन्तुमा हुने गाँठो वा सिस्टहरू हुन्, जुन महिनावारी हुनुभन्दा ठीक अगाडि बढ्न सक्ने एवं बढी संवेदनशील हुने हुन्छन् ।

स्तनमा दुख्ने वा नदुख्ने गाँठो आएमा र स्तनको आकारमा परिवर्तन भएमा स्तन क्यान्सरका लक्षणहरू हुन सक्छन् । त्यसैले यस्तो समस्या देखा परेमा विशेषज्ञ चिकित्सकसँग सल्लाह गरेर परीक्षण गर्नुपर्छ ।

महिनावारी स्तन दुखाइ स्त्रीरोग
लेखक
डा. मञ्जिला घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय