+
+

लघुवित्तमा आगजनी र तोडफोडमा संलग्न हाजिरी जमानीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १४:३९

१४ भदौ, विराटनगर । मोरङमा लघुवित्तमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका ५ जना हाजिरी जमानीमा रिहा भएका छन् ।

अभियान लघुवित्त वित्तीय संस्थाको दलेली शाखामा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका कानेपोखरी गाउँपालिका-२ का रामबहादुर लिम्बु, सोही स्थानका चन्द्रकला मगर र दिलिप झागड तथा उर्लाबारीका मिना रसाइली र राधा विश्वकर्मा लगायत हाजिरी जमानीमा रिहा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले पक्राउ परेकाहरु हाजिरी जमानीमा छुटेको र समस्या समाधानका लागि सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए ।

ऋण तिर्न ताकेता गर्दा तोडफोड

ती ऋणीहरुमाथि ऋण तिर्न ताकेता गर्दा पनि नतिरेर उल्टै तोडफोड र आगजनीमा उत्रिएको आरोप छ । कानेपोखरीका रामबहादुरले अभियान लघुवित्त वित्तीय संस्थाको दलेली शाखाबाट लिएको ऋणमध्ये एक लाख ७० हजार रुपैयाँ तिर्न बाँकी छ । स्रोतका अनुसार उनले तीन वर्षयता किस्ता तिरेका छैनन् ।

गाउँको अगुवासमेत रहेका उनले गाउँकै अरु आठ जना सदस्यको नामबाट करिब १६ लाख रुपैयाँ ऋण निकालेका लघुवित्तका एक कर्मचारीले बताए ।

‘लघुवित्तले ऋण तिर्न ताकेता गरेपछि मंगलबार कार्यालय पुगेर उनले लघुवित्तको कागजात र कम्प्युटरमा आगजनी गरे । तोडफोड पनि गरे,’ ती कर्मचारीले भने, ‘आफ्नै परिवारको नाममा एक लाख ७० हजार ऋण छ, तर केन्द्रका अरु ८ जनाको नामबाट करिब १६ लाख चलाएका छन् ।’

प्रहरीका अनुसार लिम्बूले मणीराम ज्ञवाली नेतृत्वको लघुवित्त पीडित संघर्ष समितिका सदस्यलाई छलफलका लागि भन्दै बोलाएका थिए । त्यहीबेला तोडफोड र आगजनी भएको हो ।

दलेलीको यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले रामबहादुरसँगै सोही स्थानकी चन्द्रकला मगर, दिलिप झागड तथा उर्लाबारीका मिना रसाइली र राधा विश्वकर्मालाई पक्राउ गरेको हो ।

००००

यसैगरी मोरङको बेलबारी नगरपालिका-६ का ५० वर्षीय माधव गिरीमाथि नेशनल लघुवित्त वित्तीय संस्थाको खातापाता, कागजात र ल्यापटप सुनसरी मोरङ सिचाईं आयोजनाको नहरमा फ्याँकिदिएको आरोप छ ।

गाई फर्म सञ्चालन गरिरहेका उनले २०७९ पुसमा श्रीमती र छोरीको नामबाट साढे तीन लाख रुपैयाँ ऋण लिएका थिए । लघुवित्तका कर्मचारीका अनुसार किस्ता नियमित तिर्न आग्रह गर्दा सधैं पैसा छैन भन्थे ।

मंगलबार दिउँसो लघुवित्तको बाहुनी शाखामा पुगेका गिरीले कार्यालयका कागजात र ल्यापटप नहरमा फालिदिएर भागेका थिए । प्रहरी स्रोतले लघुवित्तका कर्मचारीलाई उद्धृत गर्दै भन्यो, ‘दुई किस्ता तिरेपछि उहाँले ऋणको किस्ता तिर्नु भएको छैन, ऋण लिने तर तिर्ने बेलामा लघुवित्तको सामान फालेको देखिन्छ ।’

वित्तीय अराजकता

ऋण लिने तर नतिर्ने भन्नु वित्तीय अराजकता रहेको अर्थशास्त्री डा. भेषप्रसाद धमला बताउँछन् । ऋण लिने र नतिर्ने प्रवृतिले अर्थतन्त्र असन्तुलित हुने उनको भनाइ छ ।

वित्तीय अराजकता रोक्नका लागि राज्यले कडाइ गर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘लिएको ऋण तिर्दिनँ भन्न मिल्दैन, दिने संस्थाले पनि तिर्नका लागि सहुलियत वातावरण बनाइदिनुपर्छ ।’

ऋण मिनाहाको हल्ला चलाएर ऋण नतिर्ने प्रवृत्ति बढ्दो रहेको उनले बताए । ‘लघुवित्तबाट लिएको ऋणको सही सदुपयोग गर्नेहरु सफल भएका छन्, प्रगति गरेका छन्,’ उनले भने, ‘दुरुपयोग गर्नेहरु विभिन्न संस्थाबाट ऋण लिएर फसेका छन् ।’

आफ्नो आवश्यकता पुरा गर्न लघुवित्तबाट ऋण लिने तर तिर्ने बेलामा कार्यालयमा आक्रमण गर्ने प्रवृति अराजक भएको नेपाल लघुवित्त बैंकर्स संघमा महासचिव सञ्जय कुमार मण्डल बताउँछन्। यस्तो अराजक गतिविधि गर्नेलाई राज्यले कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ ।

‘लघुवित्तले लगानी गरेको ऋण जनताकै पैसा हो, जनताको पैसा लिएर तिर्दिनम् भन्न पाइदैन, लिएपछि तिर्नुपर्छ,’ उनले भने, ‘ग्रामीण भेगमा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको लघुवित्तका कर्मचारी र कार्यालयको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ ।’

देशको अर्थतन्त्रको अवस्थाका कारण ऋण मिनाहा सम्भव नभएको बताउँदै उनले ऋण मिनाहाको भ्रमलाई राज्यले चिर्नुपर्ने उनले बताए । सेवाग्राही सदस्यहरुले पनि लघुवित्तको वास्तविकता र आवश्यकता बुझेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘भ्रमको पछि नलागी समस्यामा परेका सदस्यहरु सहजीकरणको बाटोमा जानुपर्छ, समस्यामा परेकाहरुकै लागि नेपाल राष्ट्र बैंकले सहजीकरणको नीति पनि ल्याएको छ,’ उनले भने, ‘लघुवित्त कार्यक्रम विपन्न वर्गकै लागि हो, भ्रमको पछि लागेर वित्तीय सेवाबाट बञ्चित भए सबैभन्दा बढी नोक्सानी विपन्न वर्गलाई हुन्छ ।’

लघुवित्त पीडितहरुको आन्दोलन फेरि सुरु

पछिल्लो एक वर्ष लघुवित्त पीडित संघर्ष समितिको नाममा ऋणीले आन्दोलन गरेका थिए । गत ६ चैतमा सरकारसँग सहमति भएपछि आन्दोलन फिर्ता भयो । धर्ना र विरोध रोकिएपछि लघुवित्तको रोकिएका बैठक नियमित भएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग सहमति गरेको मणीराम ज्ञवाली नेतृत्वको संघर्ष समितिले सरकार परिवर्तन भएपछि फेरि संघर्ष सुरु गरेको छ । सरकारले सहमति पालना नगरेका कारण आन्दोलन सुरु गरेको ज्ञवाली बताउँछन् ।

मोरङ प्रहरी प्रवक्ता बस्नेत ज्ञवाली नेतृत्वको संघर्ष समितिले आन्दोलन थालेको घोषणा गरेको र त्यही अन्तर्गत जिल्लामा घटना भएको पाइएको बताए । उनले भने, ‘यस विषयमा निगरानी र अनुसन्धान गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?