+
+
फिल्म निर्देशक सुदर्शन थापासँग संवाद :

‘कथालाई लंकाबाट सुरु गरौं भन्दा ‘रावायण’ जन्मियो’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १६:२८

काठमाडौं । निर्देशक सुदर्शन थापाको फिल्म करिअरले अगस्टमा १५ वर्ष पूरा गर्दैछ । उनको १४ औं फिल्मको रुपमा ‘रावायण’ भदौ २१ गते रिलिज हुँदैछ । रोमान्टिक फिल्मका निर्देशकको रुपमा पहिचान बनाएका थापाले पछिल्लो समय भिन्न जनरामा आफूलाई अघि बढाइरहेका छन् ।

यो फिल्मले घरेलु फिल्मको कथा वाचन परम्परामा परिवर्तन ल्याउने उनको दाबी छ । प्रायः फिल्म र कथाको भन्ने शैली रामायणको स्टाइलमा बनिरहेको बेला यो फिल्मले ‘रावायण’ शैलीमा कथा वाचन स्थापित गर्ने उनको तर्क छ । यी विविध आयाममा रहेर निर्देशक थापासँग अनलाइनखबरले गरेको कुराकानी :

हामीले ‘रामायण’ पढ्दै, सुन्दै त आएको हो तर तपाईंको फिल्म ‘रावायण’ के बारेमा हो ?

रावायण भन्ने शब्द छैन । हामीबाटै निर्मित शब्द हो । हामीमा बाल्मिकी रामायणको धेरै प्रभाव छ जसलाई हामीले टिभीमा हेर्‍यौं र सुन्यौं पनि । हाम्रो कथा र फिल्म पुरानै संरचनामा गइरहेको देख्छु । रामायणमा पनि हेर्दा सुरुमा दशरथ देख्छौं, त्यसपछि रामको सीतासँग भेट हुन्छ अनि विवाह हुन्छ । बल्ल, रावण भन्ने पात्रको इन्ट्री हुन्छ । यो शिल्पलाई बदलौं न भन्ने हाम्रो सोच हो । यदि कथा श्रीलंकाबाट सुरु गर्‍यौं भने अथवा लंकाबाट सुरु गर्‍यौं भने त्यो कथा कस्तो बन्ला त ? रावण कस्तो थियो, कसरी जन्मियो, के भयो ? उसले सीता पात्रलाई मन परायो । त्यसपछि मात्र राम देखिए ।

क्राफ्टिङमा चेन्ज गरेका छौं । रावणलाई म भिलेन त कहिल्यै पनि भन्दिनँ । रावण ज्ञानीमा ज्ञानी, पुरुषार्थमा पुरुषार्थी । हरेक एंगलबाट रावण खतरा हो नि । रावणको एउटै मात्र दोष के हो भने सीता हरण गर्नु । त्यो बाहेक रावणको नराम्रो पक्ष छ जस्तो लाग्दैन । यसअघि रिलिज भएको गीतमा पनि मैले रावणको प्रशंसा गरेको छु ।

रावण नै सर्वेसर्वा पनि हैन । भगवान राम हुन् भन्ने थाहा पाएपछि मृत्यु पनि स्वीकार गर्छु, त्यो पनि भन्या छ । यत्तिको मान्छेको दृष्टिकोणबाट कथा भनेमा के होला भनेर नाम राखेको हो । धार्मिक रामायणसँग यसको टच छैन । यदि अहिलेको पुस्ताको एंगलबाट रावण टाइपको मान्छेको कथा भन्दा कस्तो होला भनेर फिल्म बनेको हो ।

तपाईंको छवि रोमान्टिक फिल्म निर्देशकको रुपमा छ । एक्सनथ्रिलर ‘रावायण’ले तपाईंको त्यो छविलाई उल्टाउन सक्ला ?

ट्रेलरमा एक्सन मात्र देखेर दर्शकले एक्सन फिल्म भन्लान् । यो पूर्णतः लभस्टोरी फिल्म नै हो । यसलाई एक्सन सहितको प्रेमकथा भन्न सकिन्छ । तर यसको लभस्टोरी फरक छ । पहिला मैले बनाएको लभस्टोरी रामायणको संरचनामा थियो भने अहिलेको लभस्टोरी फरक छ, जसलाई म रावायण फर्म्याट भन्न चाहन्छु । यो लभस्टोरी देखेर दर्शकलाई छुट्टै किसिमको आनन्द पनि आउँछ जस्तो लाग्छ । म दर्शकलाई मनोरञ्जन दिन चाहन्छु । दुई घण्टा दर्शकले आनन्द उठाउन सक्नुपर्‍यो ।

फिल्मको गीत साउथबाट प्रेरित रहेको र टिजर मुसलमान सुमदायप्रति पूर्वाग्रही भएको भन्ने जस्ता कमेन्ट आएका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

पूर्वाग्रह भन्ने कुरै भएन । हामीले त फिल्ममा सबै मान्छेलाई समेट्न खोजेका छौं । यसपटक फिल्म तराईको परिवेशमा बनेको छ । नेपाली फिल्मले तराईलाई भुलिरहेको पनि छ । समग्रमा मधेश प्रदेशमा फिल्मको सुटिङ भएको हो । त्यो भनेको भारतको बिहार र उत्तर प्रदेशसँग जोडिएको छ । ती क्षेत्रमा बस्नेसँग मधेशबासीको रहनसहन मिल्छ । हिमाल पहाडका पात्र देखिरहेको बेला तराईको मान्छे देखिनुलाई साउथबाट कपी चाहिं नभनिदिएको भए हुन्थ्यो ।

किनभने जुन साउथले फिल्म निर्माणमा विश्व हल्लाएको छ । हामी त्यो शैलीमा पनि जान सक्छौं है । उनीहरुको निर्माण शैली, उनीहरुको लार्जर देन लाइफ शैली, मनोरञ्जन दिन सक्ने क्षमतालाई समेटेर ध्वनि, संगीत मार्फत समेट्न खोजेका छौं । यो कुरामा दर्शक खुसी हुनुपर्ने हो । भोलिको दिनमा नेपालमा यी प्रविधि भित्रिनुपर्छ । नेपालमा यस्तो किसिमको ध्वनि, बीजीएम बन्नुपर्छ, एउटै गीत चलाएर हुँदैन भनेर हामीले ट्रेन्ड चेन्ज गर्न खोजेका हौं ।

तपाईंको करिअरको १४ औं फिल्मको रुपमा ‘रावायण’ प्रदर्शन हुँदैछ । १५ वर्षको तपाईंको करिअर छ । यो करिअरमा तपाईंले फिल्ममेकिङलाई कसरी बुझ्नुभएको छ ?

हामी पनि अहिले विकासकै प्रक्रियामा छौं । मेरो पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ आउँदा पनि नेपाली सिनेमाले एउटा मुहार चेन्ज गर्न खोजिरहेको थियो । सम्भवतः त्यहाँबाटै होला नेपाली फिल्मको मुहार चेन्ज भएको । हरेक परिवर्तन वर्षैपिच्छे आउँदैन । हरेक दशकमा एउटा क्रान्ति आउँछ । यदि चेन्ज भएनौं भने पनि त्यो दशकले हामीलाई चेन्ज गराउँछ गराउँछ । मैले ‘मेरो एउटा साथी छ’ गर्दा पनि नेपाली फिल्मले परिवर्तन खोजिरहेको थियो ।

त्यहाँबाट लभस्टोरी र रोमान्टिक फिल्मको यात्रा सुरु भयो । बीचमा आयो, कमेडी फिल्मको यात्रा । त्यसपछि यथार्थवादी फिल्मको धारा आयो । त्यसयता दशक पूरा भयो, अब फेरि नेपाली फिल्मले मुहार चेन्ज गर्न जरुरी छ । ‘रावायण’ले नै यो चेन्ज गर्छ भनेर म भन्दिन । तर रावायण जस्ता फिल्मले एक किसिमको परिवर्तन ल्याउँछ जस्तो लाग्छ । यसबीच भारतीय फिल्म पनि पुरानै शैलीमा फर्किएको छ । नेपाली फिल्ममा पनि यतिबेला भारतीय फिल्मको प्रभाव छ ।

हिजोसम्म साउथका कलाकार र निर्देशक नचिन्ने नेपाली दर्शक अहिले साउथका फिल्म कुरेर बस्ने बेला आएको छ । महामारीपछि बलिउडलाई पनि साउथले कठिन बनायो । त्यो भनेको जुगौंदेखि साउथ फिल्मले गरेको संघर्षले परिवर्तन ल्याएको हो । अहिले दर्शक दृश्य मात्र होइन, ध्वनि महसुस गर्न चाहन्छन् । सिनेमासँग बग्न चाहन्छन् । यी चीज हामीकहाँ विकास हुन जरुरी छ । यसबाट हामीले सिक्ने हो, गर्ने हो । यी प्रयोग रावायणमा मैले गरेको छु ।

पछिल्लो समय धर्मग्रन्थको कथावस्तु र पात्रमाथि फिल्म बन्ने ट्रेन्ड बढेको छ । ‘रावायण’ पनि त्यसैबाट प्रभावित भएको त होइन ?

यो पौराणिक र धार्मिक कुरासँग सम्बन्धित छैन । अहिलेको समयमा मान्छेमा भएको राम र रावण प्रवृत्तिको चित्रण मात्रै हो । पौराणिक धर्मग्रन्थमा विदेशमा फिल्म बन्या छ, कुनै दिन नेपालमा पनि बन्ला । तर यो ‘रावायण’ चाहिं संरचनाबाट प्रभावित हुनसक्छ । संरचना भनेको राम राम नै हो र रावण रावण नै हो । हामी घरमा रामकै पूजा गर्छौं । यस्ता ठाउँ छन् जहाँ रावणको पनि पूजा गरिन्छ । श्रीलंकामा रावणलाई भगवान मानिन्छ । कुनै पनि मान्छेलाई चिन्ने दुईवटा तरिका हुन्छन् । एउटा राम्रो र अर्को नराम्रो । हामीले हाम्रो कुन इन्द्रियलाई खोल्ने हो भन्ने कुराले हाम्रो बुझाइलाई फरक पार्छ ।

साउथ फिल्मसँग तुलना हुनु त राम्रो कुरा हो नि । ५००-८०० करोडको फिल्मसँग २-३ करोडको फिल्मले त्यो मेकिङ देखाएको छ भने दर्शक खुसी हुनु पर्दैन ? कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा हो ।

तपाईंलाई कुन जनरामा कथा भन्न सजिलो लाग्छ ?

म एउटा जनरामा सीमित हुनै चाहन्नँ । यसअघि धेरै लभस्टोरी फिल्ममा काम गरेको भएर दर्शकले रोमान्टिक फिल्मको निर्देशक भन्छन् । म घरमा सधैं दालभात तरकारी नै खान्छु भनेर दालभात मात्र खाने मान्छे हैन । मेरो मुड हो । कतिबेला मःम, चाउमिन, स्यान्डवीच खान मन लाग्ला । कथा पनि त्यही हो । चाहे त्यो एक्सन, हरर, थ्रिलर, सोसल ड्रामा, लभस्टोरी जेसुकै होस्, त्यो कथाले क्लिक गर्न सक्नुपर्‍यो । मेरो दृष्टिकोणबाट मैले दर्शकलाई यो कथा भन्नुपर्छ लाग्छ भने जुनसुकै जनरा हुनसक्छ ।

पछिल्लो समय तपाईंले आफ्ना ब्यानरबाट फिल्म बनाइरहनुभएको छ । विश्व बजारमा पुग्न तपाईंको ब्यानरबाट कस्ता फिल्म बन्लान् भविष्यमा ?

मलाई ‘रावायण’ बनाउन तीन वर्ष लाग्यो । यो तीन वर्षमा फिल्मले धेरै उतारचढाव भोग्यो । हिजोसम्म भारतमै साउथ फिल्मलाई बलिउड फिल्म भनिन्थ्यो । आज हिन्दी फिल्म भनिन्छ । हिजोसम्म साउथलाई क्षेत्रीय रुपमा सोचिन्थ्यो । आज साउथ मेनस्ट्रिम फिल्म भएको छ । यो ब्यानरको प्रयास पनि साउथले जसरी विकास गरेको छ, त्यसरी नै अघि बढौं भन्ने हो ।

रावायण’भित्र युनिभर्सल अपील बोकेका तत्व के छन् ?

रावायण हेर्दा नेपाली वा विदेशी दर्शकले पाउने दुई चीज हो । नियमितभन्दा फरक तरिकाले गरिएको क्राफ्टिङ हो यो । अर्को, यसको मनोरञ्जन भ्यालु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?