+
+

निरौला समितिको प्रतिवेदन : गठ्ठाघर दुर्घटनाको कारण ट्राफिक जाँच होइन

कोटेश्वर–सूर्य विनायक सडकमा दुई पांग्रेका लागि छुट्टै लेन तोक्न सुझाव

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ १४ गते २०:०२

१४ भदौ, काठमाडौं । छानबिन समितिले भक्तपुरको गठ्ठाघरमा ३१ साउनमा भएको सडक दुर्घटनाको कारण ट्राफिक जाँच नभएको निष्कर्ष निकालेको छ । दुर्घटनाका मुख्य दोषी ट्रक चालक भएको समितिको ठहर छ ।

जडिबुटीबाट बनेपातर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ४९ प ८०४४ नम्बरको स्कुटरलाई दिउँसो १ः४० बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका स्कुटर चालक ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

दुर्घटनास्थल नजिकै ट्राफिक जाँच चलिरहेको थियो । दुर्घटनापछि स्थानीयले ट्राफिक जाँचका कारण स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै प्रदर्शन गरेका थिए ।

त्यसको भोलिपल्ट गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी र प्रशासनले छुट्टाछुट्टै छानबिन समिति बनायो । प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रजित केसी नेतृत्वमा बनेको छानबिन समिति बनाएको थियो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) डोरेन्द्र निरौला नेतृत्वको अर्को समिति बनेको थियो ।

निरौला समितिले बुधबार गृह मन्त्रालयमा बुझाएको ८ पृष्ठको छानबिन प्रतिवेदनमा ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ दोषी भएको उल्लेख छ ।

निरौला नेतृत्वको छानबिन समितिले ट्राफिक जाँचका कारण दुर्घटना नभएको निष्कर्ष निकालेको छ । ‘ट्राफिकले दुर्घटनामा परेका दुबै सवारीलाई रोकेको देखिँदैन । सीसीटीभी फुटेज हेर्नुका साथै प्रत्यक्षदर्शीलाई सोधपुछ गर्दा दुर्घटनामा ट्राफिक प्रहरीको भूमिका देखिएन’, निरौलाले भने ।

एसपी केसी नेतृत्वको समितिले पनि ट्राफिको गल्ती नरहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । सीसीटीभी फुटेजमा दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटी गरिरहेको देखिन्छ । सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेको स्कुटरलाई ठक्कर दिएर अघि बढेको देखिन्छ ।

सडकमा रहेका ३ जनामध्ये एक जना ट्राफिक प्रहरी दौडिंदै ट्रकतर्फ अघि बढेको देखिन्छ । लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ ।

निरौला समितिले बुधबार गृह मन्त्रालयमा बुझाएको ८ पृष्ठको छानबिन प्रतिवेदनमा ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ दोषी भएको उल्लेख छ ।

समितिले गरेको सोधपुछका क्रममा दुर्घटना गराउने कुनै मनसाय नै नरहेको र आफूले स्कुटर नै नदेखेको बयान दिएका थिए । तर समितिले भने आफूभन्दा अगाडिको स्कुटर देखिनँ भनेर ट्रक चालकले उन्मुक्ति पाउन नहुने बताएको छ ।

‘दुर्घटना गराउने मनसाय नदेखिए पनि उनकै कमजोरीले दुर्घटना भएकाले उन्मुक्ति पाउनुहुन्न भनेर सुझाएका छौं’, समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

छानबिन समितिले मेकानिकल इन्जिनियरको सहयोगमा ट्रकको प्राविधिक जाँच गरेको थियो । त्यसक्रममा ट्रकको अवस्था भने ठीक रहेको पाएको प्रतिवेदनमा उल्लेख छ ।

ट्रकको बत्ती, ब्रेकदेखि अन्य पार्टपूर्जा समेत ठीक रहेको र कर तिरेकोदेखि चालकको लाइसेन्स रहेको र जाँडरक्सी तथा लागु औषध सेवन नगरेको पाइएको समितिले उल्लेख गरेको छ ।

‘दुर्घटनापछि ट्रक चलाएर सुरक्षित ठाउँमा पुर्‍याएका प्रहरीसँग समेत ट्रकको अवस्थाबारे बुझ्यौं, प्राविधिक जाँच गर्दा पनि ट्रकमा कुनै कैफियत देखिएन’, छानबिन समितिका संयोजक निरौलाले अनलाइनखबसँग भने ।

‘ट्राफिककै कारण दुर्घटना भयो भन्न मिल्दैन, तर ट्राफिक जाँच थप व्यवस्थित गर्नुपर्ने देखिएकाले प्रतिवेदनमा सुझाव दिएका छौं’ निरौलाले अनलाइनखबरसँग भने ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसपी प्रजित केसी नेतृत्वमा बनेको छानबिन समितिले पनि चालकले जाँडरक्सी तथा लागुपदार्थ सेवन नगरेको र ट्रकको अवस्था समेत ठीक रहेको प्रतिवेदन ४ भदौमा बुझाएको थियो ।

ट्राफिक जाँच वैज्ञानिक बनाउन आवश्यक

समितिले अबदेखि यस्ता दुर्घटना हुन नदिन गर्नुपर्ने कामबारे ८ वटा बुँदामा सुझाव दिएको छ ।

ट्राफिक जाँच तथा अनुगमनलाई वैज्ञानिक बनाउन एआईको प्रयोगदेखि स्थान विशेषमा फरक–फरक प्रकृतिको जाँच हुनुपर्ने समितिको सुझाव छ । समितिले ट्राफिक जाँच वैज्ञानिकदेखि प्रविधिमैत्रीमा जोड दिन सुझाएको छ ।

भक्तपुरको हकमा कोटेश्वर–सूर्यविनायक सडकखण्डमा दुई पांग्रे सवारीका लागि छुट्टै लेन तोक्न सुझाएको छ ।

त्यसैगरी ट्राफिक जाँच गर्दा बढी जोखिम हुने ठाउँहरु यकिन गर्न र त्यस्ता ठाउँहरुमा चेकजाँच नगर्न पनि सुझाएको निरौलाले बताए ।

‘ट्राफिककै कारण दुर्घटना भयो भन्न मिल्दैन, तर ट्राफिक जाँच थप व्यवस्थित गर्नुपर्ने देखिएकाले प्रतिवेदनमा सुझाव दिएका छौं’ निरौलाले अनलाइनखबरसँग भने ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी वेद विष्टले प्रतिवेदनमा सुझाएका विषयहरु प्रहरीको आइनपुगेको बताएका छन् । ‘प्रतिवेदन हामीकहाँ आएपछि बल्ल प्रतिवेदन अनुसार कुन दफा आकर्षित हुन्छ सोही अनुसार प्रक्रिया अघि बढाइन्छ’ उनले भने ।

यातायात व्यवस्था तथा सवारी ऐन २०४९ को दफा १६१ मा ज्यान मरेमा हुने सजाय बारेमा उल्लेख छ । दफा १६१ को उपदफा (१) मा ज्यान मार्ने उद्देश्यले सवारी चलाएर कसैको ज्यान गएमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।

उपदफा (२) मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।

उपदफा (३) मा ज्यान मर्न सक्छ भन्ने नदेखिएको अवस्थामा सवारी दुर्घटना भई कसैको मृत्यु भएमा चालकलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?