+
+

विनाअद्यावधिक चलिरहेछन् काठमाडौं महानगरका ५८ प्रतिशत सहकारी 

अमृत चिमरिया अमृत चिमरिया
२०८१ भदौ १४ गते २०:०३

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका मातहतका १ हजार ९४३ सहकारीमध्ये ५८ प्रतिशत विनाअद्यावधिक सञ्चालनमा रहेको पाइएको छ ।

महानगरभित्रका १ हजार १३१ सहकारीले आर्थिक गतिविधिबारे अद्यावधिक नगरेका हुन् । काठमाडौं महानगरका अनुसार ८१२ वटा सहकारीले मात्रै अद्यावधिक भएको हो ।

महानगर सहकारी विभाग अनुसार आर्थिक वर्ष २०८०/८१ मा महानगर मातहतमा रहेको सहकारीहरू अनुशासनहीन देखिएका हुन् ।

‘हामीले बारम्बार सहकारीहरूलाई वित्तीय अनुशासन पालन गर्न आग्रह गरेका थियौं । तर, धेरै जसले अटेर गरेका छन् । अटेर गर्ने सहकारीको नाम सार्वजनिक गरेका हौं,’ सहकारी विभागका एक कर्मचारीले भने ।

किन भएन अद्यावधिक ?

महानगरका एक उच्च अधिकारीका अनुसार अहिले सहकारीको अद्यावधिक नगर्ने ४ किसिमका सहकारीहरू छन् ।

‘एक थरी झोलामा बोक्ने र किनबेच मात्रै गर्ने सहकारीहरू छन्, जतिबेला बेच्ने हो त्यतिबेला मात्रै अद्यावधिक गर्ने बरू जरिबाना पनि तिर्ने सहकारीहरू पनि छन्,’ ती कर्मचारी भन्छन्, ‘अर्को थरी चुपचाप काम गर्ने तर तथ्यांक तिर काम नगर्ने, अद्यावधिक गर्न नभ्याउने नगर्ने, पर्‍यो भने जरिबाना पनि तिर्ने हुन्छन ।’

महानगरका अनुसार केही ठूला सहकारीहरूले पनि अद्यावधिक गरेका छैनन् । ‘ठूलो परिमाणमा रकम परिचालन भएका हुन्छन् । उनीहरूमाथि उजुरी पनि परेको हुन्छ, गुनासो पनि आइरहेको हुन्छ । त्यो अपडेट गर्न गयो भने अर्को लफडा हुन्छ भनेर नगर्नेहरू पनि छन्,’ ती कर्मचारीले भने ।

‘अद्यावधिक नगर्ने केही सहकारीहरू मै हुँ भन्ने प्रवृत्तिका पनि छन् । हामीले गरकै ठिक छ नत्र पहुँचको आधारमा मिलाइन्छ भन्नेहरू छन् ।’

महानगरले सचेतनामूलक कार्यक्रम गरे पनि अटेर गर्दा समस्या भएको उनले बताए ।

महानगरपालिकाले सार्वजनिक गरेको अद्यावधिक नगर्ने सहकारीहरूमा बचत तथा ऋण सहकारी ९४५ वटा, बहुउद्देश्ययी सहकारी १५४ वटा, कृषि सहकारी १० वटा, उपभोक्ता सहकारी १० वटा, स्वास्थ्य सहकारी २ वटा, श्रमिक सहकारी २ र सिपमूलक, चिया, साझा, सेयर सम्बन्धी सहकारी एक एक वटा रहेका छन् ।

यस्तै अन्य ४ वटा सहकारीको अद्यावधिक भएको छैन ।

महानगरका ४२ प्रतिशत सहकारीहरू मात्रै अद्यावधिक भएका छन् । जसमा बचत तथा ऋण सहकारी ६५३ वटा , बहुउद्देश्ययी १४४वटा, कृषि ४, उपभोक्ता ४, स्वास्थ्य ३, सिपमूलक २, पर्यटन र श्रमिक सहकारी एक एक वटा रहेका छन् ।

यी हुन् अद्यावधिक नभएका सहकारी

७ सहकारी सीआईबीको छानबिनमा

काठमाडौं महानगरको सहकारी विभागका अनुसार हालसम्म ७ वटा सहकारीलाई अनुगमन गरी थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको छ ।

‘बचतकर्ताको बचत फिर्ता नगरेको, सञ्चालक र पदाधिकारीले रकम हिनामिना गरेको तथा थप अनुसन्धान गर्नुपर्ने सहकारीबारे सीआईबीमा पत्र पठाएको छौं,’ ती कर्मचारीले भने ।

सुमेरु बचत तथा ऋण सहकारी, स्कवायर बचत तथा ऋण सहकारी, रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी, आधारभूत बहुउद्देश्ययी सहकारी, सत्कार बचत तथा ऋण सहकारी, महाबौद्ध बचता तथा ऋण सहकारी र नमो हारती बचत तथा ऋण सहकारीलाई थप अनुसन्धान गर्न सीआईबीमा पठाइएको उनले बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?