+
+

पेट्रोलमा इथानोल मिसाउने योजना फेरि ब्युँतियो, ३ महिनाभित्र कार्यविधि

मन्त्रालयको पछिल्लो योजना अनुसार आगामी कात्तिकसम्म इथानोल मिश्रणसम्बन्धी कानुनी प्रावधानको काम पूरा गरिने छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ भदौ १४ गते १९:५२
Photo Credit : Credit: ©AK-DIGIART - STOCK.ADOBE.COM

१४ भदौ, काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिसाउने गरी कानुन निर्माणको तयारी गरेको छ ।

उद्योग, वाणित्य तथा आपूर्ति मन्त्रालयले आफ्नो ‘सुधार कार्ययोजना’ मार्फत पेट्रोलमा इथानोल मिश्रण गर्ने सम्बन्धी कार्यविधि आगामी तीन महिनाभित्र तर्जुमा सम्पन्न गरी कार्यान्वयनमा ल्याउने बताएको छ ।

त्यसो त सरकारले दुई दशक अगाडिदेखि नै पेट्रोलमा इथानोल मिसाउने निर्णय गरी तयारी समेत गरेको थियो । तर, कार्यान्वयनमा बेवास्ता गर्दा यो निर्णय कागजमा मात्र सीमित थियो ।

मन्त्रालयको पछिल्लो योजना अनुसार आगामी कात्तिकसम्म इथानोल मिश्रणसम्बन्धी कानुनी प्रावधानको काम पूरा गरिने छ ।

इथानोल मिसाउने योजनाबारे गत आइतबार उद्योग तथा वाणिज्ण र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समेत मन्त्रालयले जानकारी गराएको छ ।

बैठकमा मन्त्रालयका सचिव मधुसुधन बुर्लाकोटीले उखु उद्योगमार्फत उत्पादन हुने इथानोल पेट्रोलमा प्रयोग गर्ने गरी तयारी गरिएको जानकारी गराएका थिए ।

इथानोल अन्न वा वनस्पतिबाट उत्पादन हुने एक प्रकारको रसायन हो । जसलाई स्प्रिट पनि भनिन्छ । अथवा, यो अल्कोहल हो । नेपाल आयल निगमका एक उच्च अधिकारीका अनुसार भारतमा मकै र गहुँबाट समेत इथानोल उत्पादन हुने गरेको छ ।

भारतले अहिले पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्यसहित यसलाई कार्यान्वयन गरिरहेको छ । अन्तर्राष्ट्रिय मापदण्डमा सोभन्दा माथि समेत इथानोल मिसाउन सकिने देखिएको उनले बताए ।

नेपालमा भने पहिलो चरणमा बढीमा १/२ प्रतिशतसम्म मिश्रण गरी परीक्षण गर्न सकिने उनको भनाइ छ ।

उखुको मोलासेस (खुदो) बाट इथानोल उत्पादन सम्भव हुने र यो नेपालमै उत्पादन हुने भएकाले पनि नेपालमा इथानोल मिश्रण सम्भव हुने विश्वास छ ।

नेपालमा मिश्रण गर्ने विषय ठूलो कुरा नभए पनि यसलाई कति निरन्तरता दिन सकिन्छ भन्ने ठूलो कुरा रहेको ती अधिकारीले बताए ।

‘पेट्रोलको खपत धेरै हुन्छ, एक प्रतिशत मिश्रणका लागि समेत धेरै परिमाणमा इथानोल चाहिन्छ,’ उनले भने, ‘पेट्रोलमा मिसाउन इथानोल पनि आयात गर्नुपरेमा त्यो फाइदाजनक हुँदैन ।’

पेट्रोलमा इथानोल मिसाउन सके त्यसले कुल आयात कम गर्न सकिने र स्वदेशी उत्पादनले केही प्रतिशत भए पनि आयात प्रतिस्थापन हुने बताइएको छ ।

निगमका अनुसार इथानोलमा सबैभन्दा सफल मुलुक ब्राजिल हो । यहाँ इथानोलबाटै सवारीसाधन चलाउनेदेखि पेट्रोलमा पनि २५ प्रतिशतसम्म इथानोल मिसाएको पाइन्छ ।

२०७१ सालमा नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा इथानोल मिश्रण गर्ने मेसिन जडान गरेको थियो । तर, प्रयोगमा ल्याइएन । अहिले पुनः सरकारले यसको चर्चा सतहमा ल्याएको छ ।

तत्कालीन समयमा पेट्रोलको बढ्दो भाउ नियन्त्रण गर्न भन्दै इथानोल मिश्रणको तयारी गरिएको थियो । नेपाल आयल निगमका कार्यकारी निर्देशन चण्डिका भट्टले संसदीय समितिको सोही बैठकमै अमलेखगञ्जमा ट्याङ्की तयारी अवस्थामा रहेको जानकारी गराएका थिए ।

इथानोल मिसाउने बाटो खुला

संसदीय समितिले समेत सरकारलाई पेट्रोलमा इथानोल मिश्रण गर्ने बाटो खुला गरिदिएको छ ।

‘नेपालमा बायो इथानोल उत्पादन गर्ने उत्पादकसँग तोकिएको गुणस्तर तथा मूल्यमा निश्चित परिमाणमा बायो इथानोल खरीद सम्झौता गरी पेट्रोलमा बायो इथानोल मिश्रण गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल गार्हस्थ्य उत्पादन बढाउन सकिने तर्फ समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ आइतबारको समितिको बैठकको निर्णयमा उल्लेख छ ।

समितिको निर्णयमा अगाडि भनिएको छ, ‘अतः नेपाल सरकारले गरेको निर्णय र विभिन्न समयमा संसदीय समितिले दिएको निर्देशन, समय समयमा भएका अध्ययन समितिको निष्कर्ष कार्यान्वयन तत्काल गरी स्वदेशी उत्पादकलाई आह्वान गरी बायो इथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रबन्ध गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।’

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ६ लाख ८७ हजार ९३१ किलोलिटर पेट्रोल आयात भएको थियो । यसको खरीदमा ६८ अर्ब ८४ करोड रुपैयाँ विदेशिएको थियो । आव २०७९/८० मा ६ लाख ८० हजार ८०७ किलोलिटर पेट्रोल आयात भएको थियो । जसका लागि ६६ अर्ब ८४ करोड रुपैयाँ विदेशिएको थियो । पेट्रोलमा केही प्रतिशत मात्र इथानोल मिसाउन सके करोडौं रुपैयाँ स्वदेशमा बचाउन सक्ने सम्भावना भने देखिन्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?