+

श्रीलंका भ्रमणअघि कमलसहित तीन खेलाडी बाहिरिए

२०८१ भदौ  १४ गते २०:०१ २०८१ भदौ १४ गते २०:०१
श्रीलंका भ्रमणअघि कमलसहित तीन खेलाडी बाहिरिए

१४ भदौ, काठमाडौं । तीव्र गतिका बलर कमलसिंह ऐरीसहित तीन नेपाली क्रिकेट खेलाडी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमणको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् ।

नेपालले क्यानडा जानुअघि श्रीलंका डेभप्लमेन्टसँग खेल्ने तीन एकदिवसीय अभ्यास सिरिजलाई १९ सदस्यीय टोली घोषणा गर्दा कमलसँगै स्पिनर बसिर अहमद र सूर्य तामाङ बाहिरिएका हुन् ।

क्यानडा भ्रमणलाई नेपालले एक महिनाअघि २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । दुई हप्ता भारतको नेशनल क्रिकेट एकेडेमी बेंगलोरमा अभ्यास गरेर नेपाल दुई दिन अघि स्वदेश फर्किएको थियो ।

तीव्र गतिका बलरमा नेपालले सोमपाल कामी, करण केसी, रिजन ढकाल, गुलशन झा र आकाश चन्दलाई १९ सदस्य टोलीमा राखेको छ । आकाशलाई निरन्तरता दिएपछि कमल पर्न नसकेका हुन् । टी-२० विश्वकपमा रहेका प्रतिश जिसीलाई बाहिर राख्दै अर्का बायाँ हाते बलर रिजनलाई नेपालले टोलीमा समेटेको थियो ।

रिजनले गत फेब्रुअरीमा उनले क्यानडासँग दुई ओडीआई खेल खेलेका थिए । आकाशले नेपालबाट दुई ओडीआई र तीन टी–२० आई खेल खेली सकेका छन् । कमल टी-२० विश्वकप टोलीमा रहेपनि एकपनि खेल खेल्न पाएका थिएनन् । अन्तिम १४ सदस्यीय टोलीमा आकाश र रिजनमध्ये एकमात्रै पर्नेछन् ।

स्पिनरमा ललित राजवंशी, सन्दीप लामिछाने र सागर ढकाल छन् । पार्टटाइममा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल पनि हुनेछन् । त्यसैले सूर्य र बसिर टोलीमा स्थान बनाउन सकेनन् ।

नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा मा तीन एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ । श्रीलंका भ्रमणपछि नेपालले १४ सदस्य अन्तिम टोली घोषणा गर्नेछ । आईसीसी विश्वकप लिग–२ घरेलु टोली क्यानडासँगै, नेपाल र ओमानबीच सेप्टेम्बर तेस्रो सातादेखि प्रतिस्पर्धा हुनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ।

कमल सिंह ऐरी नेपाल क्रिकेट श्रीलंका टुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय