+

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

२०८१ भदौ  १५ गते ०:४७ २०८१ भदौ १५ गते ०:४७
पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् ।  फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् ।

कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।

त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।

पलेशाले आजै भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भइन् । फर्नान्डेज विरुद्ध सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा जोगाउन नसक्दा पलेशा पराजित भएकी हुन् ।

पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन्  । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भइन् ।

लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

पलेशाले टोकियो ओलम्पिक २०२० मा पनि खेलेकी थिइन् ।  जहाँ उनले दुई बाउट जित्दै इतिहास रचेकी थिइन् । तर कांस्य पदकको भिडन्तमा चिनियाँ खेलाडीसँग पराजित हुँदा पदक नजिक पुगेर पनि वञ्चित भएकी थिइन् ।

यस्तै चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पेलाशाले नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी थिइन् ।

पलेशाले २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । त्यसबेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०–० तथा सर्बियाकी मारिजा मिसेभलाई २३–१५ ले हराउदै चीनकी युजी लिसंग कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । कांस्य पदक भिडन्तमा पलेशा १२–९ ले चुकेपछि पाँचौं भएकी थिइन् । पलेशाले सन् २०१८ मा काठमाडौं भएको दोश्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेश्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौं भएकी थिइन् ।

काठमाडौं महानगरपालिका वडा २८, बागबजार निवासी पलेशाले २०१७ मा लनडनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौं एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौं स्थान हासिल गरेकी थिइन् । सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।

स्कुलमा अध्ययन गरेका बेला विभिन्न ९ अवार्ड जितेकी पलेशाले तेक्वान्दोमा हासिल गरेको उपलब्धिका लागि विभिन्न संस्थाबाट विभिन्न समयमा १६ अवार्ड हात पारेकी छन् ।

नेपाली पारा तेक्वान्दोमा सफल प्रशिक्षक मानिने लामा एक्लैले नै सन् २०१८ देखि पलेशालाई प्रशिक्षण दिइरहेका छन् ।

पारा ओलम्पिक
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय