+
+

साढे २ महिनापछि हेटौंडा सिमेन्ट उद्योगले सुरु गर्‍यो क्लिङ्कर उत्पादन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते ७:३४

१४ भदौ, हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले साढे दुई महिनापछि क्लिङ्कर (सिमेन्ट उत्पादनमा प्रयोग हुने प्रमुख कच्चा पदार्थ ) उत्पादन सुरु गरेको छ ।

उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ कोइला अभाव, उत्पादित सिमेन्ट बिक्री नहुने, बिग्रेका मेशिन मर्मत गर्ने रकम अभाव जस्ता कारणले उद्योगको उत्पादन बन्द थियो ।

उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री हुन नसकेका कारण केही महिना अघिसम्म समस्या थियो तर, अहिले उद्योगमा करिब ३५०० बोरा तयारी सिमेन्ट मौज्दात रहेको हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।

करिब २० दिनका लागि आवश्यक कोइला मौज्दात राखेर उद्योग संचालन सुरु गरिएको अध्यक्ष भण्डारीले बताए ।

उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री नभएपछि स्टकमा बसेको र कोइला खरिद गर्न रकम अभाव भएको उद्योगका नायवमहाप्रबन्धक (डीजीएम) नबीनकुमार कर्णले बताए ।

उद्योगले केही दिनअघिमात्र कोइला खरिद गरेको कर्णले जानकारी दिए । भारत, इण्डोनेसिया र भुटानबाट उद्योगलाई आवश्यक पर्ने कोइला बोलपत्रमार्फत् आपूर्ति गर्दै आएको छ ।

कच्चापदार्थ भन्दा पनि चार दशक पुराना मेशिन पटकपटक बिग्रेर मर्मत गर्ने काममा समस्या रहेको थियो ।

उद्योगलाई आवश्यक पर्ने कोइला उद्योगमा मौज्दात भएपछि पुनः सिमेन्ट उत्पादन सुरु गरिएको हो ।

गतसाता संघीय उद्योगमन्त्री दामोदर भण्डारी, प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलालगायतको टोलीले हेटौंडा सिमेन्ट उद्योगको वर्तमान अवस्था अवलोकन गरेपछि हेटौंडा सिमेन्ट उद्योगलाई विशेष बजेटको व्यवस्था गरेर संचालनमा ल्याउने सरकारको तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

तत्कालीन श्री ५ को सरकारले २०३३ सालमा हेटौंडा–९ लामसुरेमा सिमेन्ट उद्योग स्थापना गरेको हो । तत्कालीन समयमा एक अर्ब ३८ करोड ९० लाख रुपैयाँको लागतमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ मंसिर २६ गतेदेखि ब्यावसायिक उत्पादन सुरु गरेको थियो ।

पछिल्लो ५ वर्ष यो उद्योग घाटामा संचालन भइरहेको छ । विद्युत महशुल बढेको र सिमेन्टको बजार मूल्य घटेको कारण पनि उद्योगले घाटा व्यहोर्नु परेको बताइएको छ ।

उद्योगका मेशिनरी उपकरण चार दसक पुरानो भएकोले केही उपकरण तत्कालै फेर्नुपर्ने अवस्थामा रहेको अध्यक्ष भण्डारीले बताए ।

उद्योगलाई निजी क्षेत्रको उत्पादनसँग प्रतिष्पर्धात्मक रुपमा संचालन गर्नका लागि पुराना उपकरण हटाएर आधुनिक उपकरण जडान गर्नुपर्ने भण्डारीको भनाइ छ ।

निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिष्पर्धा गर्नका लागि आवश्यक रकम सरकारले व्यवस्था गरेपछि मात्र उद्योग निरन्तर संचालनमा आउने अवस्था रहेको अध्यक्ष भण्डारीले बताएका छन् ।

उद्योगमा मौज्दात रहेको तयारी सिमेन्ट बिक्री गरी असार मसान्तसम्मको तलबभत्ता उपलब्ध गराइएको बताइएको छ ।

उद्योग पूर्णरुपमा बन्द भएको अवस्थामा पनि तलबभत्तामा मात्र मासिक करिब एक करोड रुपैयाँ खर्च आउने अध्यक्ष भण्डारीले बताए ।

कुनै समय एक हजार कामदार कर्मचारीले काम गर्ने हेटौंडा सिमेन्ट उद्योगमा अहिले स्थायी, अस्थायी, दैनिक ज्यालादारीका समेत करिब तीन सय कामदार कर्मचारी कार्यरत छन् ।

उद्योगको दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता थियो तर, एक दशकदेखि उद्योग पूर्ण क्षमतामा संचालन हुन सकेको छैन ।  निजी क्षेत्रका ठुला उद्योगको उत्पादनसँग प्रतिष्पर्धा गर्न उद्योगलाई निकै ठुलो चुनौती भएको छ ।

हेटौंडामा मात्रै तीनवटा ठूला सिमेन्ट उद्योग छन् । शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट र पूर्णसरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको बजार भने दिनदिनै खुम्चँदै गएको छ ।

पछिल्लो समयमा देखिएको आर्थिक मन्दीको प्रभाव सिमेन्ट बिक्रीमा पनि परिरहेको हेटौंडाका सिमेन्ट बिक्रेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?