+
+
निबन्ध :

जोन म्युर : जसलाई पर्वतले बोलायो

एअरपोर्ट, हाइवे, पुल, पदमार्ग, हिमचुली, सार्वजनिक उद्यान, रंगशाला, सम्मेलन हल आदिको नामकरण विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वको सम्मान गरिनु उत्तम हो । तर, हाम्रो दुर्भाग्य, एकछत्र राजनीतिक व्यक्तिकै मात्र सम्मान छ– एकाध लेखक, गायक र पर्वतारोहीको सालिक अपवाद मान्दा ।

रोशन शेरचन रोशन शेरचन
२०८१ भदौ १५ गते ८:५७

वन विज्ञानको विद्यार्थी हुँदा नेपाल र भारतका केही राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष घुम्ने अवसर मिल्यो । घुम्ने भन्दा रमाइलोको अर्थ लाग्ला । त्यसको खास उद्देश्य थियो-वन्यजन्तु व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान सिक्ने । त्यसबेला नेपालको चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, तत्कालीन पर्सा वन्यजन्तु आरक्ष र कोशी टप्पु वन्यजन्तु आरक्ष भ्रमण गरेका थियौं । बर्दियामा हात्ती चढेर स्विप पद्धति अनुसार वन्यजन्तुको गणना गर्ने तरिका सिक्यौं । पर्सामा एभ्निज् लेभलको प्रयोग गरेर रूखको उचाइ निकाल्यौं । कोशी टप्पुमा बसाइँसराइ गरी आउने चराचुरुङ्गीबारे जानकारी प्राप्त गर्‍यौं ।

यी त भए, रेन्जर कोर्स गर्दाको कुरा । स्नातक तहमा भ्रमणले देशको सीमा नाघ्यो । त्यसले भारतको राजाजी राष्ट्रिय निकुञ्ज, सुन्दरवनको मान्ग्रुभ वन लगायत आरक्षहरू समेट्यो । तीन दशक अघिको सन्दर्भ भएकोले सबै निकुञ्ज वा आरक्षको नाम सम्झन सकिनँ । भ्रमणको क्रम सन् २००४ मा पनि जारी रह्यो, एडिनबरा युनिभर्सिटीको विद्यार्थी हुँदा पनि । हामीलाई दक्षिणी स्कटल्याण्डको लक लोमण्ड र ट्रोसेस् राष्ट्रिय निकुञ्ज लगिएको थियो । यूनिभर्सिटीको गेटबाट निस्कनुअघि बसको अगाडि उभिएर कोर्स निर्देशक गाइ हिल्टनले ब्रिफ गरेको सम्झन्छु ।

लक लोमण्ड र ट्रोसेस् राष्ट्रिय निकुञ्ज स्कटल्याण्डकै पहिलो राष्ट्रिय निकुञ्ज रहेछ । सन् २००२, जुलाई २४ देखि सञ्चालनमा आएको । लक अर्थात् ताल । सुन्दर तालहरू, वरपर वन र होचा डाँडाहरू । अद्भुत प्राकृतिक दृश्य । पर्यटकको बाक्लो घुईंचो । हामी कहाँ सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो तर राष्ट्रिय निकुञ्जकै पिता मानिने जोन म्युरको देशमा नेपालभन्दा ३० वर्षपछि मात्र पहिलो राष्ट्रिय निकुञ्जको स्थापना भएको थाहा पाउँदा अचम्म लाग्यो ।

राष्ट्रिय निकुञ्जबारे नसुन्ने अब कमै होलान् । नेपालका अधिकांश राष्ट्रिय निकुञ्ज हिमाली र तराई क्षेत्रमा छन् । विश्वभर राष्ट्रिय निकुञ्जलाई जैविक विविधताको संरक्षण गर्ने एक स्थापित रणनीति मानिएको छ । म्युर नहुँदा हुन् त सायद राष्ट्रिय निकुञ्जको स्वरुप भिन्न हुन्थ्यो ।

जोन म्युर स्कटिस अमेरिकी थिए । उनको जन्म सन् १८३८ अप्रिल २१ मा भएको थियो, डन्वारमा । एडिनबराभन्दा ३० माइल पूर्वमा रहेको सानो शहरमा । मास्टर्स गर्दा रिसर्चको निम्ति म इस्ट लोथियन काउन्सिल क्षेत्र जानुपर्दथ्यो । डन्वार, इस्ट लोथियन काउन्सिल क्षेत्र अन्तर्गत पर्दछ । डन्वारमा मैले दुई पटक म्युरको सालिक देखेको हुँ तर त्यसबेला मलाई उनीबारे केही जानकारी थिएन । लक लोमण्ड र ट्रोसेस् राष्ट्रिय निकुञ्जको भ्रमणमा भने उनको बारेमा थाहा पाएँ ।

बाल्यकालमा म्युर जिज्ञासु थिए । मौका मिल्यो कि, वन वा फार्ममा चराको गुँड खोज्न निस्कन्थे । खोल्साखोल्सीमा माछा, भ्यागुता छोप्न कुद्थे वा समुद्री किनार निस्कन्थे । घुमन्ते थिए । डन्वारको कोस्टल क्षेत्र, नर्थ सी र डाँडाकाँडाप्रति उनको आकर्षण बढ्दै गयो । एघार वर्षको उमेरसम्म इस्ट लोथियनकै प्रकृतिमा रमेर उनको बाल्यकाल बित्यो । सन् १८४९ मा म्युरको परिवार बसाइँ सरेर अमेरिका गए । विन्सकन्सिनको फार्म हाउसमा बसे ।

अमेरिकाको विशाल ल्याण्डस्केप, आँखाले नभ्याउने फार्म, निर्मल बगिरहने खोला र प्राकृतिक भूदृश्यले उनलाई मुग्ध बनायो । यहाँ उनको कल्पनाशीलताले बलियो पखेटा हाल्यो । डन्वारमा अंकुराएको प्रकृतिप्रेम यहाँ फक्रिन थाल्यो । उनले प्रकृति बुझ्ने अठोट गरे । जुत्ताको तुना कसे । सन् १८६७ मा उनले इण्डियानादेखि मेक्सिकोको खाडीसम्म १ हजार माइलको पैदल यात्रा गरे । उनको त्यो अनुभव ‘अ थाउजेण्ड माइल वाक टु द गल्फ’, पुस्तकमा पढ्न सकिन्छ । त्यस्तै सन् १८७९ मा अलास्कामा गएर आदिवासीहरूको संस्कृति र हिमतालबारे पनि अध्ययन गरे ।

जोन म्युरमाथि विभिन्न व्यक्ति, लेखक र चिन्तकको प्रभाव परेको देखिन्छ । बुवा ड्यानिएल म्युरको उनी माथि गहिरो प्रभाव थियो । ड्यानिएल आध्यात्मिक प्रवृत्तिका अनुशासित व्यक्ति थिए । सादा जीवन, उच्च विचार उनले बुवाबाट सिके । राल्फ वाल्डो इमर्सनको ट्रान्सेन्टडेन्टालिज्म्बाट पनि उनी प्रभावित थिए । ईश्वर प्रकृति मार्फत प्रकट हुन्छ भन्ने इमर्सन उनका लागि आध्यात्मिक पिता सरह थिए ।

हेनरी डेभिड थोरोको वाल्डन उनको मन पर्ने पुस्तक थियो । वाल्डन पोखरी छेउको निर्जनतामा थोरोले दुई वर्ष दुई महिना दुई दिन प्रकृतिको सानिन्ध्यमा बिताएका थिए, आत्मनिरीक्षण गर्दै । प्राकृतिक लयमा सरल र सहज, न्यून आवश्यकतामा बाँच्न गरेको त्यो प्रयोग खासमा थोरोको आध्यात्मिक यात्रा थियो । त्यही अनुभवको वृत्तान्त समेटिएको पुस्तक थियो, वाल्डन । त्यस्तै स्कटिस इतिहासविद् थोमस कार्लाइलको प्रकृति, आध्यात्म र जीवनमा नैतिकताको महत्वको अवधारणाबाट पनि उनी प्रभावित थिए ।

अमेरिकामा म्युर योसेमेटी उपत्यकाको प्राकृतिक सुन्दरता र आध्यात्मिक महत्ता देखेर जति मुग्ध भए, व्यावसायिक भेडा पालन निःसृत अनियन्त्रित चरिचरन देखेर उत्तिकै चिन्तित भए । कहाँसम्म भने उनले भेडाको वथानलाई ‘खुर भएको सलह’ भनेका थिए । प्रकृतिलाई त्यसको नैसर्गिक स्वरुपमा रहन, बाँच्न र हुर्कन दिनुपर्छ भन्ने सोच उनको थियो । उनको निम्ति प्रकृति प्रकृति मात्र थिएन, आध्यात्मिक स्थल थियो । अमेरिकी सरकारले संरक्षणको नीति नबनाउने हो भने भौतिक विकासको अन्ध दौडले योसेमेटी उपत्यकालाई ध्वस्त बनाउने ठाने र संरक्षण अभियानमा अग्रपङ्क्तिमा रहेर डटे ।

विभिन्न पत्र–पत्रिकामा संरक्षणको महत्व र आवश्यकता औंल्याउँदै लेखहरू लेख्न थाले । योसेमेटी उपत्यका जोगाउन आह्वान गरे । विस्तारै उनको विचारले मान्यता पाउँदै गयो । त्यसै पैरवी र अभियानको फलस्वरुप अमेरिकी सरकारले सन् १८९० मा योसेमेटी राष्ट्रिय निकुञ्जको स्थापना गर्‍यो । म्युरको प्रकृतिसँग गहिरो प्रेम र समर्पणभाव नहँुदो हो त उनको पैरवीले वैधानिकता पाउने थिएन । बलियो नैतिक धरातल, प्रकृति र जैविक विविधताबारे विशद् ज्ञान र निरन्तरको अभियानको कारण उनको नाम त्यतिबेलासम्म आदरसाथ लिइने नाम बनिसकेको थियो । योसेमेटी राष्ट्रिय निकुञ्ज र जोन म्युर पर्यायवाची शब्द हुन् । सेक्वोइया एण्ड किंग्स् कानोन राष्ट्रिय निकुञ्जको स्थापनामा पनि म्युरको योगदान छ । विशाल गोलाइ भएको हजारौं वर्ष पुरानो वृक्ष सेक्वोइयाको फडानी बढ्दै गएपछि त्यसको संरक्षणको लागि उनी जुटेका थिए ।

जथाभावी निर्माण गरिने पूर्वाधारहरूले जैविक विविधता र इकोसिस्टमलाई नकारात्मक असर पारेको छ । अधिकांश वातावरणीय अध्ययनहरू औपचारिकता मात्र भएको संरक्षणविद्माझ चर्चा छ । जोन म्युर आफ्ना समयमा टिम्बरको निम्ति गरिने वन फडानी र हेचहेची उपत्यकामा ड्याम निर्माणको खिलाफ लडेका थिए

जोन म्युरले प्रकृति संरक्षणमा दूरगामी प्रभाव पार्न सक्नुमा उनको तात्कालिक राष्ट्रपति थियोडोर रुजवेल्टसँगको मित्रताको ठूलो भूमिका छ । सन् १९०३ मा योसेमेटी राष्ट्रिय निकुञ्जमा रुजवेल्टको भ्रमण हुँदा पहिलोपटक म्युरले उनलाई भेटे । त्यही वर्ष यी दुईले योसेमेटी राष्ट्रिय निकुञ्जमा तीनदिने क्याम्पिङ गरे । क्याम्पिङको दौरान उनीहरू ग्लेसियर हेर्न पुगे । वोटिङ गरे । र, गरे अमेरिकाको प्राकृतिक स्थल, अरण्यक्षेत्र र स्मारकहरूको कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा विस्तृत कुराकानी । खासमा रुजवेल्ट म्युरलाई गम्भीरतापूर्वक सुन्थे । रुजवेल्ट स्वयं यायावर र शिकारी । प्रकृतिसँग उनको सम्बन्ध यसै पनि गहिरो थियो । रुजवेल्ट र म्युरबीच मित्रता कस्सिंदै गयो । रुजवेल्ट म्यूरको संरक्षण सम्बन्धी ज्ञान र समर्पणबाट प्रभावित थिए । म्युरले त्यो मित्रतालाई प्रकृतिको हितको निम्ति भरपुर उपयोग गरे । परिणामस्वरुप रुजवेल्टले आफ्नो कार्यकालमा असंख्य राष्ट्रिय निकुञ्ज, राष्ट्रिय स्मारक र राष्ट्रिय वन क्षेत्र घोषणा गरे ।

प्रकृति संरक्षणमा अतुलनीय विरासत छाडेर २४ डिसेम्बर, १९१४ मा म्युरको निधन भयो । अमेरिकी सरकार र अन्य संरक्षण संस्थाहरूले उनको योगदानलाई सम्मान गर्न कसर बाँकी राखेनन् । मृत्युको दुई वर्षपछि, सन् १९१६ मा स्थापना गरिएको नेशनल पार्क सर्भिस त्यस्तै एक सम्मान थियो । नेशनल पार्क सर्भिसले म्युरको अवधारणालाई नै संस्थाको मिसन बनायो– भावी पुस्ताको निम्ति राष्ट्रिय निकुञ्ज र प्राकृतिक स्मारकहरूको संरक्षण ।

सन् १९०८ मा क्यालोफोर्नियाको रेडवुड वन रुजवेल्ट सरकारले म्युरलाई समर्पित गर्‍यो । वास्तवमा त्यो व्यक्ति म्युरभन्दा म्युरको संरक्षण सम्बन्धी दृष्टिकोणको अनुमोदन थियो । म्युरको तस्बिर राखेर हुलाक टिकट छापियो । पदमार्ग र हिमचुलीको नामकरणमा म्युर राखियो । त्यस्तै सन् १९६४ मा क्यालिफोर्नियाको मार्टिनेजमा जोन म्युर नेशनल हिस्टरिक साइट घोषणा गरियो, जहाँ उनले जीवनको पछिल्लो २४ वर्ष बिताएका थिए । म्युरको अध्ययन कक्ष, घर र फलफूल बगैंचा आदिले ऐतिहासिक स्थलको मान्यता पायो । कहाँसम्म भने, उनलाई राष्ट्रिय निकुञ्जका पिता भनियो । जन्मले स्कटिस संरक्षणविद्लाई अर्को देशले दिएको त्यो हदको सम्मानले प्रकृति संरक्षणको राजनैतिक सिमाना हुँदैन भन्ने चरितार्थ गरेको छ ।

नामकरण गर्ने सवालमा नेपालले यो उदाहरणबाट सिक्नुपर्छ । राजनीतिभन्दा बाहिरका क्षेत्रहरू जस्तैः चिकित्सा, जैविक विविधता, पर्यावरण, भूगोल, इतिहास, दर्शन, मानवशास्त्र, संगीत, साहित्य, खेलकुद आदिमा विशिष्ट योगदान गरेका व्यक्तिहरूलाई समर्पित गर्दै एअरपोर्ट, हाइवे, पुल, पदमार्ग, हिमचुली, सार्वजनिक उद्यान, रंगशाला, सम्मेलन हल आदिको नामकरण गर्नु धेरै उत्तम हो । सृजनात्मक पनि । असल मान्छेको सम्मानमा पो लागिपर्ने हो सरकार । हाम्रो दुर्भाग्य, एकछत्र राजनीतिक व्यक्तिकै मात्र सम्मान छ- एकाध लेखक, गायक र पर्वतारोहीको सालिक अपवाद मान्दा ।

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज सन् १९७३ मा स्थापना भयो । संसारकै पहिलो राष्ट्रिय निकुञ्ज, अमेरिकाको एलोस्टोन राष्ट्रिय निकुञ्जभन्दा १०१ वर्षपछि । अहिले वन, वासस्थान तथा वन्यजन्तु संरक्षणको निम्ति राष्ट्रिय निकुञ्ज लोकप्रिय रणनीति भएको छ । तर संरक्षणको सफलताले चुनौती पनि थपेको छ-मानव वन्यजन्तु द्वन्द्व । निकुञ्ज र जैविक मार्गको आसपास बसोवास गर्ने स्थानीय समुदाय तथा आदिवासी जनजातिलाई वन्यजन्तुले पुर्‍याउने क्षतिको न्यूनीकरण ठूलो चुनौती छ ।

आफ्नै धरातलीय यथार्थमा टेकेर हामीले संरक्षणको रणनीति बनाउनु छ । सांस्कृतिक विविधता, आर्थिक विपन्नता, प्राकृतिक स्रोतमाथिको निर्भरता र वन क्षेत्र नजिकैको बसोबास हाम्रा यथार्थ हुन् । हामीसँग परम्परागत तथा आदिवासी ज्ञान प्रणाली छ । तर, जलवायु संकट पनि सामुन्ने छ । जथाभावी निर्माण गरिने पूर्वाधारहरूले जैविक विविधता र इकोसिस्टमलाई नकारात्मक असर पारेको छ । अधिकांश वातावरणीय अध्ययनहरू औपचारिकता मात्र भएको संरक्षणविद्माझ चर्चा छ । जोन म्युर आफ्ना समयमा टिम्बरको निम्ति गरिने वन फडानी र हेचहेची उपत्यकामा ड्याम निर्माणको खिलाफ लडेका थिए ।

रेलवे, हाइवे, एअरपोर्ट र केबलकार जस्ता पूर्वाधार निर्माणका चुनौती हाम्रोसामु आज पनि छन् । यद्यपि म्युरले खनेको संरक्षणको गोरेटोमा धेरै परिवर्तन भइसकेको छ । संरक्षण सहभागितामूलक भएको छ । संरक्षण रणनीति, सुशासन र व्यवस्थापन पद्धतिमा अनेकन् प्रयोग र अभ्यासहरू भएका छन् । पारिस्थितिक प्रणालीको स्वास्थ्य नबिगारिकन ल्याउने समृद्धि अबको आवश्यकता हो । चुनौती पनि । त्यो चुनौती सामना गर्न हामीलाई म्युरहरूको प्रेरणा छ ।

‘प्रकृतिसँग हिंड्दा हरेक पटक हामीले खोजेको भन्दा बढी पाउँछौं । पर्वतले मलाई बोलाएको छ, म जानै पर्छ ।’

– जोन म्युर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?