+
+

१२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते ९:१४

१५ भदौ, बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना १२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास भएको छ ।

यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।

प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजना अनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ ।

पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ ।

दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपैयाँ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीसँग संयुक्त रूपमा ५ वर्षभित्र काम सक्ने गरी ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौता भएको छ ।

अस्पताल भवनको उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन् ।

नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा ओपीडी, आपतकालीन उपचार, इमर्जेन्सी र इन्डोर सर्भिस कक्षसहित १२ सय बेड रहने छन्  ।

साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।

‘क्याप साइट-आशिष-रेलिगेर’ जेभीसँग ठेक्का सम्झौता भई भवन निर्माण पूर्व तयारीका कामहरु गत वैशाखदेखि नै भइरहेको पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख इन्जिनियर पोखरेलले जानकारी दिए । क्याप साइट भारतीय प्रतिष्ठित निर्माण कम्पनी हो । आशिष र रेलिगेर नेपाली कम्पनी हुन्  ।

गत पुस २६ गते भएको ठेक्का सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ ।

सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।

१२ सय शय्याको अस्पताल सञ्चालनमा आएपछि यसले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने छ । नयाँ अस्पताल भवनले बिरामीलाई उपचारमा सहजतासँगै खस्केको बुटवलको व्यापार व्यवसायलाई समेत राहत दिने छ ।

प्रदेशको स्थायी राजधानी दाङ कायम भएपछि खस्केको बुटवलको व्यवसाय दिगोरुपमा चलायमान र गुल्जार बनाउन यो अस्पताल ‘गेमचेन्जर’ प्रोजेक्ट हुने विश्वास बुटवलवासीले गरेका छन् । ‘बुटवलको गेमचेन्जर लाइफलाइन भनेकै बुटवलमा बन्ने १२ सय शैय्याको अस्पताल हो,यसले बिरामीको उपचार मात्रै गर्ने छैन, खस्केको बुटवलको व्यापार व्यवसायलाई बचाउन समेत योगदान गर्नेछ,’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने ।

लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोखरेलको पालामा नै बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा उपलब्ध गराउने गरी ‘ड्रिम प्रोजेक्ट’को रुपमा अघि बढाइएको थियो ।

तर, ठेक्का प्रक्रिया विवादास्पद भएपछि दुईपटक रद्द गरिएको थियो । भवन निर्माण मापदण्डको ‘स्पेसिफिकेसन’मै आशंका भएपछि दुवै टेन्डर रद्द गरिएको थियो ।

तेस्रोपटक आह्वान भएको टेण्डर स्वीकृत भई गत पुस २६ गते भएको ठेक्का सम्झौता भएको थियो ।

चन्द्रशम्शेरका पालामा बनेको थियो यो अस्पताल

राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा १९६७ सालमा ६ बेडको अस्पताल निर्माण भएकाेमा २०२४ सालमा ५० बेडमा विस्तार भएको थियो ।

२०५० सालमा १ सय बेडमा विस्तार भएको अस्पतालमा २०७२ सालबाट सरकारबाट ३ सय र विकास समितिबाट १०० गरी ४ सय बेडमा स्तरोन्नति भएको थियो । अहिले ५२४ बेडमा बिरामीको उपचार भइरहेको छ ।

१२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिनेछ ।

अस्पतालबाट अहिले बहिरंग सेवातर्फ जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्लास्टिक सर्जरीसहित १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन् ।

परीक्षणतर्फ प्याथोलोजी, एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, ईईजी, ओपीजी, इकोकार्डीओग्राम लगायतका सेवा उपलब्ध छन् । सबै उपचारका लागि ७४ विशेषज्ञ डाक्टरसहित ६ सय बढी स्वास्थ्यकर्मी कार्यरत छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिले ८ शय्या रहेको बच्चाको आईसीयु अहिले ३३ शैय्या पुगेको छ । वयस्कका लागि ६ शय्या रहेको आईसीयू अहिले २६ शय्या पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?