+
+
सन्दर्भ : कुशे औंसी :

‘बा’माथि बनेका १० फिल्म

यो साता हामी यहाँ कुशे औंसीका अवसरमा विभिन्न समयमा, विभिन्न स्थानमा, विभिन्न भाषामा बनेका त्यस्ता १० वटा फिल्महरूको चर्चा गर्दैछौं, जसको मुख्य तत्व बासँग जोडिएका भावना रहेका छन् । यी कति सन्तान र पिताका संयुक्त यात्राका कथा छन् त कति सन्तानप्रति बाले निर्वाह गरेका भूमिकाका ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १०:०१

सोमबार कुशे औंसी । अर्थात्, बाको मुख हेर्ने वा बालाई सम्मान गर्ने दिन । यो दिन कतिपय छोराछोरीले आफ्नो जीवनमा पिताको योगदानको कदर गर्दै उनलाई विभिन्न तरिकाले सम्मानित गर्छन् भने कतिले आफ्ना प्रातः स्मरणीय पिताको सम्झना गर्छन् । मानवीय सम्बन्धको कसीमा छोराछोरीको बा-आमासँग जत्तिको प्रगाढ सम्बन्ध अन्य विरलै हुने गर्छन् । त्यसैले पनि होला, सिनेमा, साहित्य र कलाले यो सम्बन्धका आयामहरूलाई निकै गहिरोसँग उधिन्ने प्रयास गर्दै आएको छ ।

सिनेमा र कलाले सधैं मानवीय सम्बन्ध र भावनाका केस्राहरू केलाउने काम गरेका छन् । यसक्रममा कतिपय फिल्मले मानिसलाई उसकै आफ्नो सुषुप्त भावनासँग साक्षात्कार गराइदिन्छन् भने कतिमा नयाँ दृष्टिकोणको निर्माण गर्न पनि मद्दत गरिरहेका हुन्छन् ।

यो साता हामी यहाँ कुशे औंसीका अवसरमा विभिन्न समयमा, विभिन्न स्थानमा, विभिन्न भाषामा बनेका त्यस्ता १० वटा फिल्महरूको चर्चा गर्दैछौं, जसको मुख्य तत्व बासँग जोडिएका भावना रहेका छन् । यी कति सन्तान र पिताका संयुक्त यात्राका कथा छन् त कति सन्तानप्रति बाले निर्वाह गरेका भूमिकाका । यो कुनै उत्कृष्ट फिल्महरूको सूची होइन । यसलाई केवल ‘बा’ भन्ने भावनासँग जोडिएका फिल्मको सूची मात्रै मान्नुहोला । र, यसमा थुप्रै सुन्दर फिल्महरू छुटेका छन् भन्ने पनि ।

द पर्स्युट अफ ह्याप्पिनेस (२००६)         

क्रिस गार्डनर । द पर्स्युट अफ ह्याप्पिनेस हेरेका मानिसका लागि यो केवल नाम होइन । यो एउटा भावनाको नाम हो । ५ देखि १० वर्ष उमेरका सन्तानलाई हुर्काइरहेका पिताहरू यो भावनाको अर्थ बुझ्छन् । भर्खरै एकल पिता बन्न पुगेका क्रिस (विल स्मिथ) को आफ्नो भविष्यको चिन्ता, रोजगारीको खोजी र छोरा (जेडन स्मिथ) को रेखदेखको यो कथा क्रिस गार्डनरको मेमोअरमा आधारित फिल्म हो । गाब्रियल म्याक्किनोको निर्देशनमा बनेको यो फिल्मलाई बाउ-छोराको ‘बेस्ट बोन्डिङ’ भएको फिल्म मानिन्छ । फिल्ममा विल स्मिथका छोरा जेडनले नै उनको छोराको भूमिकामा अभिनय गरेका छन् ।

१९८१ को सान फ्रान्सिस्कोमा यी बाबु-छोराको जीवन संघर्षले हेर्नेलाई द्रवित बनाइदिन्छ, खासगरी सार्वजनिक शौचालयमा रात बिताउनु पर्दाको दृश्यले ।

इन द नेम अफ द फादर (१९९३)

पर्स्युट अफ ह्याप्पिनेस जस्तै इन द नेम अफ द फादर पनि एक बायोग्राफिकल (जीवनकथात्मक) फिल्म हो । यो जेरार्ड प्याट्रिक कनलन नामक आइरिस युवकको कथा हो, जसलाई लण्डनको एउटा पबमा भएको विस्फोटको योजनाकारको मिथ्या आरोपमा बेलायत सरकारले १५ वर्ष जेल हालेको थियो । तर, यो फिल्मको अन्तर्यमा भने उसको आफ्ना पितासँगको सम्बन्धका पत्रहरू छन् ।

आफ्नो पिताको हत्या गर्ने धम्की दिएपछि कसरी छोराले आफूले नगरेको अपराध कबुल गर्छ, छोरालाई निर्दोष सावित गर्न बाबुले कतिसम्म बलिदानी गर्न सक्छ भन्ने भावनात्मक कथा हो इन दन नेम अफ द फादर । जीम सेरिडानको निर्देशन एवं आइरिस स्वतन्त्रताको आन्दोलनको पृष्ठभूमिमा बनाइएको यो फिल्म अभिनेता ड्यानियल डे लुइसको अभिनयका लागि पनि स्मरणीय छ ।

द लायन किङ (२०१९)

द लायन किङ यसै नाममा १९९४ मा बनेको एनिमेसन फिल्मको लाइभ-एक्सन रिमेक हो । यो जंगलको कथा हो तर हेर्दै जाँदा लाग्छ, यो जंगलको सेटिङमा कोरिएको मानवीय भावना र मूल्यहरूको गाथा हो । जंगलको राजा भनेर मानिसले तोकिदिएको सिंहको एउटा परिवारको कथा हो । जहाँ दरबारिया षड्यन्त्र, शक्तिका लागि हुने खिचातानी, घात र प्रतिघातको शृंखला मान्छेकै जस्तो छ । र, छ- धोकापूर्ण तरिकाले दोषी करार गरेर आफ्नो राज्यबाट टाढा पुर्‍याइएको एउटा सिंह कुमार-सिम्बा । उसको पिता मुफासा, जो शक्तिशाली राजा थिए, उनको देहान्त भइसकेको छ । र, त्यसको दोष उसकै टाउकोमा हालिएको छ ।

सानैदेखि सिम्बा मुफासाको अत्यन्त प्रिय थियो, पिता मुफासा उसको आदर्श । एउटा छोराले कसरी फेरि फर्किएर आएर आफ्नो बाबु र आमामाथि भएको अन्यायको बदला लिन्छ भन्ने कथा नै द लायन किङ को कथाको शरीर हो । यो शरीरमा जुन रगत बग्छ, त्योचाहिं बाउ-छोराको प्रेम हो ।

लाइक फादर लाइक सन (२०१३)

कल्पना गर्नुस्, तपाईंले जुन सन्तानमाथि प्राण आच्छादित गर्नुभएको छ, त्यो सन्तान तपाईंको होइन भन्ने थाहा भयो भने के गर्नुहुन्छ ? यो कथा त्यस्तै आमाबाबुको हो । एउटा सम्पन्न शहरी परिवार छ । आधुनिक सुख-सुविधा र विलासिताको जीवन बाँचिरहेको । आर्किटेक्ट बुबा काममा व्यस्त छन् । छोराले आफूलाई कसरी आदर्श मानिरहेको छ भन्ने उनलाई थाहा छैन । तर, छोराको एउटा जन्मदिनमा थाहा हुन्छ कि, यो उनीहरूको छोरा होइन । एउटा गल्तीका कारण उनीहरूको छोरा गाउँको एक गरिब परिवारमा पुगेको छ र त्यो गरिब एवं जँड्याहा बाबुको छोरा यहाँ आइपुगेको छ ।

मानवीय सम्बन्धका केस्रा केलाएर कथा भन्न सिपालु जापानी निर्देशक हिरोकाजु कोरेइदाको यो फिल्मले तपाईंलाई भावनाको अर्कै संसारमा लिएर जानेछ । आर्थिक सम्पन्नता भए पनि पारिवारिक माया र आत्मीयता कसरी गरिब परिवारले सिकाइदिन्छ भन्ने पनि यसमा छ । योभन्दा पनि प्रमुख कुरा हुर्किंदै गरेको सन्तान र कामकाजी बाबुआमाका बीचको सम्बन्धको पत्र यसले केलाइदिन्छ । यो फिल्मले दर्शकलाई पारिवारिक सम्बन्धका साथै आफ्नो मनभित्र पनि चियाउने अवसर दिनेछ ।

लाइफ इज ब्युटिफुल (१९९७)

यो फिल्मलाई चाहिं वास्तविक अर्थमा हृदय निचोर्ने फिल्म भन्न सकिन्छ । रोबेर्तो बेनेनी निर्देशित एवं अभिनित लाइफ इज ब्युटिफुल दोस्रो विश्वयुद्ध र यहुदीहरूमाथि नाजीको बर्बरतालाई एउटा सानो परिवारले भोगेको ट्रयाजेडीका माध्यमबाट दर्शाउने सिनेमा हो । दोस्रो विश्वयुद्ध सुरु भएको वर्ष सन् १९३९ बाट फिल्म सुरु हुन्छ । युद्ध चरममा पुगेपछि र हिटलरको दमन दुर्दान्त बन्दै गइरहेका बेला इटालीको एक शहरमा पुस्तक पसल चलाएर बसेको यहुदी युवालाई उसको सानो छोरासहित जब नाजी क्याम्पमा पुर्‍याइदिन्छ तब फिल्मको मुख्य भाग सुरु हुन्छ ।

कन्सन्ट्रेसन क्याम्पमा पुगिसक्दा पनि कसरी बाबुले छोरालाई आफ्नो कल्पनाशीलताको बलमा त्यो त्रासदीबाट जोगाउने प्रयास गर्छ भन्ने नै यो फिल्मको कथाको मुटु हो । उसले त्यो अवस्थालाई पनि एउटा खेलमा बदलेर छोराका लागि अर्कै समानान्तर संसारको सृजना गर्ने प्रसंगले जतिसुकै खराब अवस्थामा पनि हिम्मत नहार्न र बाँच्न सिकाउँछ । यो फिल्मलाई केही समीक्षकहरूले आजसम्मको महान् फिल्म समेत भनेका छन् ।

दंगल (२०१६)

नितेश तिवारी निर्देशित दंगल लाई धेरैले खेल फिल्म मान्दछन् । यसको धमनी कुस्तीले नै बनेको छ तर त्यसमा प्रवाह हुने तत्व चाहिं बाबु र छोरीबीचको एकआपसको प्रेम नै हो । सुजीत सरकारको पिकु जस्तै यो पनि वृद्धावस्थातिर ढल्किंदै गरेको बाबु र जवानीतिर लम्किइरहेकी छोरीको बीचको सम्बन्धको अनौठो कथा हो ।

फिल्म एक पूर्व कुस्तीबाज महावीर सिंह फोगाट (आमिर खान)को कथा हो, जसलाई ओलम्पिकमा गोल्डमेडल जित्न सकिएन भन्ने पछुतोले सताइरहन्छ । यसलाई पूरा गर्नका लागि ऊ छोराको प्रतीक्षामा छ । एक दिन उसलाई बोध हुन्छ, पदक त छोरीले पनि ल्याउन सक्छन् ! त्यसपछि उसले गाउँ समाजको विरुद्ध गएर कसरी आफ्ना छोरीलाई कुस्तीबाज बनाउँछ भन्ने कथा यसमा छ । फिल्मले सुषुप्त ढंगमा छोराछोरीको करिअर बनाउनमा बाबुआमाले कसरी योगदान गर्छन् तर सफलताको सिंढीमा पाइला हालेपछि छोराछोरीले कसरी त्यसको उपेक्षा गर्छन् भन्ने पनि दर्शाउँछ ।

पोस्टम्यान इन द माउन्टेन (१९९९)

पोस्टम्यान इन द माउन्टेन बाबु-छोराको सम्बन्धमाथि बनेका केही प्रभावशाली फिल्ममध्ये एक हो । तीन दशकभन्दा लामो समय पहाडमा हल्काराको काम गरेको बाबु छ । र, बाबुको बिंडो थामेर पहिलो पटक पहाडमा यात्रा गर्न कस्सिएको जवान छोरा छ । र, छ उनीहरूको कुकुर । आफ्नो सेवा अवधि सकिएपछि बाबु अन्तिमपटक छोरालाई बाटो देखाउनका लागि खुट्टामा चोट बोकेर पहाड उक्लिंदैछ भने छोरा पहिलो पटक बाबुसँग यति लामो यात्रा गर्दैछ । सधैं काममा रहने र कहिलेकाहीं मात्रै घरमा आउने बाउ र आफ्नो बाउलाई पर्खेर बस्ने छोराबीच आत्मीयता बन्न सकेको छैन । कसरी यो यात्राले उनीहरूलाई एकअर्कालाई चिन्न सघाउँछ र नजिक ल्याउँछ भन्ने कथा नै पोस्टम्यान इन द माउन्टेन को कथा हो ।

अत्यन्तै सुन्दर चिनियाँ पहाड, फाँट र जीवनको चित्रण गर्ने हुवा जियाकी निर्देशित यो फिल्म जीवन बोध गराउने सुन्दर फिल्म हो । सम्बन्धका डोराहरू कति मसिना पोयाबाट खिपिन्छन् भन्ने यसले देखाइदिन्छ ।

टेकन (२००३)

यो सूचीमा पर्ने टेकन एउटा मात्रै एक्सन थ्रिलर हो । हुनत, फ्रान्सिस फोर्ड कोप्पोलाको फिल्म द गडफादर पनि पितापुत्र सम्बन्धमाथि बनेको गजब फिल्म हो । तर, एउटा बाबुले आफ्नी छोरीका लागि एक्लै लडेको यो लडाईं अद्भुत छ । सिन्डलर्स लिस्ट जस्ता थुप्रै प्रभावशाली फिल्मका अभिनेता लियाम नेसनले यसमा एक रिटायर्ड सुरक्षा अधिकारीको भूमिका निर्वाह गरेका छन्, जो आफ्नी किशोरी छोरीको नजिक पुग्ने प्रयास गरिरहेको छ । छुट्टिइसकेकी पत्नीसँग बस्ने छोरी, जो गायिका बन्न चाहन्छे, ऊ पेरिस भ्रमणमा हिंड्दा अल्बानियाको सेक्स ट्राफिकिङ र्‍याकेटको अपहरणमा परेपछि उनको उद्धारमा बाबुले गर्ने प्रयत्नको कथा हो-टेकन ।

आफ्ना सन्तानको जीवनका लागि अभिभावकले कतिसम्म प्रयास गर्न सक्छन् भन्ने उदाहरण यो फिल्मले प्रस्तुत गर्दछ । यसको दोस्रो र तेस्रो भाग पनि आएका छन् ।

फाइन्डिङ निमो (२००३)

यो २००३ को एनिमेसन फिल्म पनि द लाइन किङ जस्तै जीवजन्तुको सहारा लिएर भनिएको मान्छेकै कथा हो भन्दा हुन्छ । अष्ट्रेलियाको क्विन्सल्यान्ड नजिक ग्रेट ब्यारियर रिफ (समुद्र) को बासिन्दा क्लाउनफिस जातको एउटा माछा छ-मार्लिन । ऊ आफ्नो छोरा निमोको सुरक्षालाई लिएर अति संरक्षणवादी छ ।

जब एक दिन उसको प्रिय पुत्र जलतरंगमा गायब हुन्छ, तब सुरु हुन्छ-निमोलाई खोज्ने मिसन । यो मिसनमा आफ्नो एक मित्रका साथ मार्लिन नामक कहाँ कहाँ पुग्छ, केके गर्छ र कसरी सिड्नीको एक डेनिस्टको एउटा ‘फिस ट्यांक’मा आफ्नो छोरा पुगेको पत्ता लगाउँछ- तपाईंलाई यो एनिमेसन फिल्मले चकित बनाइदिनेछ ।

इट ड्रिंक म्यान वुमन (१९९४)

एकजना रिटायर्ड सेफ र उनका तीन जवान अविवाहित छोरीको कथा हो-इट ड्रिंक म्यान वुमन । परिवार एउटै, घर एउटै तर ताइपेइको यो सानो परिवारलाई आपसमा जोड्ने काम भने गर्छ-प्रत्येक आइतबार बाबुले छोरीहरूका लागि तयार पार्ने परिकारले । टेबलमा बाबु र परिकारले पर्खिरहन्छन् । अनि आइपुग्छन् छोरीहरू-परिवारलाई सुनाउनुपर्ने कुराहरू लिएर । कहिले यी कुरा हाँस उठ्दा हुन्छन्, कहिले रीस उठ्दा त कहिले बाउको मनै हल्लाइदिने खालका । केही उद्घोष गर्नुपर्दा यही टेबललाई छान्नेचाहिं परिवारको परम्परा नै बनेको छ ।

प्याजको पत्र जसरी विस्तारै खुल्दै जाने पात्रको पात्रता आङ ली निर्देशित यो फिल्मको विशेषता हो । दिल टुटेर आध्यात्मिक संसारमा लागेकी जेठी, आधुनिक सोचकी एजिक्युटिभ माइली र प्रेममा चुर्लुम्म डुबेकी कान्छी छोरीका कथा भए पनि यसको मूल प्रश्न छ-के खानपिन, यौन र प्रेमका कुराले मात्रै जीवन पूर्ण हुन्छ ? कि त्यससँगै कुनै बृहद् लक्ष्य पनि चाहिन्छ ? परिवारलाई फरक दृष्टिबाट हेर्न र बाबुको चरित्रलाई बुझ्नका लागि यो फिल्म पनि उपयोगी हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?