+
+

सञ्चारमन्त्री गुरुङको असन्तुष्टि : कहीं नभएको जात्रा गण्डकीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १०:३५

१५ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा देखिएको सत्तारुढ दलहरू बीचको किचलोप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असन्तुष्टि व्यक्त गरेका छन् ।

लामो समयसम्म पनि सरकार विस्तार हुन नसकेको विषयलाई लिएर उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

शनिबार पोखरामा उनले, ‘कहीँ नभएको जात्रा गण्डकीमा भएको’ बताए । गण्डकी सरकार विस्तार र भागबन्डाका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘कहीं नभएको जात्रा हाँडीगाउँमा भन्थे अहिले गण्डकीमा भएको छ ।’

उनले असन्तुष्टि व्यक्त गरेको मुख्य विषय यसअघिकै सरकारमा सहभागी भएका दिपक मनाङे र फणीन्द्र देवकोटालाई पुन: सरकारमा सहभागी गराउनु हो ।

बिहीबार मात्रै कांग्रेस-एमालेबीच ९ मन्त्रालय बनाउने सहमति हुँदा उनीहरू दुवै मन्त्री कायमै हुने भएका छन् ।

उनले केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार गठन हुनुपर्ने भन्दै दु:खमा साथ दिएको भनेर समीकरणभन्दा बाहिरकोलाई मन्त्री बनाउन नहुने तर्क गरे ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गलत काम गरिरहेको बताउँदै मन्त्री गुरुङले गण्डकी सरकार कसैको निजी कम्पनी नभएको बताए ।

‘मलाई दु:खमा साथ दिएको भन्नुहुन्छ । यो उहाँको निजी शासन हो र ? उहाँले प्राइभेट कम्पनी चलाएको होइन होला नि !’, उनले भने, ‘अहिले त माथिको समीकरण हुनुपर्छ । उहाँले त अगाडिको प्रणाली चलाइरहनुभएको छ, यो गलत कुरा हो ।’

मुख्यमन्त्री पाण्डेले आफूलाई साथ दिएका व्यक्तिलाई मन्त्री कायमै राख्न चाहेको भए कांग्रेसकै भागबाट राख्न सुझाव दिए ।

उनले मन्त्रीको संख्या बढाउन भएको सहमतिमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

मधेशमा २० बाट ११ को संख्यामा झारिसकेको अवस्थामा गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद् हुनुपर्ने उनले बताए ।

उनले त्यसभन्दा माथि कांग्रेस-एमालेलाई ४/४ हुने गरी ८ सम्म पुग्न सकिने बताए । ‘७ भन्दा बढी नबढाउने भनेको हो । मधेशमा २० बाट ११ मा झारिसक्यो । यहाँ पनि झार्नु पर्‍यो, ‘ उनले भने, ‘पहिले सहमति गर्ने ४/४ भाग पर्‍यो भने त्यसभित्रबाटै उहाँले मिलाउने हो । यसमा हाम्रो धेरै टाउको दुखाई छैन ।’

यसअघि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा बनाइएको १२ वटा मन्त्रालयलाई एमालेका खगराज अधिकारी आएपछि ७ वटामा झारेका थिए ।

त्यसपछि २ पटकसम्म सर्वोच्चमा मुद्दा दायर गरेर ठूलो दलको नेताका हिसाबले अदालतको आदेशअनुसार नै नियुक्त भएका मुख्यमन्त्री पाण्डेले दीपक मनाङे र फणीन्द्रको सहयोगमा विश्वासको मत पाएका थिए ।

मुख्यमन्त्री पाण्डेले तिनै फणीन्द्र र मनाङेलाई जसरी पनि मन्त्री कायमै राख्न खोज्दा सत्तारुढ दलबीच भागबन्डामा सहमति हुनसकेको थिएन । उनीहरू दुवैजना केन्द्रको सत्ता समीकरण बाहिरका सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?