+
+
१७औं पुस्तकालय दिवस :

रूदानेको `थाहा´गाउँलाई गिज्याइरहेका जीर्ण पुस्तकालय

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ भदौ १५ गते १६:०९

१५ भदौ, हेटौंडा । `थाहा´ आन्दोलनका प्रणेता रूदाने अर्थात रूपचन्द्र विष्ट । विद्रोही स्वावका रूदाने (रूपचन्द्र-दामन-नेपाल) `थाहा´ पाउनुपर्छ भन्थे ।

रुदाने, जसरु, रापसरु, स्वरूपेजस्ता उपनामले परिचित विष्ट १९९० मा दामनको घर्तीखोलामा जन्मिएर २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए । त्यसबेला उनले मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । `थाहा´ आन्दोलनकै क्रममा उनले सामुदायिक पुस्कालय खोले । पालुङमा पछि विस्तारै अरु पनि पुस्तकालय स्थापना भए ।

`थाहा´ आन्दोलनकै जगमा साविक दामन गाविस कार्यालय रहेको ठाउँलाई केन्द्र बनाएर थाहा नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइयो । ४ जेष्ठ २०७१ देखि कार्यान्वयनमा आएको नगरपालिका घोषणा गर्दा पालुङ, बज्रबाराही र दामन गाउँ विकास समितिहरू समावेश गरिए । जनतालाई सुसुचित, जागरुक वन्न अभिप्रेरित गर्ने थाहा आन्दोलन चलाएका रुपचन्द्र विष्टको सम्झनामा यस नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको हो ।

थाहा आन्दोलनका जगमा उभिएका थाहा नगरपालिकाका वर्षौं पुराना पुस्तकालय अलपत्रमात्र छैनन्, दयनीय अवस्थामा गुज्रिएका छन् । जीर्ण पुस्तकालयका किताबमा लागेको धमिराले रूदानेको `थाहा´ आन्दोलनलाई गिज्याइरहेको छ ।

मकवानपुरको उत्तरी ग्रामिण भेग थाहा नगरपालिकामा रहेका अधिकांश पुस्तकालयहरुको अवस्था नाजुक छ । पुस्तकालय भवन छ, किताब पनि छन् तर, धमिरा लागिसकेको । पुस्तकालयमा न पाठक न व्यवस्थापन लथालिंग छ । थाहा नगरपालिकाको शिखरकोटस्थित नवजागृत पुस्तकालय, थाहा-६ बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक सिकाइ केन्द्र, पालुङको जीवनज्योति, ओखरबजारको सुर्योदयलगायतका सामुदायिक पुस्तकालयहरु संरचनामा छन् ।

सरकारले पुस्तकालय दिवस मनाउने भनिरहँदा थाहा नगरपालिकामा रहेको अधिकांश सामुदायिक पुस्तकालयहरुको अवस्था दयनीय छ ।

पालुङमा स्थापना गरिएको जीवनज्योति पुस्तकालय ३ दशकदेखि बन्द छ । पुस्तक धमिराले खाइसकेको थाहा नगरपालिकाका सुचना अधिकारी सुरजकुमार भुजेलले बताए । यो पुस्तकालय भवन टेको लगाएर राखिएको छ । थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको सक्रियतामा वि.सं. २०२२ सालमा पालुङमा स्थापना गरिएको जीवनज्योति पुस्तकालय २०३५ सालसम्म आंशिक चलेको भएपनि २०४८ सालपश्चात् पूर्ण रुपमा बन्द भएको उनले जानकारी दिए ।

पुस्तकालयमा झन्डै पाँच हजार पुस्तक थिए । अहिले धुलिया लागेका केही पुस्तहरु मात्र छन् । बाहिरैबाट हेर्दा २०७२ सालको भूकम्पले भवन चरचरी चर्केको छ । ढल्ने अवस्थामा पुगेको भवनको भरेङ चढ्नै डरमर्दो छ । पुस्तक सबै धमिराले खाएर धूलैधूलो भएका छन् । ‘यो पुस्तकालय पूर्ण रुपमा बन्द भएको झन्डै ३५ वर्ष हुन लागिसक्यो,’ पालुङका मधुकर विक्रम श्रेष्ठले भने, ‘पुस्तकालय पहिला राम्रोसँग चलेको थियो बहुदल आएपछि बन्द भएको अहिलेसम्म खुलेको छैन ।ֹ’

पुस्तकालयभित्र भएका पुस्तक धमिराका आहारा भएका छन् भने व्यक्तिले पढ्न लगेका किताब फिर्ता पनि नगरेको उनीहरू सुनाउँछन् । रुपचन्द्र विष्टले विभिन्न क्षेत्रबाट इतिहास, जीवनी, समाजशास्त्र, दर्शनलगायत किताब ल्याएर पुस्तकालयमा राखेका थिए ।

पाँच सयभन्दा बढी पुस्तकालयका सदस्य थिए । उक्त पुस्तकालयले यस क्षेत्रका बासिन्दालाई पढ्ने बानी बसालेको स्थानीयवासी ध्रुव श्रेष्ठले बताए । ‘यो पुस्तकालयले त्यतिबेलाका युवालाई पढ्ने बानी बसालेको थियो,’ उनले भने ।

दामन–पालुङमा शैक्षिक जागरण ल्याउने उद्देश्यले पालुङमा मात्र होइन, शिखरकोटमा पनि रुपचन्द्रले नवजागृति पुस्तकालय २०२५ सालमा स्थापना गरेका थिए । त्यो पनि लामो समयसम्म बन्द भयो, अहिले आंशिक सञ्चालनमा छ । लामो समय बन्द रहेको पुस्तकालय मधुसुदन रायमाझी अध्यक्ष भएयता आंशिक संचालनमा छ । हाल उक्त पुस्तकालय अनिल विष्टको नेतृत्वमा छ । अहिले पनि पाठकहरुका लागि पुस्तकालय खुल्ने गरेको अध्यक्ष विष्टको प्रतिक्रिया छ ।

नवजागृत पुस्तकालय गोपाल गोपाली र तीर्थदास श्रेष्ठलगायतको प्रयासमा शुभारम्भ भएको थियो । पुस्तकालयको आफ्नै भवन छ । घर भाडामा लगाएर पुस्तकालयले स्रोत संकलन गर्दै आएको छ । आन्दानी भए पनि पुस्तकालयमा पाठक नभएपछि अस्तित्व नै जोगाउन मुस्किल पर्दै गएको भुजेल बताउँछन् ।

थाहा नगरपालिकाको ओखरबजारमा रहेको सूर्योदय पुस्तकालय बन्द अवस्थामा छ । वि.सं. २०४८ सालमा स्थापना भएको पुस्तकालयको आफ्नै भवन छ । भवन भाडामा लगाइएको छ । पुस्तकालय सञ्चालनमा छैन । थाहा नगरपालिका-६ को बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक सिकाइ केन्द्र मार्फत पुस्तकालय सञ्चालनमा रहेको छ ।

थाहाको अन्य पुस्तकालय भन्दा उक्त पुस्तकालय फरक छ । वि.सं. २०७० सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय मकवानपुरको मातृत्वमा स्थापना भएको उक्त पुस्तकालय अहिले थाहा नगरपालिका शिक्षा शाखा मातहतमा छ । दैनिक बिहान र बेलुका नै पुस्तकालय खुल्ने अध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए ।

सरकारले पुस्तकालय दिवस मनाउने भनिरहँदा थाहा नगरपालिकामा रहेको अधिकांश सामुदायिक पुस्तकालयहरुको अवस्था दयनीय छ । थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्टले पुस्तकालयका अवस्थाबारे अब बुझेर आवश्यक काम गर्ने बताए ।

उनले पुस्तकालय सञ्चालनको जिम्मेवारी लिएका बजार व्यवस्थापन समिति, क्लबहरूले जानकारी नगराएको दाबी गरे । `म अब बुझ्छु । के गर्नपर्छ गर्छौं,´ उनले भने ।

वि.सं. २००९ सालमा भीमफेदीमा स्थापना गरिएको ज्योति पुस्तकालयको अवस्था पनि नाजुक छ । यो पुस्तकालय मकवानपुरको पहिलो हो । २०१८ सालतिर हेटौंडामा स्थापना गरिएको हाम्रो पुस्तकालय, २०२८ सालमा तत्कालीन हटिया गाविसमा स्थापना गरिएको धरणीधर पुस्तकालय, २०२५ सालमा स्थापना गरिएको मानस पुस्तकालय र २०३५ सालमा स्थापना गरिएको जनपुस्तकालय पनि उस्तै हालतमा छ । हेटौंडाको पुरानो पुष्पलाल पार्कमा रहेको पुस्तकालय भने सञ्चालनमा छ ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?