+
+

जंगली हात्तीको डरले जाग्राम बस्छन् कोशी टप्पु मध्यवर्तीका स्थानीय

रासस रासस
२०८१ भदौ १५ गते १७:३४
फाइल फोटो।

१५ भदौ, सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुनर्वासका स्थानीय जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जंगलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका हुन् ।

पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराईले नसुतेको एक साताभन्दा बढी भएको बताउँछन्।  उनले राति जंगलबाट आउने हात्तीको त्रासमा राति नसुतेको एक साता भएको बताए । प्रत्येक रात लाइट बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या भएको उनको भनाइ छ ।

दिनभरि बाहिर काम गरेर राति आराम गरिरहेको बेलामा दैनिक जंगलबाट आउने हात्तीका कारण जाग्राम बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताए । हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ छ ।

भट्टाराई जस्तै बराहक्षेत्र–२ पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै छ । दैनिक वन्यजन्तु आरक्ष तथा अन्य जंगलबाट आउने हात्तीका कारण समस्या हुँदै आएको उनले बताए ।

यही भदौ १२ गते राति आएको हात्तीको समूहले घरमा क्षति पुर्‍याएको उनले बताए ।

यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीले आर्थिक तथा भौतिक क्षति गर्ने गरेका छन् । हात्तीपीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आए पनि त्यसले प्रयाप्त नभएको स्थानीय बताउँछन् ।

क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्न स्थानीय सरकार र प्रशासनलाई पटकपटक आग्रह गरिएको मगरले बताए । हात्तीका कारण समस्या हुँदै आएको र यसबाट पीडितलाई सुविधा र सुरक्षा दिन नसकिएको आरक्ष प्रशासनले जनाएको छ ।

गत साउनदेखि हालसम्म एक सयभन्दा बढी परिवारले क्षतिपूर्तिका लागि वन्यजन्तु आरक्षमा निवेदन दिएका बराहक्षेत्र–२ का वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?