+
+

पुस्तकालय दिवसमा र्‍यान्डमद्वारा पुस्तक आदानप्रदान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १९:२१

१५ भदौ, पोखरा । पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर सत्रौँ पुस्तकालय दिवस शनिवार पोखरामा मनाएको छ ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले पुस्तकालयको महत्व र पठन संस्कृतिसम्बन्धी धारणा राखेका थिए । जुन देशमा पठन संस्कृतिको विकास भएको हुन्छ, त्यो देश वास्तविक रूपमा समृद्ध बन्ने उनको भनाइ थियो ।

ज्ञान निर्माणको प्रणालीमा पुस्तकालयको विशेष भूमिका रहने भन्दै उनले स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घीय तहका सरकारले पुस्तकालय विकासमा विशेष लगानी गर्नुपर्ने विचार राखे । गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री किरण गुरुङले आफू आजको ठाउँसम्म आउनुको मूल कारण पुस्तक र पुस्तकालय नै भएको अनुभव सुनाए ।

कक्षा ५ मा पढ्दादेखि नै विद्यालयको पुस्तकालयमा भएका पुस्तकहरूको अध्ययनले राजनीतिक तथा सामाजिक चेत भरेको बताउँदै उनले पुस्तकालय र पुस्तक नै आफ्नो वास्तविक गुरु भएको बताए ।

कार्यक्रममा करिब ५० जनाले आपसमा पुस्तक साटासाट गरेका थिए । हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदान कार्यक्रम गर्ने गर्छ ।

सोही अवसरमा सोसाइटीको नियमित कार्यक्रमअन्तर्गत १०९ औँ शृङ्खलामा आगामी भदौ २९ गते शनिबार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ को दीपक पराजुलीको अवधारणापत्रसहित परिचर्चा हुने जानकारी सचिव नेपालप्रकाश अधिकारीले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?