+

हेला खेपेकी पलेशाले दिलाएको ऐतिहासिक पदक

२०८१ भदौ  १५ गते २०:३७ २०८१ भदौ १५ गते २०:३७

काठमाडौंको बागबजार घर भएका उनका बुबा–आमाले समाजमा अनेक कुराहरु सुन्नुपर्दथ्यो । राम्रोभन्दा नराम्रो कुराहरु बढी सुन्थे । पलेशालाई पनि साथीभाइहरुले जिस्काउँथे ।

हेला खेपेकी पलेशाले दिलाएको ऐतिहासिक पदक

१५ भदौ, काठमाडौं । तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले शुक्रबार पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितिन्। उनले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक जितेकी हुन् ।

नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन थियो । ओलम्पिकमा नेपाली खेलाडीको उपस्थिति सहभागितामा सीमित थियो । तर पलेशाले ६ दशक लामो ओलम्पिकमा पदकविहीन यात्रा अन्त्य गर्दै ओलम्पिकमा पदक जित्ने नेपालको पहिलो खेलाडी बनिन् ।

हुन त पलेशाबाट पारालिम्पिक्समा स्वर्णकै अपेक्षा थियो । तर क्वार्टरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग ८–६ को अग्रता बचाउन नसक्दा स्वर्ण सम्भावना सकियो । पर्नान्डेजले बडी किकबाट लगातार चार अंक जोडेपछि पलेशा १०–८ ले पराजित हुन पुगेकी थिइन् ।

पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् । कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा एक समय ७–७ को बराबरी अवस्थाबाट पलेशा ८–७ ले पछि परेकी थिइन् ।

त्यो अवस्थामा उनले टोकियो पारालिम्पिक्स २०२१ मा कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा चिनियाँ खेलाडीसँगको प्रतिस्पर्धा याद गरिन् । आफ्नो उत्कृष्ट प्रदर्शन दिए पनि चिनियाँ खेलाडीसँग ली युजी १२–९ ले पराजित हुँदै कांस्य पदक जित्नबाट उनी चुकेकी थिइन् । त्यो समय ९–९ को बराबरीबाट अन्तिम १० सकेन्ड सम्हालिन नसक्दा हार व्यहोर्न पुगेकी थिइन् ।

पुनः त्यो ऐतिहासिक पदक नजिक पुगेर हार्न चाहिनन् । पलेशा ८–७ ले पछि पर्दा खेल सकिन ४९ सेकेन्ड बाँकी थियो । खेल सकिन २२ सेकेन्ड बाँकी रहँदा ११–८ को अग्रता बनाएकी उनले १५–८ ले जित्दै इतिहास रचेकी थिइन् ।

जितपछि नेपालको झण्डामा उनी र प्रशिक्षक कविराज नेगी लामाले रिङ परिक्रमा गरेका थिए । त्यहाँ उपस्थित दर्शकहरुले तालीले सम्मान समेत गरेका थिए । ‘म एकदमै खुसी र गर्व महसुस गरेकी छु । मैले १० वर्षको उमेरमा जुन सपना देखेको थिएँ, आज २१ वर्षमा आएर पूरा भएको छ’ ऐतिहासिक जितपछि उनले भनेकी छन्, ‘सबै गुरुहरुलाई म धन्यवाद दिन चाहन्छु ।’

उनले यो सफलता आफ्नो मात्र नभएर नेपालकै भएको समेत बताएकी छन् । ‘म मात्रै होइन, हरेक नेपालीले गर्वका साथ हामीसँग एउटा मेडल छ भन्न सक्छन् । यो कांस्य पनि हाम्रो लागि ठूलो होे, पलेशाले भनेकी छन् ।

पारालाई छाडेर ओलम्पिकमा ६ दशक यात्रामा ९२ खेलाडीले सहभागिता जनाएका छन् । तेक्वान्दोकी संगीना वैद्य २००४, दीपक विष्ट २००८ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ मात्रै छनोट यात्रा पार गरेर ओलम्पिकमा सहभागी भएका हुन् । अन्य सबै खेलाडी कोटा मार्फत ओलम्पिक खेल्दै आएका छन् ।

पारालिम्पिक्समा भने नेपालले सन् २००४ देखि सहभागिता जनाउन थाल्यो । पलेशा पारामा छनोट पार गर्दै पारालिम्पिक्स खेल्ने पहिलो खेलाडी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिक्सको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिक्समा सहभागी भएकी थिइन् ।

गत वर्ष चीनको ह्वाङझाउमा भएको एसियाली पारा खेलकुद अन्तर्गत महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो । ओलम्पिकमा पनि उनले त्यो रेकर्ड कायमै राखिन् ।

नेपाली खेलाडीले ओलम्पिकमा पदक जित्नसक्छ भन्ने स्थापित गरिन् । ‘नेपाल सरकारले राम्रोसँग खेल र राम्रो प्रदर्शन मात्रै भन्नुहुन्थ्यो । तर मेडल ल्याउँछन् भनेर कसैलाई विश्वास हुने थिएन’, उनले भने, मैले गरें। अन्य खेलाडीहरु पनि धेरै क्षमतावान् छन् । उनीहरुले पनि धेरै मौका पायो भने नेपालमा हजार भन्दा बढी मेडल हुनेछन् ।’

पारालिम्पिक्स खेल्न जानुअघि नेपाल तेक्वान्दो संघको सहयोगमा उनले इंग्ल्यान्डको म्यानचेस्टरमा एक महिना अभ्यास गरेकी थिइन् । त्यसले उनलाई धेरै सहयोग गरेको बताउँछिन् । ‘मैले एक महिनामा यति धेरै उपलब्धि हात पार्न सक्छु भने, अरुलाई पनि त्यति नै गर्ने हो भने उनीहरुले पनि सक्छन्’,  उनले भनिन् ।

को हुन् पलेशा ?

पलेशाको जन्म सन् २००३ जुलाई २५ मा भएको थियो । आमा मनिता र बुबा प्रदीप छोरी जन्मिएको खुसी साट्न नपाउँदै आश्चर्यमा परे । किनकि उनको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भाग विकास नै भएको थिएन ।

उनको त्यही अवस्थाका कारण काठमाडौंको बागबजार घर भएका उनका बुबा आमाले समाजमा अनेक कुराहरु सुन्नु पर्दथ्यो । राम्रो भन्दा नराम्रो कुराहरु बढी सुन्थें । पलेशालाई पनि साथीभाइहरुले जिस्काउँथे । पलेशा पनि साथीभाइहरुले देख्छन् कि भनेर सधैं पूरा बाहुला भएको कपडा लगाउँथिन् ।

जावलाखेलस्थित डीएभी स्कुलमा अध्ययन गर्ने क्रममा आमाबुबाले ‘सेल्फ डिफेन्स’का लागि तेक्वान्दो सिकाउने निर्णय लिए । काठमाडौं डोजाङमा भर्ना गरिदिए । तर पलेशा सुरुसुरुमा जान मानिनन् । किनकि उनलाई किकहरु खासै आउँदैनथ्यो, हार्छु भन्ने डर लाग्थ्यो ।

बुबा आमाले जाऊ खेल, तिमी जित या हार, हाम्रो लागि सधैं विजेता हौं भनेर सम्झाउने गर्दथे ।

पलेशाले पनि तेक्वान्दो बुझ्न थालिन् । जाउलाखेल पढ्ने र सातदोबाटोमा तेक्वान्दो सिक्न जान्थिन् ।

त्यही तेक्वान्दो उनको पहिचान बन्यो । सन् २०१६ मा उनी पहिलो पटक राष्ट्रिय टोलीमा परिन् । विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिंदा मात्र १३ वर्षकी थिइन् ।

पलेशाले अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेश्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यू गर्दै पाँचौं भइन् । २०१७ मा लन्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा खेल जित्दै सातौं भइन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितको अनुभव भयो । त्यसपछि त एकपछि अर्को सफलता हात पार्दै आएकी छिन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो फाइट जितेको एक वर्षपछि नै २०१८ मा उनले पहिलो अन्तर्राष्ट्रिय पदक जितिन् । भियतनाममा भएको एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् । सन् २०१९ मा जोर्डन र टोकियोमा गएर प्रतिस्पर्धा गरेपनि पदक जित्न सकिनन् ।

तर २०२१ मा उनले एसियाली युथ पारा गेम्समा पहिलो पटक स्वर्ण जितिन् । कोरोना महामारीको कारण उनले पारालिम्पिक्समा पुग्न छनोट खेल्ने अवसर पाइनन् । तर भाग्यको साथले वाइल्ड कार्डबाट पाराओलम्पिक्स २०२१ मा नेपालबाट प्रतिनिधित्व गर्ने एक्लो खेलाडी बनिन् ।

कोरोनाकालको समय हुँदा राम्रोसँग प्रशिक्षण गर्न पाइनन् । ५८ केजीको प्रतिस्पर्धामा सहभागी हुन उनले ५ केजी आफ्नो तौल घटाउनु परेको थियो । कडा मिहिनेतका साथ तौल घटाइन् । कांस्य पदकको प्रतिस्पर्धामा चिनियाँ खेलाडी ली युजिसँग अन्तिम १० सेकेन्ड बाँकी रहँदा ९–९ को बराबरी अवस्थामा थिइन्। तर त्यसपछि सम्हालिन नसक्दा १२–९ ले पराजित भएकी थिइन् ।

पहिलो खेलमा बेलायतकी खेलाडीसँग पराजित भए पनि उनले रिपिचेजको क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई र सेमिफाइनलमा सर्वियन खेलाडी मारिजा मिसेभलाई हराएकी थिइन । यो बेला उनले चाहेको पदक त आएन, तर ओलम्पिकमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । यो पटक ऐतिहासिक कांस्य पदक हात पारिन् ।

पलेशाको सानैदेखि इन्जिनियर बन्ने सपना थियो । चीनको सांघाईमा यही विषय अध्ययन गरिरहेकी छन् ।

पलेशा गोवर्धन पारालिम्पिक्स
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय