
५ असोज, काठमाडौं। सखी बहिनपा मैथिलानी समूहले जितियाको अवसरमा काठमाडौंमा जितिया महोत्सव मनाएका छन् ।
सन्तानको दीर्घायुको कामना गर्दै उनीहरूले जितिया पर्व मनाएका हुन् । जितियामा मैथिलानी महिलाहरूले रंगारंग कार्यक्रम समेत गरेका छन् ।
कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष आरति झाले भाषा-संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिइन् ।
जितिया व्रत मिथिलाञ्चलमा फरक तरिकाले मनाउने गरिन्छ । व्रतको पहिलो दिन सप्तमी तिथिमा व्रतालुहरू नाहाय खाय अर्थात चोखो भइ व्रतको शुभारम्भ गरिन्छ ।
पवित्र जलाशयमा गइ नुहावने बेलामा जिमुतवाहन भगवान एवम् चिल्हो सियार (चिल र स्याल) तोरीको तेल र पिनाको (तेल खरी )चढाइन्छ ।
नुहाएपछि फेरि जिमुतवाहन भगवानलाई चिउरा, दही, चीनी ,केरा एवम् थरी थरीका फलफूल मिठाइ चढाएर व्रत संकल्प गर्ने गरिन्छ एवम् चिल्हो सियार (चील र स्याल)लाई पनि चिउरा दही चीनी चढाएर व्रत बस्ने निम्तो दिन्छ ।
भोलिपल्ट पात्रोमा दिएको साइत अनुसार (साइत धेरै जसो बिहान ३ बजे देखि ५ बजेभित्र पर्छ) व्रतालुहरु ‘औंठन /ओठगन’ (दर जस्तै) खाइन्छ ।
ब्रतालुले दही,चिउरा र अमोट (जमाएर राखिएको पाकेको आँपको रस) खाएर ‘औंठन/ओठगन’ विधि गरिन्छ । अनि दिउँसो डाला भरने ( बाँसको ठूलो टोकरी) चलन छ । डालामा नरिवल, अक्षत, डारा (केटाहरूले कम्मरमा लगाउने धागा), रक्षासूत्र, फलफूल ,मिठाइ एवम् जितिया (महिलहरूले लगाउने एक विशेष प्रकारको सुनको लकेट, पोतेमा उनेको मंगलसूत्र जस्तै), आफ्नो इच्छा अनुसार सौभाग्यको सामानहरु राखेर डालालाई छोपेर राखिदिन्छ ।
फेरि बेलुका साँझ बत्ती बालेपछि ब्रतालुहरू जम्मा भएर जिमुतवाहन भगवानको कथा भन्छन् अनि सुन्छन् यो भनिन्छ कि यो कथा सुन्ने अनि सुनाउने दुइटैलाई धर्म हुन्छ त्यही कारणले व्रत नबस्नेहरूले पनि कथा सुन्छन् ।
दोस्रो दिन (अष्टमी तिथि) थुक पनि न निल्ने गरी व्रत बसेर ,तेस्रो दिन (नवमी तिथि) पात्रो अनुसार साइत हेरेर हुन्छ (कहिले बिहानै हुन्छ, कहिले दिउँसो अनि कहिले साँझमा ) जुन बेला साइत हुन्छ त्यो बेला मात्र मुखमा दतिवन हाल्ने अनि नुहाई धुवाई गरेर डाला जुन छोपेको हुन्छ त्यो खोलेर व्रतालुहरूले सौभाग्यको समान र जितिया लगाएर छोरा छोरीलाई डोरा/धागो लगाई दिन्छ ।
त्यसपछि जिमुतवाहन भगवानलाई खीरा (काँक्रो), सानो केराउ,सुपारी एवम् अक्षता दुई ठाउँमा प्रसादको रूपमा चढाइन्छ ।
साथै चिल र स्याललाई पनि काँक्रो, केराउ, सुपारी एवमअक्षता, प्रसाद चढाउने गर्छन् । यसपछि मात्रै जिमुतवाहन भगवानलाई चढाएको प्रसाद खाएर आफू पारण (अन्न, जल ग्रहण) गर्दछन् ।
तीन दिनसम्म मनाइने यो व्रत निकै नै कठोर पर्वको रूपमा मान्ने गरिन्छ । जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको जनविश्वास छ ।
प्रतिक्रिया 4