+
+

ह्विलचियरकै सहारामा २ अर्ब बढीका ४ कम्पनी हाँक्दै धीरज

टोपराज शर्मा टोपराज शर्मा
२०८१ भदौ १६ गते ९:५३

१६ भदौ, बुटवल । धीरज अग्रवाल ६ कक्षा पास हुँदै गर्दा नेपालमा २०६२/६३ को जनआन्दोलन उत्कर्षमा थियो । नवलपरासी परासीका सडकमा दिनहुँ झडपका दृश्य उनी घरको छतमा बसेर नियालिरहन्थे ।

एकदिन, सडक आन्दोलनकै दृश्य नियाल्न छत उक्लिएकोबेला धीरज छतबाट खस्न पुगे । तल सडकमा बजारिँदा उनको मेरुदण्डको हड्डी भाँचियो ।

त्यतिबेला धीरज जम्मा १३ वर्षका थिए । मेरुदण्ड हड्डी (स्पाइनल) भाँचिएपछि भारतको लखनउ र दिल्लीमा उपचार त भयो तर उनी पहिले जस्तो सग्लो भएर हिँड्न सक्ने भएनन्, उनलाई ह्विलचियरको सहारा अनिवार्य बन्यो ।

कक्षा ६ सम्म कक्षा प्रथम हुँदै आएका धीरज दुर्घटनापछि नियमित उपचारमा धाइरहनुपर्ने भएकाले उपल्लो कक्षा राम्रोसँग पढ्न पाएनन् । यद्यपि, सन् २०१० मा विशिष्ट श्रेणीसहित एसएलसी पास गरे ।

त्यसपछि धीरजको औपचारिक पढाइ यात्रामा ब्रेक लाग्यो । ‘टाढा गएर पढ्नका लागि शारीरिक अवस्थाले अप्ठेरो हुने, परासीमा ११ र १२ कक्षाको पढाइ हुने राम्रो निजी विद्यालय नभएकाले पढाइलाई बिट मारेर बरु बिजनेस गर्ने निधो गरें’, ३२ वर्षीय धीरज भन्छन् ।

ह्विलचियरलाई उनले आफ्नो कमजोरी बनाएनन्, बरु त्यसकै सहारामा २ अर्ब बढी लगानीका २ उद्योगसहित ४ कम्पनीको नेतृत्व गरिरहेका छन् ।

***

खुद्रा व्यापारमा सीमित उनको पारिवारिक व्यवसायलाई धीरजले २०७३ मा लगानी थपेर ‘मारुती बिजनेस कन्सर्न’ सुरु गरे । व्यवसाय विस्तार गर्न त्यतिबेला उनले २ करोड रुपैयाँ बढी लगानी गरेका थिए ।

त्यसको केही समयपछि २ करोड रुपैयाँ बढी लगानीमा अलकत्रा (बिटुमिन) र औद्योगिक कच्चा पदार्थ आयात गरेर बिक्री गर्ने डीआर ट्रेडर्स पनि स्थापना गरी व्यापार विस्तार गरे । खुद्राबाट होलसेलमा स्तरोन्नति गरेसँगै मारुती बिजनेस कन्सर्न आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा नवलपरासीमा सबैभन्दा बढी कर तिर्ने व्यवसायिक फर्म नै बन्यो ।

सरकारले स्वदेशी उद्योगलाई संरक्षण र प्रवद्र्धन गर्ने नीति र कानुन बनाएर कार्यान्वयन गर्ने हो भने देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर र निर्यात गर्न सकिने धीरजको आत्मविश्वास छ ।

सन् २०१८ मा धिरजले एक अर्ब लगानीको फलामे पाइप उत्पादन गर्ने गरी टेन स्टिल उद्योग स्थापना गरे । एकपछि अर्को सफलता हासिल गर्दै अघि बढेका धिरजले २०७७ सालमा फेरि एक अर्बको लगानीमा प्लम्बिङ सामान उत्पादन गर्ने टेन प्लास्ट उद्योग सुुरु गरे ।

सबै उद्योग र कम्पनीको नेतृत्व (अध्यक्ष) आफैंले लिए । चार वटा कम्पनीमा २ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको धीरज बताउँछन् । उनका उत्पादनहरु भारतमासमेत निर्यात भइरहेको उनको भनाइ छ ।

‘१० कक्षासम्म मात्रै मेरो पढाइ भएकाले सबै उद्योगको नाम टेन अर्थात दश राखेको हुँ’, धीरज भन्छन्, ‘सकेसम्म धेरै पढ्नु राम्रो हो, तर पढाइमात्रै सबैथोक होइन भन्ने उदाहरण दिन उद्योगका नाम नै टेन राखेर सफल बनाएको हुँ ।’

जीवनमा सफलता हासिल गर्न उच्च शिक्षा वा मास्टर डिग्री नै गर्नुपर्छ भन्ने सोचाइ गलत भएको धीरजको तर्क छ । ‘अझै पनि पढाइलाई देखाएर घरपरिवार र समाजमा विभिन्न कारणले कम पढेका व्यक्तिलाई भेदभाव गर्ने, होच्याउने परिपाटी छ, यो गलत हो’, उनी भन्छन् ।

अर्कोतिर शरीरले भन्दा दृढ इच्छाशक्ति र नयाँ सोच र भिजनले जुनसुकै काममा प्रगति र सफलता हासिल गर्न सकिने धीरज बताउँछन् । ‘शरीरले होइन, दिमाग र भिजनले व्यक्तिलाई गाइड गर्ने हो’, उनी भन्छन्, ‘अपांगता हुँदैमा कसैले पनि हिनतावोध र आफूलाई कमजोर ठान्नुहुन्न, मनमा दृढ संकल्प गर्ने हो भने सबलांगले जस्तै जुनसुकै क्षेत्रमा काम गर्न सकिन्छ ।’

धिरजले भविष्यमा चुनढुंगा खानी र सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी गरेका छन् । ‘अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन, मेरो यात्रा निरन्तर अगाडि बढेको छ’, उनी भन्छन् । सरकारले स्वदेशी उद्योगलाई संरक्षण र प्रवद्र्धन गर्ने नीति र कानुन बनाएर कार्यान्वयन गर्ने हो भने देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर र निर्यात गर्न सकिने धीरजको आत्मविश्वास छ ।

‘सरकारका भन्सार र कर नीतिहरु अझै स्वदेशी उद्योगलाई प्रवर्द्धन  गर्ने खालका हुन सकेका छैनन्, कच्चा पदार्थ आयातमा लाग्ने भन्सार र अन्तशुल्कले डण्डी उद्योगहरु संकटमा छन्, अर्बौं लगानी भएका १० वटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्, यसतर्फ सरकारको ध्यान जानुपर्छ’, धिरजले भने ।

बुबा समेत अपांग रहेका धिरजका एक भाइ छन् । परिवारले पनि साथ दिएका कारण आफू अगाडि बढ्न पाएको उनको भनाइ छ ।

उद्योग वाणिज्य संघ नवलपरासीका पूर्वध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य केशव भण्डारी धीरजको नवीन सोच, आत्मविश्वास र नेतृत्व क्षमता सबैका लागि प्रेरणादायी भएको बताउँछन् ।

‘शारीरिकरुपमा अशक्त भएपनि दुई अर्ब बढीका दुई उद्योग र दुई व्यवसाय गरी ४ कम्पनीको सफल सञ्चालन, २ सय जना बढीलाई रोजगारी दिनु अरु युवा र सबैका लागि प्रेरणादायी उदाहण हो’, भण्डारी भन्छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?