+
+

चरन क्षेत्र हराउँदा भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

रासस रासस
२०८१ भदौ १६ गते १०:०७

१६ भदौ, भोजपुर । भोजपुर जिल्लामा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो ।

चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ अहिले आठ/दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताए ।

पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको उनको भनाइ छ । आम्दानीको राम्रो स्रोतका रूपमा रहे पनि विभिन्न समस्याका कारण बर्सेनि किसानको चौंरीपालनतर्फ आकर्षण घट्दै गएको उनी बताउँछन् ।

सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताए । चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको उनको भनाइ छ ।

‘चौँरीको दूधबाट बन्ने सामग्रीको बजारमा राम्रो माग छ’, किसान राईले भने, ‘तर चौँरीपालन गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ । किसानको मुख्य समस्या नै चरन क्षेत्र बनेको छ । चरन अभाव हुँदा व्यवसाय नै संकटमा पर्ने अवस्था छ ।’

यो व्यवसायबाट वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने राईको भनाइ छ । ‘व्यावसायिक चौँरीपालनमा धेरै चुनौती छन्’, राईले भने, ‘लेकाली भेगमा पालन गर्नुपर्ने व्यवसाय भएकाले दुःखकष्ट धेरै सामना गर्नुपर्छ । आम्दानी राम्रो हुने भए पनि पछिल्लो समय धेरैले यो व्यवसाय छाडेको अवस्था छ ।’

चौँरीको दूधबाट उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने किसानको भनाइ छ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईले बताए । नौनी घ्यू गोठबाट धार्नीको २ हजार ५ सय रुपैयाँमा बिक्री हुँदै आएको गोठवालाहरूको भनाइ छ ।

छुर्पी प्रतिकेजी आठदेखि एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । यहाँको मैयुङडाँडा, सिलिचुङ साउनेडाँडालगायत माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुने गरेको छ । चौँरीलाई किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि गाउँघरका खेतबारीमा झर्ने गरेका छन् ।

चरन अभावमा बाउबाजेको पालाबाट गरी आएको चौंरीपालन व्यवसाय संकटमा पर्दै गएको किसान विमल राईले बताए । चरनका लागि एक दिनमा चौँरीले सरदरमा १२ देखि १५ किलोमिटर घुम्ने उनी बताउँछन् । सीमित ठाउँमा चराउँदा घाँस अभाव तथा सहज रूपमा घुम्न नपाउँदा चौंरी नफस्टाउने उनले सुनाए ।

चरन क्षेत्र अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपर्दा धेरैले व्यवसाय छाड्दै गएको राईले बताए । पछिल्लो समय चौँरीका लागि चाहिने पोषिलो घाँस मासिँदै गएको अवस्था छ । यसले पनि व्यवसायमा असर पुगेको छ । चौँरीको चरन क्षेत्रको व्यवस्थापनमा पहल हुनुपर्ने यहाँका किसानको माग छ ।

चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञहरूको भनाइ छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाछाबाछी चौँरी हुन् । चौँरी गाई तथा याकलाई रिसाहा जनावरका रूपमा पनि लिने गरिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?