+
+

मुशायरामा गुञ्जिए लोकेश, सविता र परिविक्रम

'कोहिनूर' ल्याए कुशलले

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १०:४७
Photo Credit : नेपाल गजल प्रतिष्ठान

काठमाडौं । नेपाल गजल प्रतिष्ठानले ‘गजल मुशायरा’को पाँचौँ शृङ्खला सम्पन्न गरेको छ । भदौ १५ गते शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित मुशायरामा लोकेश संघात, सविता बराल र परिविक्रम प्रस्तुत भए ।

निकै चोटिला र प्रभावशाली शेरहरू वाचन षरिरहँदा उपस्थितमा निकै उत्साह देखिन्थ्यो ।

रिसाएर जाऊ तिमी जाने बेला

पुन: मुस्कुराए हृदयघात हुन्छ ।

गजलकार लोकेश संघातले यो शेर बोलिरहँदा हल तालीमय बनेको थियो । केहीछिनमा शृङ्गारमय शेरमा सविता बराल यसरी गुञ्जिइन्-

शराबी गुलावी दुबै ओठ टोकी

तिमी मुस्कुराऊ लजाएर हुन्न ।

यस्ता दर्जनौँ शेरहरू सुनिए हलमा । खचाखच भरिएको हलमा तीन जना स्रष्टाले आफ्ना पाँच/पाँचवटा तथा अन्य तीन जनाका एक/एकवटा गजल वाचन गरे ।

गजलकृति ‘कोहिनूर’ र विश्वव्यापी गजल प्रतियोगिताको नतिजा सार्वजनिक

कार्यक्रममा विश्वव्यापी गजल प्रतियोथिता, २०८० का विजेता कुशलनाथ योगीको गजलकृति ‘कोहिनूर’ सार्वजनिकसमेत गरियो । प्रा.डा. देवी नेपालले ‘कोहिनूर’माथि टिप्पणी गर्दै योगी नयाँ पुस्ताका कुशल र अब्बल गजलकार रहेका बताए । प्रमुख अतिथि प्रसिद्ध गीतकार एवं गजलकार करुण थापाले अब नेपाली गजलले सही बाटो पहिल्याउन थालेको र नयाँ पुस्ताले नेपाली गजललाई उचाइ दिनेमा आफू विश्वस्त रहेको धारणा राखे ।

सोही अवसरमा नेपाल गजल प्रतिष्ठानले गरेको विश्वव्यापी गजल प्रतियोगिता, २०८१को नतिजासमेत सार्वजनिक गरिएको थियो । रेशम अधिकारी प्रथम भएको सो प्रतियोगितामा अधिकारीसहित नारायण सिटौला ‘इरादा’, मिलनकुमार ढुङ्गाना, चित्र थापा, विपिन नेपालका गजल उत्कृष्ट पाँचमा परेका थिए ।

‘नेपाली गजलको विकास र विस्तारका लागि’ मूलमन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने/सुनाउने कार्यक्रम गर्दै आइरहेको छ भने बहर-बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षणसमेत दिँदै आएको छ ।

आगामी दिनमा नेपाली गजललाई लेखनमा परिष्कारसहित गायनमा समेत तीव्रता दिइने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?