+
+

बालबालिकालाई चोर्न सिकाउने भारतका स्कुलहरू

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते ११:२८

विद्यालय भन्ने बित्तिकै विद्यार्थीहरुलाई असल शिक्षादीक्षा संस्कार तथा अनुशासन सिकाउने विद्याको मन्दिर बुझिन्छ। तर, भारतको मध्यप्रदेश राज्यमा पर्ने तीनवटा दुर्गम गाउँहरू चाहिं ‘चोर स्कूल’ का कारण कुख्यात छन् ।

ती गाउँमा रहेका स्कुलहरुमा १२ वर्षका बालबालिकालाई अनुभवी तथा पेशेवर अपराधीहरूले पकेटमारी, चोरी र डकैती गर्ने तालीम दिन्छन् ।

स्थानीय काडिया, गुलखेडी, र हुलखेडी गाउँमा चोरीको तालीम दिने त्यस्ता स्कुलहरू छन् । ती गाउँ मध्यप्रदेश राज्यको राजधानी भोपालबाट करिब १२० किलोमिटर टाढा छन् । ती स्कुल बाल अपराधीहरूको नर्सरीका रूपमा परिचित छन् ।

समाचार अनुसार, यहाँका अभिभावकहरू आफ्नो सन्तानलाई भीडभाड भएका ठाउँमा गएर पकेटमारी गर्ने, झोला खोसेर भाग्ने, डकैती गर्ने, बैंक खाता चोरी गर्ने, प्रहरीबाट बच्ने र समातिएमा पिटाइ सहने जस्ता कला (Black Art) हरु सिकाउनका लागि २ लाख देखि ३ लाख भारुसम्म ‘ट्युसन शुल्क’ तिर्छन्। यी कथित ‘चोर स्कूल’हरूले भारतको इतिहासमा सबैभन्दा कुख्यात अपराधीहरू उत्पादन गरेका छन् ।

ती स्कुलमा पढाउनका लागि ती गरिब र कम शिक्षित परिवारहरूका लागि खोजी गरिन्छ जो आफ्ना बच्चाहरूलाई उचित शिक्षा दिन असमर्थ छन्।त्यहाँ अपराधिक समूहका नेताहरूसँग भेटघाट गरी आवश्यक ट्युसन शुल्क तिरेपछि, अभिभावकहरूले आफ्नो सन्तानलाई एक वर्षका लागि आपराधिक कलाको तालिम लिन पठाउँछन् । त्यहाँ बालबालिकाहरुले विभिन्न सीपहरू सिक्छन् र आपराधिक जीवनको लागि तयारी गर्छन्।

ती स्कुलबाट पास भएपछि र सो समूहमा सामेल भएपछि सम्बन्धित विद्यार्थीका परिवारले आपराधिक समूहका नेताबाट आफ्ना सन्तानको पारिश्रमिक स्वरुप वार्षिक ३ देखि ५ लाख भारुसम्म पैसा पाउँछन् ।

वास्तवमा ती दुर्गम भारतीय गाउँहरूमा अपराधले गहिरोसँग जरा गाडेको छ । यद्यपि प्रहरीलाई त्यहाँ हुने गतिविधिहरूबारे थाहा छ तथापि समुदायले नै आपराधिक समूहलाई जोगाउने हुँदा पुलिस एक्लैले केही गर्न सक्दैन । गाउँलेहरुले अपराधी पक्रिन आउने पुलिसको प्रतिकार गर्ने गरेका छन् ।

प्रहरीका अनुसार आरोपितलाई पक्राउका लागि गाउँमा जाँदा ठूलै संख्यामा प्रहरी बल जानुपर्छ । आपराधिक समूहले खासगरी १७ वर्षमुनिका नाबालिगहरूलाई आफ्नो गतिविधि सञ्चालन गर्न प्रयोग गर्छन् । उनीहरू चोरीमा अत्यधिक तालीम प्राप्त र सिपालु हुन्छन् ।

अनौठो त के भने ती ग्रामीण चोर स्कूलहरूमा तालिम लिने अधिकांश बच्चाहरू गरिब परिवारका हुन्छन् । तर,  उनीहरूलाई स्कुलमा कसरी धनी परिवारहरूसँग घुलमिल हुने भनेर सिकाइन्छ, ताकि त्यसरी सिकाइएका बालबालिकाहरु धनी मान्छेहरुसँग नजिकिन सकून् र मज्जाले चोर्न सकून् ।

तिनीहरू प्रायः विवाहजस्ता विशेष कार्यक्रमहरूमा घुस्छन्, जहाँ उनीहरूले पाहुनाहरूको पकेट मार्नुका साथै गहना चोरी तथा अन्य ठूला डकैतीहरू समेत गर्न सक्छन् ।

प्रहरीका अनुसार ती तीन गाउँका २ हजारभन्दा बढी व्यक्तिहरूका करिब ८ हजार मुद्दा भारतका विभिन्न प्रहरी चौकीहरूमा दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?