+

मिर्गौलाको क्यान्सर के कारणले हुन्छ ?

२०८१ भदौ  १६ गते १२:२९ २०८१ भदौ १६ गते १२:२९
मिर्गौलाको क्यान्सर के कारणले हुन्छ ?

मिर्गौलाले शरीरबाट दूषित र हानिकारक तत्त्व एवं रसायनहरू छान्ने काम (फिल्टर) गर्छ । हानिकारक तत्वहरु पिसाबको माध्यमबाट मूत्रथैलीमा पुग्छन् । र अन्त्यमा मूत्रनलीबाट बाहिरिन्छ ।

यसरी मिर्गौलाले हाम्रो शरीरको रगतलाई स्वच्छ पार्छ । साथै रक्तचापलाई सन्तुलित राख्ने, शरीरमा पोटासियम, चिनी, युरिया, क्रियटिनिन लगायतका सूक्ष्म तत्त्व र भिटामिन,  लवण पदार्थहरूलाई सन्तुलनमा राख्ने जस्ता महत्वपूर्ण कार्य पनि गर्छ ।

मिर्गौला कस्तो अवस्थामा बसेको हुन्छ ?

प्रत्येक व्यक्तिमा दुईवटा मिर्गौला हुन्छन् । जुन पेटको पछाडिको भागमा मेरुदण्डको दायाँ र बायाँ अवस्थित हुन्छन् । आकारमा सिमीको दाना जस्तै देखिने मिर्गौलाको १० देखि १३ सेमी लम्बाइ र ३ देखि ५ सेमी चौडाइ हुन्छ । प्रत्येक मिर्गौला औसतमा १५० देखि २५० ग्रामसम्म हुन्छ ।

मुटुबाट ठूलो रक्त धमनीको माध्यमबाट रगत दुवै मिर्गौलामा आउने गर्छ । रगत मिर्गौलामा सफा भएपछि शरीरको अन्य भागमा फर्किन्छ ।

तसर्थ मिर्गौलाको रोग लागेमा जीवन कष्टकर हुन्छ । मिर्गौला विना जीवन सम्भव छैन ।

मिर्गौलाको क्यान्सर

मिर्गौलाको क्यान्सर प्रायजसो ५०–५५ वर्ष माथिका मानिसमा देखा पर्छ । कहिलेकाहीं यो कलिलो उमेरका बालबालिकामा पनि देखिने गरेको छ । विभिन्न क्यान्सरहरूमध्ये मिर्गौलाको क्यान्सर ४ प्रतिशतमा हुने पाइएको छ ।

मिर्गौलाका कोषिकाहरुमा खराबी उत्पन्न भएपछि क्यान्सरका कोषिकाहरुको प्रस्फुटन हुन्छ । यी कोषिकाहरू अनियन्त्रितरुपमा बढेपछि अन्य अंग र रक्तनलीमा फैलिन थाल्छन् ।

मिर्गौला क्यान्सरको जोखिम कसलाई बढी ?

– चुरोट पिउने, सुजीजन्य पदार्थ सेवन गर्ने व्यक्ति

– मोटोपन भएको व्यक्ति

– मिर्गौलाका दीर्घरोगी

– वंशाणुगत दोष

– उच्च रक्तचाप

मिर्गौला क्यान्सरको प्रकार

– रेनल सेल कार्सिनोमा

– क्लियर सेल कार्सिनोमा

– प्यापीलरी कार्सिनोमा

– क्रोमोफोब कार्सिनोमा

– मेडुलरी सेल कार्सिनोमा

– म्युसीनस सेल कार्सिनोमा

– ट्रान्जिसनल सेल कार्सिनोमा

– रेनल सार्कोमा

– विल्म्स ट्युमर

– हेरिडेटरी रेनल कार्सिनोमा

मिर्गौलाको क्यान्सरका लक्षण

– प्राथमिक चरणको क्यान्सरमा लक्षण नहुन सक्छ ।

– पिसाबमा रगत देखा पर्नु, रातो वा गुलाबी रंगको पिसाब जानु

– पेट र कम्मर दुख्नु

– पेटमा अथवा तल्लो ढाडमा डल्लो भेटिनु, निस्कनु

– थकान र कमजोरी

– खाना खान मन नलाग्नु

– तौल कम हुनु

– पेट, खुट्टा फुलेर जानु

– रगतको कमी हुनु

– रगतमा खराब तत्वहरु (युरिया, सीआर) बढ्नु

– पिसाबमा गडबडी हुनु

– ढाड र हड्डीहरू दुख्नु

कसरी परीक्षण गरिन्छ ?

रगत जाँच : यस अन्तर्गत रगतका तीनवटै कोष, युरिया, क्रियटिनिन, युरिक एसिड, सोडियम, पोटासियम, क्याल्सियम लगायत परीक्षण ।

पिसाबको परीक्षण : पिसाबको सामान्य र कल्चर परीक्षण ।

एमआरआई : यस प्रविधिबाट मिर्गौलामा भएको क्यान्सरको डल्लो (ट्युमर) को सहजै पहिचान हुनसक्छ । यदि क्यान्सरको कोषिकाले अन्य नजिकैको तन्तु, धमनी, मूत्रनली, गाँठोहरूमा छेडेको, अतिक्रमण गरेको, विकृत गरेको भए सहजै देखा पर्छ ।

सिटी स्क्यान : पेट तथा मिर्गौलाको सिटी स्क्यानबाट ट्युमरको आकार, अवस्था र स्थान र फैलावटबारे किटान गर्न सकिन्छ ।

अल्ट्रासाउण्ड : यसको मद्दतले ट्युमरको साइज र स्थानको आकलन गर्ने गरिन्छ ।

बायोप्सी : विशेष प्रकारको सियो प्रयोग गरेर सुरक्षित तरिकाले मासुको नमुना झिकिन्छ ।

क्यान्सरका चरण

प्रथम चरण : क्यान्सर ट्युमरको साइज केही सेन्टमिटर मात्र हुन्छ । यो अन्यत्र फैलिएको हुँदैन ।

दोस्रो चरण : क्यान्सर ट्युमरको साइज सात सेमीभन्दा ठूलो हुन्छ ।

तेस्रो चरण : क्यान्सर फैलिएर नजिकैको अन्य मांसपेशीमा छेडेको हुन्छ । रक्तनली तथा गाँठोहरुमा फैलिएको हुन्छ ।

चौथो चरण : क्यान्सर कलेजो, फोक्सो र पिसाब थैलीमा फैलिसकेको हुनसक्छ ।

उपचार

शल्यक्रिया : चिरफारद्वारा मिर्गौलाको क्यान्सरको उपचार गरिन्छ । यो तरिकाले सुरुवाती क्यान्सरलाई झिकेर फालिन्छ ।

मिर्गौलाको आंशिक शल्यक्रिया : यदि क्यान्सर सानो छ भने मिर्गौलाको बाँकी भागलाई जोगाएर सानो अंश मात्र काटेर फालिन्छ ।

मिर्गौलाको पूर्ण शल्यक्रिया : यसमा क्यान्सरको सिंगो मिर्गौला एवं वरपरको रक्तनली र गाँठोहरु चिरेर झिकिन्छ ।

विकिरणजन्य चिकित्सकीय प्रविधि

यस प्रविधिमा विकिरणको प्रयोगबाट क्यान्सरको कोषिकालाई निष्क्रिय पारी क्यान्सरलाई सुकाइन्छ । यसबाट क्यान्सर कण तथा कोषिकाहरुलाई अन्य अंकमा सर्नबाट रोकिन्छ ।

नष्ट : यस प्रविधिमा क्यान्सर कोषिकाहरूलाई अत्यधिक निम्न तापमान (चिसो ग्याँस) को प्रयोगले खण्डित गरेर नष्ट गरी ट्युमरलाई सुकाइन्छ ।

अन्य किसिमको प्रक्रियामा विद्युतीय तरंग दिएर क्यान्सरका कोषिकाहरुलाई नष्ट गरिन्छ ।

इम्युनोथेरापी : यसमा विशेष किसिमका औषधिले क्यान्सरका कोषिकाविरुद्ध शरीरको प्रतिरक्षा प्रणालीलाई आक्रामक र बलियो बनाउँछ ।

यस प्रक्रियाले क्यान्सरलाई नष्ट गर्छ । यो उपचार विधिले ५० देखि ६० प्रतिशत क्यान्सरका बिरामीलाई फाइदा गर्छ ।

केमोथेरापी : यो क्यान्सरमा केमोऔषधि त्यति प्रभावकारी छैनन् । यद्यपि केमोथेरापी औषधिको प्रयोग मिर्गौलाका कतिपय क्यान्सर रोकथामका लागि गर्न सकिन्छ ।

मिर्गौला क्यान्सरको रोकथाम

– मदिरा, चुरोट-सुर्तीजन्य पदार्थ सेवन नगर्ने

– फलफूल सागपात तथा तरकारी प्रशस्त खाने

– शारीरिक व्यायाम गर्ने

– शरीरको तौल घटाउने

– रक्तचाप नियन्त्रणमा राख्ने

– बोसोयुक्त खाना कम खाने

– पानी प्रशस्त पाउने

डा. समिम अख्तर मिर्गौला क्यान्सर
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट

डा. अख्तर हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय