+

विस्तृतमा बुझौं, के हो यौन क्षमता बढाउने औषधि भियाग्रा ?

२०८१ भदौ  १६ गते १३:३७ २०८१ भदौ १६ गते १३:३७
विस्तृतमा बुझौं, के हो यौन क्षमता बढाउने औषधि भियाग्रा ?

भियाग्राको नाम निकै चर्चित छ । धेरैलाई थाहा छ, यो भियाग्रा ब्राण्डको औषधिले यौन क्षमता बढाउँछ । तर कमैलाई थाहा छ यसको आफ्नै मात्रा हुन्छ । जुन शरीरको अवस्था उमेरलाई मध्यनजर गरी चिकित्सकको सल्लाहमा मात्र यौन क्षमतामा कमी भए प्रयोग गर्नुपर्छ ।

यसरी जथाभावी र नियमित रुपमा खाँदा ज्यानै गएको घटना समेत बेलाबखतमा सुनिन्छ ।

यो कस्तो औषधि ?

भियाग्रा सिल्डेनाफिल साइट्रेट औषधिको ब्राण्ड हो । जुन प्रोस्टाग्लाण्ड इनहिबिटरको समूहमा पर्छ । यसले पुरुषहरूको यौन क्षमतालाई अस्थायी रूपमा सक्रिय पार्छ ।

अमेरिकी फाइजर कम्पनीले सन् १९९८ मा यो औषधिको आविष्कार गरी ब्राण्डको नाम ‘भियाग्रा’ राखेको थियो । सुरुवातमा निस्किएको पुरानो औषधि र बजारमा प्रतिक्रिया पनि सकारात्मक भएकै कारण यो औषधिले चर्चा पायो । र, त्यही बेलादेखि आजसम्म यसको माग बढ्दो छ । भियाग्राकै नामबाट औषधि चर्चित छ ।

स्तो अवस्थामा प्रयोग हुन्छ ?

यौन चाहना बढाउने औषधि भन्दैमा यो औषधि त्यत्तिकै खान मिल्दैन । चिकित्सकले यो औषधि यौन दुर्बलताको समस्या भएकालाई मात्र खान सुझाउँछन् ।

यौन दुर्बलता भनेको यौन सम्बन्ध कायम गर्ने समयमा लिङ्ग कडा नहुनु वा लामो समयसम्म कडापन कायम राख्न नसक्नु हो । जसकारण यौनक्रिया चाहेर पनि हुन पाउँदैन । यस्तो समस्या भएमा यो औषधिले काम गर्छ ।

यो औषधिले काम कसरी गर्छ ?

यौन क्रियाकलापबारे सोच्दा वा राख्ने चाहना हुँदा मस्तिष्कमा नाइट्रिक अक्साइड नामक रसायन उत्पादन हुन्छ । यसले शरीरमा भएका फरक-फरक बायो केमिकललाई सक्रिय पार्छ । तीमध्ये केही केमिकललाई प्रोस्टाग्लाडिन इ फाइभ हर्मोनले विस्तारै टुक्राई सखाप पारिरहेको हुन्छ । जसकारण केही समयपछि उत्तेजना हराउँछ ।

यो औषधिले त्यो टुक्राउने प्रक्रियामा अवरोध ल्याउने काम गर्छ । यस औषधिले यौन दुर्बलता भएको व्यक्तिको शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ । र, धमनीलाई खुकुलो बनाउँछ । जसकारण लिङ्गमा  पनि अस्थायी रूपमा रगतको प्रवाह बढ्छ । रगतको प्रवाह हुने बित्तिकै लिङ्गमा कडापन आउँछ । र, यौन क्षमता अस्थायी रूपमा बढ्छ ।

यो औषधि कति बेला कसरी प्रयोग गर्ने ?

भियाग्राको औषधि २५ मिलिग्रामदेखि दुई सय मिलिग्रामसम्म पाइन्छ । कति मिलिग्राम दिने भन्ने कुरा प्रभावित व्यक्तिको अवस्था हेरेर दिइन्छ ।

जहाँसम्म औषधिको प्रयोग गर्नुपर्ने कुरा यो औषधि यौन सम्पर्क गर्नुभन्दा २०-२५ मिनेट अघि लिनुपर्छ । यदि भरपुर खाना खाइएको छ भने यसले प्रभाव देखाउन केही समय लिन्छ । यो औषधिको डोज ४ देखि ५ घण्टासम्म रहन सक्छ ।

तर एउटा औषधिले असर देखाएन भन्दैमा थप अर्को ट्याबलेट खानु हुँदैन । कहिलेकाही तनाव वा अन्य कारणले पनि यौन उत्तेजना नल्याउने हुनसक्छ ।

साइडइफेक्ट

यसले केही अस्थायी साइड-इफेक्ट गराउन सक्छ । जसमा टाउको दुख्ने, छाला रातो हुने, पेटको समस्या, दृष्टि समस्या, नाक बन्द हुने, गर्मी भएको जस्तो हुने र मांसपेशी दुख्ने साइड-इफेक्ट देखिन सक्छन् ।

भियाग्राले मांसपेशीहरूमा रक्तनलीलाई उत्तेजित गर्छ । यस्तो अवस्थामा मांसपेशीमा रगतको प्रवाह तीव्र हुन्छ ।

यसको सेवनले छाती दुख्ने, दृष्टिमा समस्या,  श्वासप्रश्वासमा समस्या, आँखा र अनुहार सुन्निंदै गएको लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

कसले खान हुँदैन ?

– मुटुको समस्या भएकाले र नाइट्रेट ग्रुपको औषधि खाएकाले पनि भियाग्रा खानु हुँदैन । यसले मुटुमा दबाब बढाउँछ । खानै पर्ने भए चिकित्सकको सल्लाहमा मात्रै खानुपर्छ ।

– यदि कसैलाई थोरै परिश्रम गर्दा छाती दुख्ने अनुभव हुन्छ र उसको श्वासप्रश्वासको गति बढ्छ भने उसले भियाग्रा प्रयोग गर्नु हुँदैन ।

– यदि हृदयघात वा मस्तिष्काघात भएको छ भने भियाग्राको प्रयोग खतरनाक सावित हुनसक्छ ।

– रक्तचापको औषधि र मधुमेहको औषधि लिनेहरुले पनि यो प्रयोग गर्नु हुँदैन ।

– मिर्गौलाको समस्या भएमा पनि यसलाई चिकित्सकको सल्लाह विना प्रयोग गर्नुहुँदैन ।

– एचआईभीका बिरामीले रिटोनाभिर नामक औषधि खाइरहेका भए पनि भियाग्रा प्रयोग गर्नु हुँदैन ।

जथाभावी प्रयोग नगरौं

आजभोलि युवा उमेरका जोसिला युवा समेत लामो समयसम्म यौन क्रियामा लिप्त हुन, आफ्नो पुरुषत्व बढाउन वा आफ्नो पार्टनरको अगाडि लज्जित हुने डरले चिकित्सकको सल्लाह विना भियाग्राको प्रयोग गर्छन् ।

यो औषधि लामो समयसम्म प्रयोग गर्दा सोचाइ र आत्मविश्वासमा असर पार्छ । कतिपय प्रयोगकर्तालाई भने यसको लत नै लागिसकेको हुन्छ । जसकारण यो विना यौन सम्भव नै छैन सोचेर अत्याधिक प्रयोग गर्छन् ।

यसको साइड-इफेक्ट कहिलेकाहीं निकै खतरनाक हुनसक्छ । यसको अत्यधिक प्रयोगले मानिस सधैंका लागि अन्धो बन्न सक्छ । यो कुरा मानिसलाई थाहा पनि हुँदैन ।

कहिलेकाहीं यसको प्रयोगले उत्तेजना लामो समयसम्म रहन्छ, जुन राम्रो होइन । आवश्यक भन्दा लामो समयसम्म उत्तेजना भई रहेमा समस्या बन्न सक्छ ।

रोचक इतिहास

सन् १९८९ मा अमेरिकी औषधि कम्पनी फाइजरको टोलीले एन्जाइना अर्थात् मुटुरोगको उपचार गर्ने औषधि बनाउने काम गरिरहेको थियो । एन्जाइना एक यस्तो अवस्था हो जसमा मुटुमा रगत आपूर्ति गर्ने नसाहरू साँघुरिन्छ, जसले छाती दुख्ने र सास फेर्न गाह्रो हुन्छ ।

यस प्रयासमा फाइजरले नयाँ तत्व सिल्डेनाफिल सिर्जना गरी केही पुरुषहरूमा परीक्षण गर्‍यो । सिल्डेनाफिल क्लिनिकल परीक्षणहरूमा मुटुको दुखाइ कम गर्न असफल भयो । तर मेहनत खेर गएन । परीक्षणमा भाग लिने अधिकांश पुरुषहरूले यो औषधिबाट यौन उत्तेजना महसुस गरे । यसले धेरैको यौन जीवनमा पनि सुधार ल्याएको पुष्टि भयो ।

अर्थात् फाइजरले मुटुमा रगतको सही प्रवाहका लागि जुन औषधि बनाएको थियो, त्यो औषधिले लिङ्गको नसाका लागि काम गर्‍यो । त्यसपछि फाइजरले यौन दुर्बलताको समस्या समाधान गर्न प्रयोग सुरु गर्‍यो ।

कम्पनीले सन् १९९६ मा यो औषधिको पेटेन्ट पाएको थियो । २७ मार्च १९९८ मा एफडीएले चिकित्सा प्रयोगको लागि सिल्डेनाफिल भनिने औषधिलाई अनुमोदन गर्‍यो । सिल्डेनाफिलको ब्रान्ड नाम भियाग्रा हो ।

डा. ऋत पौडेल यौन क्षमता
डा. ऋत पौडेल
लेखक
डा. ऋत पौडेल
मनोचिकित्सक तथा यौनविद्

डा. पौडेल काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत छन्। उनले मनोचिकित्सामा एमडी र फेलोसिप साइको-सेक्सुअल मेडिसिन मा गरेका छन्। नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९९२० हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय