+
+

बटेश्वर गाउँपालिकाको प्रसूति भवन चार वर्षदेखि अलपत्र

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ भदौ १६ गते १४:४१

१६ भदौ, जनकपुरधाम । बटेश्वर गाउँपालिकामा निर्माणधीन प्रसूति भवन (बर्थिङ सेन्टर) अलपत्र परेको छ । निर्माण सुरु भएको ४ वर्षसम्म भवन नबनेपछि अलपत्र परेको हो ।

भवनमा सम्झौता बाहिरको प्रयोग भएको भन्दै पालिकाले ठेकेदार कम्पनीलाई त्यसको भुक्तानी दिएको छैन भने कम्पनीले भने तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीकै मौखिक आदेशमा काम गरेको दाबी गर्दै आएको छ ।

पछिल्लो समय पालिकाले पनि बजेट छुट्याउन छाडेपछि निर्माणाधीन प्रसूति भवन अलपत्र बन्न पुगेको हो । प्रसूति गराउन बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्न भन्दै जेठ २०७६ मा तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको पालामा भवन निर्माण सुरु भएको थियो । निर्माण सुरु भएको एक वर्षभित्र सक्ने गरी सम्झौता भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।

आकृति निर्माण सेवा, काठमाडौंले एक करोड ६ लाख १४ हजार २५५ रुपैयाँ ९३ पैसामा प्रसूति भवन निमांणको ठेक्का पाएको थियो । ठेकेदार कम्पनीसँग पालिकाले ५ जेठ २०७६ मा आकृति निर्माण सेवाको सम्झौता भयो । भवन निर्माणको प्रक्रिया भने ३० फागुन २०७५ मा पालिकाले अगाडि बढाएको थियो ।

१६ जेठ २०७७ सम्म निर्माण कम्पनीले ४८ लाख ८३ हजार ४४८ रुपैयाँ भुक्तानी पाइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । पहिलो किस्ता १० माघ २०७६ मा २८ लाख ३३ हजार २३७ रुपैयाँ र दोस्रो किस्ता १६ जेठ २०७७ मा २० लाख ५० हजार २११ रुपैयाँ । त्यस यता भवन निर्माणको काम अघि बढेको छैन ।

पालिकाका इन्जिनियर जितेन्द्र यादवका अनुसार निर्माणधीन भवनमा इस्टिमेट भन्दा बाहिरको काम निर्माण कम्पनीले गरेपछि भवन निर्माण नै प्रभावित बनेको छ । यसमा समन्वन गर्न पनि पालिकाले चासो नदिएको सरोकारवालाले आरोप लगाएका छन् ।

तत्कालीन पालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीको मौखिक आदेशमा निर्माण कम्पनीले इस्टिमेटमा नभएको इँट्टाको भित्ता हालेको छ । गाउँपालिकाका अनुसार ठेकेदार कम्पनीले सम्झौताविपरीत १८ लाख रुपैयाँ बराबरको इँट्टा हालेको छ ।

‘भवना इस्टिमेट भन्दा बाहिरको काम निर्माण कम्पनीले तत्कालीन अध्यक्षको मौखिक आदेशमा ग¥यो । जसको १८ लाख जति निर्माण कम्पनीलाई दिनुपर्छ । त्यसको लागि भेरियेसन आदेश बनाउनु पर्छ’, इन्जिनियर यादवले भने, ‘भेरियेसन आदेश दिने काम प्रमुख प्रशासकीय अधिकृतको हो । जोखिम हुन्छ भनेर कुनैपनि हाकिमले मान्नु भएको छैन ।’

२०७९ मा चुनाव जितेर आएका रामआशीष महतो प्रसूति भनवप्रति चासो दिएका छैनन् । इन्जिनियर यादवको जस्तै पालिका अध्यक्ष महतो पनि भनाइ छ ।

‘इस्टिमेट भन्दा बढी काम गरेकाले फस्ने डरले कुनै हाकिम फाइल छुन चाहँदैन । अब साधारणसभा गरेर भवनको विषयाम छलफल गरी पूर्णता दिने निर्णय गर्छौं,’ उनले भने ।

निर्माण कम्पनीका सञ्चालक रामकृपाल महतो पालिकाले बजेट छुट्याउन छाड्दा समयमा काम गर्न नसकेको बताउँछन् । ‘पालिकाले बजेट नै छुट्याउन छाड्यो । भुक्तानी पनि बाँकी छ । अब एक करोड रुपैयाँ छुट्याए प्रसूति भवन पूर्णता पाउँछ’, उनले भने, ‘पटकपटक बजेट विनियोजनको लागि जनप्रतिनिध समक्ष धाएँ । तर वास्ता गर्नु भएन । त्यही भएर भवन अलपत्र भयो ।

निर्माणाधीन प्रसूति भवनले पूर्णता नपाउँदा पालिकाका महिलाहरू चेकजाँच र प्रसूति सेवाका लागि बाहिर जानु पर्ने बाध्यता हटेको छैन ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?