+
+
सहकारी संकट-५२ :

सत्कार सहकारी सञ्चालकमा आफन्त राखेर १२ करोड घोटाला, ८ करोडको नक्कली कर्जा

सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा आफन्त भर्ना गरेर १२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ १६ गते २१:२६
बायाँबाट क्रमशः गोविन्द पुरी, महेश श्रेष्ठ र ध्रुवराज कार्की ।

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३ सामाखुसीमा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा आफन्त भर्ना गरेर १२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले यो सहकारीका तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

२२ साउनमा सीआईबीले संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर भएका ३२ वर्षीय गोविन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका–८ घर भएका ३७ वर्षीय महेश श्रेष्ठ र सत्कार सहकारीको चाबहिल शाखाका व्यवस्थापक रामेछाप–८ का ३७ वर्षीय ध्रुवराज कार्कीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर सीआईबीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसेकेको छ ।

सीआईबीको प्रतिवेदनअनुसार काठमाडौं जिल्ला अदालतमा आइतबार सहकारी ठगीको कसुरमा मुद्दा समेत दर्ता भइसकेको छ । पक्राउ परेका तीन जनासहित १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

फरार प्रतिवादीहरूमा सहकारीका अध्यक्ष सविन उप्रेती, उपाध्यक्ष देवकी कार्की, सदस्य हरिकृष्ण श्रेष्ठ, सदस्य सुष्मा श्रेष्ठ, सदस्य विष्णुकुमार गिरी, लेखा समिति संयोजक रामसिंह साउद, लेखा समिति सदस्य लोकेन्द्र बडु थापा, लेखा समिति सदस्य कमल श्रेष्ठ, व्यवस्थापक सूर्य श्रेष्ठ छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

सामाखुसी प्रधान कार्यालय रहेको यो सहकारीको चाबहिल तथा न्युरोड शाखा थियो । १२ करोड २ लाख ३४० रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ ।

उनीहरूविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा मुद्दा चलाइएको छ । जसमा ठगीको बिगो भराउनु पर्नेदेखि जरिवाना र १० करोड रुपैयाँभन्दा बढी १ अर्ब रुपैयाँसम्म ठगी भएमा ६ वर्षदेखि ८ वर्षसम्म रुपैयाँ कैद हुने व्यवस्था छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

यो सहकारीमा १ हजार २ सय १६ जना बचतकर्ता छन् । २०८१ को असार मसान्तसम्म बचतकर्ताको सावाँ र ब्याज गरेर ३१ करोड रकम संकलन भएको खुलेको छ । आर्थिक वर्ष २०८०/८१ सम्म्मा यसको सेयर पूँजी १ करोड ५६ लाख १७ हजार ७ सय रुपैयाँ छ ।

८ करोडको नक्कली कर्जा फाइल

यो सहकारीले आठ करोड रुपैयाँभन्दा बढीको नक्कली कर्जा फाइल बनाएको समेत खुलेको छ ।

काठमाडौं महानगरपालिका र नगर कार्यपालिकाको कार्यालय सहकारी विभागले समेत यो सहकारीमाथि छानबिन गरेको थियो । यसको छानबिन प्रतिवेदन समेत सीआईबीलाई दिइएको छ । सो प्रतिवेदनबाट ८ करोड रुपैयाँभन्दा बढीको नक्कली कर्जा बनाएको खुलेको हो ।

‘नाफा देखाउने उद्देश्यले नक्कली कर्जा फाइल बनाएको पाइएको छ,’ सीआईबीका एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले भने । छानबिन समितिका प्रतिवेदनअनुसार आठ जनाको नाममा नक्कली कर्जा फाइल तयार पारिएको थियो ।

जसमा विज्ञान हुमागाईंको नाममा १ करोड ६८ लाख ६८ हजार ८१९, चन्द्रशेखर गिरीको नाममा ७२ लाख ३० हजार, डिल्लीप्रसाद उप्रेतीको नाममा १ करोड ७५ लाख ४९ हजार ८ सय, दिनेश स्वारको नाममा ७२ लाख ७६ हजार १३८ रुपैयाँ गएको दाबी गर्दै नक्कली कर्जा फाइल खडा गरिएको खुलेको छ ।

त्यसैगरी हेमराज श्रेष्ठको नाममा १५ लाख ७५ हजार, कबिराज गिरीको नाममा १ करोड १८ लाख ७५ हजार, नवराज सुवेदीको नाममा १ करोड ५२ लाख १८ हजार ८७५ र सुशीला कोइरालाको नाममा ७० लाख २१ हजार ३३८ रुपैयाँ गरी ८ करोड ४६ लाख १४ हजार ९७० रुपैयाँ कर्जा प्रवाह भएको भनेर नक्कली ऋणी देखाइएको खुलेको हो ।

सञ्चालक समितिमा आफन्त राखेर बचत रकम घोटाला

त्यसैगरी सञ्चालक समितिमा आफन्त भर्ती गरेर बचतकर्ताको रकम अपचलन गरेको खुलेको छ । अनुसन्धानको क्रममा सञ्चालक समितिमा राखिएका सहकारीका उपाध्यक्ष देवकी कार्की, सुष्मा श्रेष्ठ, विष्णुकुमार गिरी, लेखा समितिका रामसिंह साउद, कमल श्रेष्ठ, लोकेन्द्र बडु थापा समितिमा संख्या पुर्‍याउन आफन्त भर्ती गरेको खुलेको छ ।

आफन्त भर्ना गरेर सञ्चालक समितिमा संख्या पुर्‍याएर मनोमानी रुपमा बचतकर्ताको रकम अपचलन गरेको खुलेको छ । सहकारीको उपाध्यक्ष बनाइएकी देवकी संस्थाको चाबहिल शाखाका प्रमुख धु्रवराज कार्कीकी श्रीमती हुन् । सदस्य सुष्मा श्रेष्ठ र कमल श्रेष्ठ व्यवस्थापक सूर्य श्रेष्ठको दिदी र दाई रहेको खुलेको छ । त्यसैगरी विष्णुकुमार र लोकेन्द्र सचिव गोविन्दको दाई पर्ने व्यक्ति र साथी रहेको खुलेको छ ।

त्यसैगरी लेखा समिति संयोजक रामसिंह सत्कार बचतकर्ता हुन् । मिलेमतोमा सहकारीको रकम अपचन गर्ने उदेश्य राखी सञ्चालक समितिमा आफन्त भर्ती गरिएको अनुसन्धानबाट खुलेको छ ।

शून्य ब्याजदरमा संस्थाकी उपाध्यक्ष तथा ध्रुवराजकी श्रीमतीको नाममा २ लाख ५८ हजार कर्जा, सदस्य हरिकृष्णले आफ्नी श्रीमतीको बसन्ती श्रेष्ठको नाममा २१ लाख कर्जा लगेको खुलेको छ ।

कतिसम्म भने ऋणी बनाइएको आफ्नी श्रीमतीलाई समेत थाहैं नदिई आफैं औंठा छाप लगाएर समेत रकम निकाली अपचलन गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । अहिले हिरासतमा रहेका कोषाध्यक्ष महेश श्रेष्ठले श्रीमती सुजता श्रेष्ठको नाममा उसलाई जानकारी समेत नराई आफैंले औंठा छापा लगाएर ४० लाख रुपैयाँ कर्जा निकाली घोटाला गरेको खुलेको छ ।

त्यसैगरी अहिले हिरासतमा रहेका सहकारीका कोषाध्यक्ष गोविन्दले पनि आफ्नी दिदीको नाममा विनाधितो ६० लाख रुपैयाँ कर्जा लिएको खुलेको छ । योसँगै अन्य व्यक्तिले पनि विनाधितो कर्जा लिएको खुलेको छ । लेखा समिति संयोजक रामसिंह साउदको नाममा वनिाधितो १ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको भेटिएको छ ।

विनाधितो जीवनराज ओझाको नाममा २० लाख, किशोर कायस्थको नाममा ४० लाख, सूर्यबहादुर थापाको नाममा १० लाख, गोपालप्रसाद पौडेलको नाममा ४० लाख, सत्यनारायण लामिछानेको नाममा १० लाख रुपैयाँ कर्जा प्रवाह भएको अनुसन्धानका क्रममा भेटिएको छ ।

छुट्टै लेखा समितिले र ऋण समितिले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी समेत सञ्चालक समितिका अध्यक्ष सविन, उपाध्यक्ष देवकीको तर्फबाट उनका श्रीमान ध्रुवराज, सचिव गोविन्द, कोषाध्यक्ष महेश, सञ्चालक हरिकृष्ण र व्यवस्थापक सूर्यले गरी करम घोटाला गरेको खुलेको एसपी बोगटीले बताए ।
सञ्चालक समितिमा आफन्त भर्ती गर्ने र आफन्तका नाममा कर्जा निकालेर रकम अपचनल गरेको पाइएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

‘घर खरिदमा घोटाला भएपछि सहकारीमा समस्या’

सहकारीले आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं महानगरपालिका–३ रानीबारीमा ५०८.७४ वर्ग मिटर क्षेत्रफलको जग्गा र त्यसमा बनेको घर १२ करोड लगानीमा खरिद गरेको थियो । पछि उक्त घरजग्गा अध्यक्ष सविन उप्रेतीको एकाधिकार परिवारका सदस्यको जग्गा सट्टा गरिएको भन्दै घोटाला गरिएको खुलेको छ ।

९ माघ २०७७ मा सञ्चालक समितिले सहकारीलाई घर किन्ने निर्णय गरेको थियो । २४ माघमा राष्ट्रिय सहकारी बैंक गोंगबु शाखाबाट कर्जा लिन रामनारायण श्रेष्ठको जग्गा धितो राखी यो सहकारीले ९ करोड ऋण लिएको थियो । रानारायणले आफ्नो जग्गाको पूरा रकम प्राप्त नगरी सहकारीको नाममा जग्गा पास नगर्ने बताएपछि सविनले श्रीमती शान्ता कडरियाको नामको जग्गा रामनारायणलाई पास गराएर थिए ।

त्यसपछि सहकारी बैंकबाट लिएको ९ करोड ऋण सविनले नै लगेको थिए । यसबारे सहकारीका सचिव गोविन्दले बयानमा भनेका छन्, ‘राष्ट्रिय सहकारी बैंकबाट ९ करोड कर्जा लिई सामाखुसीको भवनमा निजी स्वार्थ राखी घरजग्गा खरिद गर्दा जग्गा धनी रामनारायण श्रेष्ठलाई घर खरिद गर्ने बाध्यकारी सर्त राखी अध्यक्षको श्रीमतीको नाममा रहेको बूढानीलकण्ठको ७ आना जग्गा सट्टापट्टा गरी यसमा मुनाफा समेत लिएपछि सहकारीमा समस्या आएको हो ।’

सहकारीका ऋणीहरू गोकुल महता, आनन्दकला राई, चन्द्रशेखर गिरी लगायत ऋणको जग्गा संस्थाको नाममा रोक्का राख्नुपर्नेमा व्यवस्थापक सूर्य श्रेष्ठको नाममा रजिष्ट्रेसन पास भएको खुलेको थियो ।

सहकारी संकट
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?